• डा शिवशङ्कर यादव

मनोविश्लेषणले के बुझाउँछ भने मनोवैज्ञानिक सिद्धान्तमा दिमाग र व्यक्तित्वको विकास प्रमुखतः मनभित्र हुने सङ्घर्षले हुन्छ । अवचेतन मनको विधिको जाँचबुझ साधारण समझबाहिर हुन्छ । चिकित्सकीय तकनिक जसबाट मनोवैज्ञानिक डिजार्डरको उपचार हुन्छ, त्यो मनोवैज्ञानिक साधनले मात्र हुन्छ ।

मनोविश्लेषणको ऐतिहासिक आकलन : यद्यपि प्रथम मनोविश्लेषणको श्रेय फ्रायडलाई जान्छ तर उनी धेरै पूर्ववर्ती वैज्ञानिकको गहिरो अध्ययनपश्चात् मात्र उनले ज्ञान प्राप्त गरेका थिए, जसमा मुख्य नाम हो जिन मार्टिन चारकोट जसले सम्मोहन, थियोडोर मेनर्ट जसले स्नायु संरचना र मानसिक विकृतिको सम्बन्ध, अर्नेस्ट ब्रुकी जसले शारीरिक क्रियाको केमेस्ट्री, हिप्पोलाइट बर्नहेम जसले हिप्नोसिस, जोसेफ बरुआ जसले हिस्टेरियाबारे व्यापक अनुसन्धान गरेर बाटो बनाइसकेका थिए । तिनै बाटोलाई समातेर सिग्मन्ड फ्रायडले मनोविश्लेषणको जुन मन्जिलमा पुगेका थिए, त्यसले संसारमा नै तहलका मचाएको थियो ।

भनिन्छ कि ईसा मसिहपछि समय दुई भागमा बाँडियोः एक ईसापूर्व र अर्को ईसापछि, डार्बिनपछि विकास दुई भागमा विभक्त भयोः एक डार्बिनअघि र अर्को डार्बिनपछि, माक्र्सपछि राजनीति दुई भाग भयोः एक माक्र्सअघि र अर्को माक्र्सपछि । त्यस्तै, सिग्मन्ड फ्रायडपछि चिकित्साजगत् पनि दुई भागमा विभक्त भयोः एक फ्रायडअघि र अर्को फ्रायडपछि । यहाँ रोचक कुरा के छ भने यी चारैजना यहुदी थिए । अतः यहुदी सर्वथा एक नौलो संसारका निर्माणकर्ता हो । आइन्स्टाइन पनि यहुदी नै थिए । खैर यो त विषयान्तर हुन थाल्यो । आउनुस् अब मुख्य विषयतिर ।

यद्यपि आज धेरै परिवर्तन भइसकेको छ, तथापि फ्रायडले मनोविश्लेषणको जुन सिद्धान्त दिएर गए, त्यो अहिले पनि आधारभूतरूपमा कायम छ । तर पनि उनका यी सिद्धान्त उनको अन्तिम समयमा नै प्रकाशमा आए । उनको जीवनकाल सन् १८५६ देखि १९३९ सम्म हो । अब आउनुस्, केही विवरण बुँदागतरूपमा वर्णन गरौं ।

बेसिक कन्सेप्ट वा आधारभूत अवधारणाः अक्सर कुनै कुरालाई विभिन्न भागमा बाँडिन्छ । जुन भागमा जुन संरचना हुन्छ, त्यसलाई त्यस भागमा सूचीकृत गरिन्छ । मूलाको बीचमा सडेको छ, जुन देखिंदैन । एउटा छुराले मूलालाई स्लाइसमा काट्दै जानुस् । काट्दै काट्दै त्यस भागसम्म पुगेपछि त्यो देखिन्छ । यसै प्रक्रियालाई टोपोग्राफिक एप्रोच भनिन्छ । यस्तै सिटी स्क्यानमा ब्रेनको बीच भागमा अवस्थित जमेको रगतको थक्का वा अन्य रोग भएको छ भने पत्ता लगाइन्छ, जसमा ब्रेनको छायाको स्लाइस बनाइन्छ ।

