• राजेश मिश्र
विवाहका दुईवटा घटनामध्ये एक साम्य भइसकेको छ भने अर्को अझै साम्य भइसकेको छैन । यो प्रकरण अहिले चर्चाको विषय बनेको छ । भनाभनबाट शुरू भएको विवादजन्य तुवाँलोले अदृश्य सामाजिक मनोवृत्ति छर्लङ्ग भएको छ ।
विवाहमा अवरोध सिर्जना हुनुका कारणहरूमध्ये एकमा जन्तीलाई माछा नखुवाएको र अर्कोमा दुलहालाई सुनको सिक्री नदिएको कारण विवाद बढेको आरोप सार्वजनिक भएको छ । बेहुली पक्षले माछा नखुवाएको कारण खण्डित भएको भनिएको विवाह दुवै पक्षको सहमतिमा सुसम्पन्न भइसकेको समाचार आइसकेको छ । यो सकारात्मक पक्ष हो । ती नवदम्पतीका साथै दुवै पक्षका परिवारजनलाई मङ्गल कामना छ । यद्यपि बेतुकको विषयमा विवाद गरेर माङ्गलिक कार्यमा बाधा पु-याउने सामाजिक मानसिकता सधैंका लागि अन्त्य हुनैपर्छ ।
सामाजिक सञ्जालमा हरेक प्रकारका प्रयोगकर्ताहरू आबद्ध छन् । सामाजिक सञ्जालमा कुन, कस्तो र किन पोस्ट गर्ने र नगर्ने चेतनाको विकास हुनु जरुरी छ । कतिपय सामान्य प्रकारका घटना सार्वजनिक भएकै कारणले असामान्य बन्छ । विवादको अवस्थामा चेतनशक्ति कमजोर हुन जान्छ । अनि सकारात्मक प्रवृत्तिमाथि नकारात्मक प्रभाव हाबी हुन्छ । त्यस कारण निर्णय प्रभावित हुन्छ । विवादको क्रममा लिने निर्णय र शान्त मुद्रामा लिएको निर्णयमा धेरै फरक पर्छ ।
वादविवादको अवस्थामा गरेको निर्णय सामान्य अवस्थामा फर्केपछि उचित/अनुचितबारे बोध हुँदो रहेछ । कतिपय अवस्थामा बोध हुँदासम्म विवाद रबरझैं तन्केर ठूलो आकार लिइसकेको हुन्छ । वर्तमान वैवाहिक प्रकरणमा सामाजिक सञ्जालले गर्दा विवाद रबरझैं तन्काउने प्रयास जारी नै रहेको देखिन्छ । अहिले दुवै पक्षले आआफ्नो तर्क, वितर्क र कुतर्क सामाजिक सञ्जालमार्फत प्रकट गरिरहेका छन् ।
यसले मेलमिलापको अवस्था नियन्त्रणबाहिर गई ‘इगो’को रूप धारण गर्न सक्ने सम्भावना प्रबल छ । यद्यपि सञ्चारगृह सामाजिक सञ्जाल होइन । यो देशको चौथो अङ्ग हो । त्यस कारण सामाजिक सञ्जालको विषयवस्तु तबसम्म सञ्चारमाध्यमको खुराक हुन सक्दैन, जबसम्म त्यो सञ्चारमाध्यमको मानक अनुसार सन्तुलित हुँदैन ।
अहिले कुनै विषय सामाजिक सञ्जालमा देखा पर्ने बित्तिकै खासगरी अनलाइन सञ्चारमाध्यमहरूमा तुरुन्तै पोस्ट गर्ने होड चलेको छ । होडबाजीको क्रम यतिविघ्न दु्रत छ कि समाचारले पार्न सक्ने कुअसरमाथि ध्यान नपु-याउने आचरण छताछुल्ल छ । सञ्चारमाध्यम भनेको हतारको कार्य होइन, बरु ‘देर से आए दुरुस्त आए’झैं हुनुपर्छ । कुनै पनि प्रकरणमा समाचारले पार्न सक्ने दुष्परिणामबारे बोध हुनु नितान्त जरुरी छ । विवाह माटोको खेल होइन, जीवनको मेल हो । भनिन्छ, विवाह गराउनु धर्म हो भने कुनै पनि प्रकारले अवरोध सिर्जना गर्नु पाप हो । विवाद भएपनि वैवाहिक प्रसङ्गमा सकेसम्म मिलाउने प्रयास गर्नु नै सर्वोत्तम विकल्प हो ।