यस्तै टोपोग्राफिक मन तीन प्रकारको हुन्छः अवचेतन, पूर्वचेतन र चेतन । यस सिद्धान्तको प्रतिपादन सन् १९०० मा स्वप्नको व्याख्याको क्रममा गरियो । यद्यपि यसपछि संरचनात्मक सिद्धान्तबाट विस्थापित भयो । तथापि त्यो अहिले पनि मानसिक क्रिया बुझ्नमा उपयोगी छ । अतः अवचेतन, पूर्वचेतन र चेतनको व्याख्या यसरी गरिन्छ । अवचेतन : मानसिक क्रियाका धेरै भाग अवचेतन मनले नै तयार गर्छ, जो चेतन मनमा आएर प्रकट हुन्छ । अर्थात् जति काम हामीले गर्छौं, त्यसमा धेरैजसो अवचेतन मनको प्रक्षेपण हुन्छ । तथापि हामीले त्यसको भेउ पाउँदैनौं । जुन विचार दमित हुन्छ, त्यो अवचेतन मनमा बस्दै जम्मा हुँदै जान्छ । यही विचार पछि पूर्वचेतन हुँदै चेतन मनमा आउँछ अर्थात् पूर्वचेतन दुवैको बीचमा अवस्थित हुन्छ । यसरी दमन खुकुलो भएर स्वप्न वा ‘स्लिप अफ टङ’को रूपमा प्रकट हुन्छ । तपाईंले कुनै केटीसँग प्रेम गर्नुहुन्छ तर समाजको डरले भन्न सक्नुहुन्न । तपाईंको त्यो इच्छा दमित भयो र तपाईंको अवचेतनमा गएर बस्यो ।

राति सपनाको बेला समाजको कुनै डर हुँदैन । अतः अवचेतनले त्यसलाई भाया पूर्वचेतन हुँदै चेतनमा पठाएर एक स्वप्नको रचना गर्छ र तपाईं त्यही केटी वा केटासँग मायाप्रीतिका कुरा गर्दै हुनुहुन्छ । यसरी तपाईंको दमित इच्छाको पूर्ति भयो । तपाईंले थाहै नपाई कसैलाई गाली गर्नुभयो तर पछि पछुतो गरेर क्षमा पनि माग्नुभयो । वास्तवमा त्यो स्लिप अफ टङ तपाईंको अवचेतनको सही प्रक्षेपण थियो । तपाईंले धेरै समयदेखि त्यस व्यक्तिलाई गाली गर्न चाहनुभएको होला, जो आज स्लिप अफ टड्ढो रूपमा प्रकट भइछाड्यो । सोचको दुईवटा विधि हुन्छ : प्राइमरी र सेकेन्डरी ।

प्राइमरी विधि अवचेतनमा हुन्छ र सेकेन्डरी चेतनमा । प्राइमरीको उदाहरण हुन् सानो बच्चा, साइकोसिस र मेन्टल रिटार्डेशनका रोगी तथा स्वप्न । यी सबैमा कुनै अवरोध हुँदैन । बच्चाले फ्याट साँचो कुरा भन्छ । साइकोसिस र मेन्टल रिटार्डेशनका रोगीले पनि समाजको कुनै डर मान्दैन । सेकेन्डरी हाम्रो वास्तविकता र चेतन मनको सोच हो । हामीलाई कसैलाई गाली गर्न मन लाग्छ तर शिष्टाचारको डरले गर्न सक्दैनौं । एक बच्चा तर कसैलाई फ्याट कसैलाई पनि गाली गर्न अलिकति पनि हिचकिचाउँदैन । मेरो नातिले दिनमा चारचोटिभन्दा बढी मलाई कुत्ताकमिना भन्छ किनभने उसलाई शिष्टाचार के हो भने थाहै छैन ।

त्यस्तै, पागलमा पनि हुन्छ । उसको रोक्ने शक्ति समाप्त हुन्छ । स्वप्नको त कुरै छाडौं किनभने त्यसलाई त पूरै अवचेतनले नियन्त्रण गर्छ र सामुन्ने कोही पनि हुँदैन । अतः प्राइमरी विधिमा अवचेतनले आफ्नो ऊर्जालाई बेधडक र विनाहिचकिचाहट डिस्चार्ज गर्छ तर सेकेन्डरीमा त्यस्तो हुँदैन । अर्को शब्दमा भन्न सकिन्छ कि प्राइमरी थिंकिङ प्रोसेस अवचेतन र सेकेन्डरी थिंकिङ प्रोसेस सामान्य हो । अवचेतनलाई वास्तविकतासित कुनै मतलब हँुदैन, न त त्यहाँ तर्कले केही अर्थ राख्छ । त्यसले सुखानुभूतिमा काम गर्छ अर्थात् आफूलाई मात्र सुख होस्, अरूलाई होस् वा नहोस् ।

प्रिकन्सस वा पूर्वचेतनः यो अवचेतन र चेतनको बीचमा अवस्थित हुन्छ, जो दुवैलाई जोड्ने पुलको काम गर्छ । अवचेतनको विचारलाई यसले चेतनमा अग्रसर गर्छ, जहाँ कुराको प्रकटीकरण हुन्छ । पूर्वचेतन नवजातमा हुँदैन तर बालपनमा बन्न शुरू हुन्छ, जसको समानान्तर सेन्सर वा गतिरोधको पनि विकास हुँदै जान्छ । फलस्वरूप चेतनको इच्छा फर्केर फेरि पूर्वचेतन हुँदै अवचेतनमा जान्छ, जुन बेलाबेलामा चेतनमा डिस्चार्ज भइरहन्छ ।

कन्सस वा चेतनः चेतन मनको स्थान धेरै कम हुन्छ । फ्रायडले भनेका छन्, यो मात्र स्नायुसँग सम्बन्धित हुन्छ, जसले भित्री र बाहिरी स्टिमुलसको जवाफ दिन्छ । यसमा वास्तविकताको जमीनमा सोच्ने विधि वा सेकेन्डरी थिंकिङ प्रोसेस हुन्छ । यस टोपोग्राफिकको अतिरिक्त फ्रायडले मनको निर्णय गर्ने शक्तिको बारेमा पनि भनेका छन् । उनले के भनेका छन् भने कुनै पनि मानसिक क्रिया विनाअर्थ र विनाउद्देश्य हुँदैन, जबकि अवचेतन र पहिलेका घटना वा जीवनसँग सम्बन्धित हुन्छ ।

स्ट्रक्चरल थ्योरी अफ माइन्ड वा मनको संरचनात्मक सिद्धान्त : सन् १९२३ मा फ्रायडले मनका तीन शक्तिशाली औजार भएको बताए : इगो, इड र सुपरइगो । इगो मनको मौलिक र सुरुआती अवस्थाको औजार हो, जसलाई साथ लिएर बच्चाले जन्म लिन्छ । यो सम्पूर्णरूपले अवचेतन हुन्छ र आधारभूत उत्तेजना र इन्सटिक्ट राखेको हुन्छ, जो जीवन, सेक्स र आक्रामकतासँग सम्बन्धित हुन्छ । यसको चरित्र प्राइमरी प्रोसेस थिंकिङ हो, जो सुखानुभूतिको सिद्धान्तमा काम गर्छ तथा वास्तविकतासित यसको कुनै लेनादेना हुँदैन ।

यसको एकमात्र उद्देश्य सुखानुभूति प्राप्त गर्नु हो । इगो वास्तविकताको महसूसीकरणले निर्देशित हुन्छ र वास्तविकताको सिद्धान्तमा हिंड्छ । यसको प्रमुख भाग चेतन हो तर सुरक्षात्मक तकनिक अवचेतनमा हुन्छ । इगोले एकातर्फ इड र सुपरइगो बीच सन्तुलन बनाइराख्छ भने अर्कोतर्फ वास्तविकतालाई पनि विचार गर्छ । उदाहरणको रूपमा तपाईंले कुनै केटीलाई भोग गर्न चाहनुहुन्छ तर सामाजिक बन्धन बाधा बनेको छ । इडले भन्छ जे भएपनि त्यस केटीलाई प्राप्त गरी तुरुन्त सन्तुष्ट होऊ । तर सुपरइगोले सचेत गर्छ, यो पाप हो, समाजले यसो गर्न दिंदैन । रोक आफूलाई । यही बीचमा इगो हस्तक्षेप गर्न आइपुग्छ र दुवैमा सन्तुलन कसरी गर्छ भने इडले सोचेको पनि गलत र सुपरइगोले रोकेको पनि गलत । उसले इडलाई भन्छ कि पर्ख र कुनै उपाय निकालेर सामाजिक बन्धनलाई पार गर । तिमी केटीको मातापिताकहाँ जाउ र वैवाहिक सहमति माग ।