विवाहमा अनेक प्रकारका मानसिक तनाव हुन्छन् । त्यसमाथि पनि खासगरी मधेसी समुदायमा बेहुलीपक्षमाथि आर्थिक भारको चाङ हुन्छ । परिवारजनले छोरीको सुन्दर भविष्यको लागि आफूभन्दा सुसम्पन्न परिवारमा विवाह होस् भन्ने कल्पना गर्छन् । सोही अनुसार भ्याएसम्म प्रयत्न गर्छन् । विवाह तय भइसकेपछि विवाह नहुँदासम्म विघ्न–बाधा नआउने होइन । त्यस कारण सबै थोक पूरा गरेर पनि कर्तव्य परिणाम शून्य हुनु अति नै दुःखद कुरा हो ।
विवाहमा खासगरी बेहुला र बेहुली पक्षका अभिभावकहरूबीच एकअर्काप्रति सद्भाव अङ्कुरित हुनु जरुरी छ । विवाहपछि एकअर्को परिवारबीच जसरी अपनत्व बढ्छ, त्यसैगरी विवाहको छिनोफानो भएदेखि नै स्थापित हुनुपर्छ । विवादरहित वैवाहिक कार्यक्रम सम्पन्न गर्ने दायित्व दुवै पक्षको हो ।
विवाहको सेरोफेरोमा पूर्वघटित एक प्रसङ्ग यहाँ प्रस्तुत गर्नु सान्दर्भिक छ । त्यसताका मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल थिएनन् । यो प्रसङ्ग झन्डै तीन दशक पुरानो हो । पर्सा जिल्लाको एक गाउँबाट नजीकैको अर्को गाउँमा बरात (जन्ती) गएको थियो । हिन्दू विवाहमा हुने अनेक संस्कारमध्ये ‘कन्या निरीक्षण’ पनि एक हो ।
बेहुली पक्षका चार/पाँच जना मानिस जनमासामा आए । उनीहरूले बाँसको दौरामा फूल, अक्षत, मरदानी र केही पैसा बेहुला पक्षलाई हस्तान्तरण गर्दै कन्या निरीक्षणको लागि आमन्त्रित गरे ।
दुलहाका बुबाले बाँकी रकम चुक्ता गर्न भने । बेहुली पक्षले विवाहमा धेरै खर्च भएको दुःखेसो पोख्दै बाँकी रकम माफी गर्न आग्रह गर्न थाले । दुवै पक्षबीच भइरहेको सामान्य कुराकानी बिस्तारै चर्को हुँदै गयो । अन्ततः विवादमा परिणत भयो । दुलहाका बुबाले बाँकी रकम नतिरेसम्म कन्या निरीक्षणमा नजाने अडान लिए । बेहुला पक्षका केही मानिसहरूले दुलहाका बुबालाई जिद्दी नगर्न आग्रह गरिरहेका थिए । जति सम्झाए पनि उनी मान्ने पक्षमा थिएनन् । बरु उनले ‘गलामा घाटा’ लाग्ने शब्द प्रयोग गर्न भ्याएछन् । दुलहाको बुबा अन्नपात खरीद–बिक्रीको व्यापार गर्थे । व्यापारिक स्वभाव अनुसार उनले व्यवहार पनि देखाए । पछि बेहुला पक्षबाट जन्तीमा आएका केही व्यक्तित्वहरूले दुलहाका बुबालाई सम्झाउने प्रयत्न गरे । त्यतिन्जेल सामान्य विवाद अहङ्कारमा परिणत भइसकेको थियो । आफन्तजनहरूले दुलहाका बुबालाई जोडबलले कुरा सम्झाएपछि उनी शान्त भए ।
दुलहाका बुबा तथा नगन्य आफन्तहरू मात्र विघ्नका कारक थिए । अन्ततः विवाह सम्पन्न भयो । विवाहको केही समयपछि सबै कुरा सामान्य भयो । पछि दुवै पक्ष एकाकार भए । त्यो दम्पतीका छोरीछोरी अहिले विवाहयोग्य भइसकेका छन् । यो उदाहरण प्रस्तुत गर्नुको कारण के हो भने आज जस्तो सामाजिक सञ्जालको युग भएको भए दुवै पक्षको वादविवाद कुनै न कुनै व्यक्तिले पोस्ट गरिदिएको हुन्थ्यो । अन्ततः सामान्य विवादले अहङ्कारको रूप धारण गर्न सक्थ्यो र विवाह खण्डित हुन सक्थ्यो ।