यसरी इडले गर्दा इडको सन्तुष्टि ढिलो गरी भएपनि सुखानुभूतिको उद्देश्य त पूरा भयो नै । यसरी इड र सुपरइगोबीच सन्तुलन कायम भयो । यसरी इगो मानसिक औजारको सुरक्षात्मक कवच हो, जसको बास चेतन र बुद्धिमत्तामा हुन्छ । सुपरइगो प्रमुखतः मानसिक औजारको चेतन मनको उपप्रकार हो, जुन इगोबाट नै विकसित हुन्छ । यो चारित्रिक मापदण्डसँग सम्बन्धित हुन्छ । यसको दुई भाग हुन्छ : दण्डात्मक र अदण्डात्मक कन्साइन्स । यी दुवै मातापिताबाट प्राप्त हुन्छ र परिवारका अन्य सदस्यबाट पनि । यसमा धर्म र समाजका प्रमुखहरूको पनि भाग हुन्छ । यो आलोचना, अवरोध, अपराध भावना र दण्डको अहसासमा चेतनाको रूप लिन्छ । पछि अदण्डात्मक विधिले उद्देश्यपूर्तिमा लाग्छ ।

मेकानिज्म अफ इगो डिफेन्स वा इगोको रक्षात्मक प्रक्रिया : धेरै स्वचालित, अनिच्छुक र नजानिएका विचार मनोवैज्ञानिक कार्यमा प्रक्षेपित हुन्छ । ती सबैमा जुन स्वीकारयोग्य संवेग वा विचार हुँदैन, त्यसलाई सचेतनाले छटनी गरिदिन्छ । यसैलाई डिफेन्स मेकानिज्म वा सुरक्षात्मक प्रक्रिया भनिन्छ । यो काम इगोले गर्छ । तपाईंको मनमा मलाई गाली गर्न मन लागिरहेको छ । यो मलाई वा समाजलाई स्वीकार हुन सक्दैन किनभने यसले तपाईंमाथि नै खराब प्रतिक्रिया आइलाग्छ । त्यसबाट बचाउनको लागि इगोले तपाईंको गाली गर्ने विचारलाई छटनी गर्न लगाउँछ । तब सचेतनाले त्यस संवेगलाई बिल्कुल नै रोकिदिन्छ अथवा उसको रूप परिवर्तन गरिदिन्छ ।

गालीको विचार हुँदाहुँदै पनि उसले मान्छेलाई हात मिलाउन आग्रह गर्न पुग्छ अथवा चुप लागेर सहनशील बन्छ । मानिलिनुस् उसले गाली गरि नै दियो । तब गाली सुन्ने मान्छेको इगो अगाडि आउँछ र उसलाई सहनु र चुप लाग्नु भन्छ नत्र विवाद बढ्छ । सामान्य मानिसको यही निशानी हो । प्रतिक्रिया अस्वस्थ इगोले गर्छ । हामीले जुन अहङ्कारको कुरा गर्छौं, त्यस अर्थमा इगो होइन । इगो हरहालतमा तपाईंको हिफाजतकर्ता हो । यो डिफेन्स अक्सर अचेतनस्तरमा हुन्छ । तर सप्रेसन यसमा आउँदैन किनभने त्यो ऐच्छिक रक्षात्मक कार्य हो । यसको विपरीत सहनशीलतालाई व्यक्तिले दैनन्दिनको बाहिरी र चेतन डर तथा सङ्घर्षमा प्रयोग गर्छ ।

तर यस सुरक्षा तकनिकको कुनै खास स्तर हुँदैन । न त यो साइकोटिक, न्यूरोटिक, अबनर्मल वा नर्मल नै हुन्छ । प्रत्येकले प्रत्येकलाई अवसर अनुसार प्रयोग गरेको हुन्छ र अति प्रयोगले मान्छेलाई साइकोटिक वा न्यूरोटिक बनाउन सक्छ । दमन गर्नु, पछि हट्नु, अस्वीकार गर्नु, पत्ता लगाउनु, झूठो बताउनु आदि सबै इगोका रक्षात्मक तकनिक हुन् ।