अगुवा (मध्यस्थकर्ता)हरूको भूमिकाविना वैवाहिक छिनोफानो गर्नु सम्भव हुँदैन । अगुवाहरूकै मेसोमा वैवाहिक कुराकानी अघि बढ्छ । विवाहमा मुख्य भूमिका अगुवाको भए तापनि विवाहपछि दुवै पक्षबाट गाली खाने अगुवाहरू नै हुन् । अगुवालाई पहिलेदेखि नै थाहा हुन्छ कि विवाहपश्चात् दुवै पक्ष एक हुन्छन् र कुनै न कुनै प्रसङ्गमा आफूले गाली खानैपर्छ । यति मात्रै कहाँ हो र छोरीलाई दुःख कष्ट भयो भने अगुवाहरू जीवनभरि गाली सुन्छन् ।
वर्तमान वैवाहिक प्रकरणमा विवाद बढेको मूल कारणतर्फ विचार गर्ने हो भने बेहुला पक्षले कन्या निरीक्षणमा पेश गरेको गहनाको सङ्ख्या नै हुनुपर्छ । विवाहमा जे जति खर्च गरे पनि बेहुली पक्षका महिलाहरूको ध्यान बेहुला पक्षले ल्याएको गहनामाथि हुन्छ । महिलाहरूले त्यसैको आधारमा बेहुलाको घरमा बेहुलीको महत्व ठम्याउँछन् । बेहुला पक्षले ल्याएको गहनाको सङ्ख्याले महिलाहरूको मुहारमा सन्तुष्टि/असन्तुष्टि प्रकट हुन्छ । यो तीतो सत्य हो । हुन सक्छ गहनाको न्यून सङ्ख्या हेरेर महिलाहरूको तर्फबाट विरोधको स्वर गुञ्जेको होला । त्यसपछि बेहुला र बेहुली पक्षका पुरुषहरूबीच तर्क–वितर्क शुरू भएको हुन सक्छ । सामान्यझैं लाग्ने त्यो तर्क–वितर्क समझदारीको अभावमा उग्र हुँदै गएको हुन सक्छ ।
बेहुली पक्षबाट दाइजो दिएको अनुपातमा गहना नल्याएको आपत्ति जाहेर भएको होला । अनि बेहुला पक्षले आरोपबाट बच्ने अस्त्रको रूपमा सुन सिक्रीको प्रसङ्ग अघि सारेको होला, जुन बेहुली पक्षले शुरूमैं अस्वीकार गरेको तथ्य यस प्रकरणमा प्रत्यक्ष सहभागीहरूको कथनबाट अवगत हुन्छ । सामान्य खालको यो प्रकरण उग्र विवादमा परिणत हुनुका कारणहरूमध्ये विवादमा अग्रसर पात्रहरूले मादक पदार्थ सेवन गरेका हुन सक्छन् । किनभने कन्या निरीक्षणको समयमा गहनासम्बन्धी सामान्य विवाद अपवादबाहेक प्रायःजसो विवाहमा हेर्न र सुन्न पाइन्छ । मापसेको अवस्था कुनै पनि पक्षबाट जिकिर गरिएको पाइँदैन । किनभने मापसे गरेको अवस्थामा सामान्य वादविवाद पनि ठूलो स्वरूप धारण गर्ने सम्भावना प्रबल हुन्छ ।
यस प्रकरणको वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने एकले अर्काको चरित्र हत्या गर्न उद्यत रहेको देखिन्छ । खासगरी दुवै पक्षका आफन्त तथा मित्रजनहरू आक्रामक टिप्पणीसहित सामाजिक सञ्जालमा भिडियो र फोटो पोस्ट गर्ने होड बढेको देखिन्छ । सामाजिक सञ्जालको प्रतिक्रियाले कुनै पनि पक्षलाई उत्तेजित हुने अवस्था कदापि ठीक होइन । सर्वोत्तम उपाय भनेकै दुवै पक्षबीच नकारात्मक विचारलाई स्वाहा गर्दै मेलमिलाप गर्नु र दुई परिवार एकाकार हुनु हो ।