थ्योरी अफ साइकोसेक्सुअल डेभलपमेन्ट (यौन मनोविज्ञान विकासको सिद्धान्त) : सन् १९०५ मा फ्रायडले तीनवटा लेख लेखेर मान्छेमा जन्मदेखि नै कसरी सेक्सको विकास हुन्छ ? भन्ने बताएका थिए । उनले यौन विकासलाई केही चरणमा बाँडेर वर्णन गरे यथा औंला र मुखको चरण जो जन्मदेखि साढे एक वर्षसम्म हुन्छ । बच्चाले आमाको दूध चुस्छ र कहिलेकाहीं दाँतले टोकि पनि दिन्छ । यी दुवैमा पनि बच्चाले सेक्सको लुफ्त उठाउँछ । उनले चुस्नेलाई ओरल इरोटिक र टोक्नेलाई ओरल सैडिस्टिक फेज वा चरण भने ।

त्यस्तै, एनल फेज वा गुदाको चरण पनि हुन्छ, जो डेढ वर्षदेखि तीन वर्षसम्म हुन्छ । यसमा मुखको सेक्सुअल सन्तुष्टि गुदामा स्थानान्तरित हुन्छ । बच्चा जब दिसा गर्न बस्छ र दिसा पास हुन्छ अथवा जब उसले दिसालाई रोकिदिन्छ । यी दुवैमा बच्चाले सेक्सको लुफ्त उठाइरहेको हुन्छ । दिसा पास हुनेलाई फ्रायडले एनल इरोटिक र रोक्नेलाई एनल सैडिस्टिक फेज भने । तेस्रो हो इडिपल फेज जो तीनदेखि पाँच वर्षसम्म हुन्छ । यसमा सेक्सुअल सन्तुष्टि यौनाङ्गको वरिपरि सीमित हुन्छ । पुरुष बच्चाको आकर्षण आमाप्रति हुन्छ र बुबाप्रति विकर्षण हुन्छ । प्राचीन ग्रीसमा इडिपस नामको व्यक्तिले आफ्नो बुबाको हत्या गरेर आमासँग नै विवाह गरेको थियो । यसैले आमाप्रति यस आकर्षणको नाम फ्रायडले इडिपस कम्प्लेक्स राखे । यसको विपरीत केटी बच्चाको बुबाप्रति आकर्षणको नाम उनले इलेक्ट्रा कम्प्लेक्स राखे । यस चरणपछि पाँचदेखि १२ वर्ष सम्मको चरणको नाम हो, लेटेन्सी फेज जसमा इडिपस र इलेक्ट्रा कम्प्लेक्सको समाप्ति भएर रिलेटिभ सेक्सको चरण विकास हुन्छ ।

यसै समयमा सुपरइगोको पनि निर्माण हुन्छ । यसमा सेक्सको माग समाजद्वारा स्वीकृतरूपमा प्रवेश गर्छ । र त्यो व्यक्ति व्यक्तिको सम्बन्ध, खेलहरू र विद्यालयका गृहकार्यको रूपमा रूपान्तरित हुन्छ । अन्तिम चरण हो, जेनाइटल फेज वा यौनाङ्गको चरण जुन १२ वर्षदेखि जीवनभरि चल्छ । यसमा वयस्क सेक्सुअलिटीको विकास हुन्छ । मान्छे मातापिताबाट स्वतन्त्र हुन चाहन्छ र आफ्नो उमेर समूहमा रहन चाहन्छ । केटाकेटीसँग र केटीले केटासँग सम्बन्ध बनाउँछ । यसैमा मानिसको साँचो पहिचान विकसित हुन्छ । फ्रायडको यही सरलीकरण सार हो, जो वास्तवमा उनको कोरा सिद्धान्त मात्र हो । यो कुनै प्रयोगले सिद्ध भएको होइन । यसै कारण ओशोले फ्रायडलाई फटकार लगाउँछन् । उनको अनुसार फ्रायडले गलत गरे । ओशोका अनुसार सेक्सको स्थानमा उनले प्रेम शब्दको उपयोग गर्नुपथ्र्यो ।

थ्योरी अफ ड्रिम (स्वप्नको सिद्धान्त : स्वप्नको व्याख्या मनोविज्ञानको मुख्य भाग हो । स्वयम् फ्रायडले आफ्नो स्वप्नको विश्लेषण गरेर बताएका छन् । अवचेतनसम्म पुग्नको लागि स्वप्न एक राजमार्ग हो । उनले भने कि स्वप्न अवचेतन संवेगको चेतन प्रस्तुति हो । जब जागृत अवस्थामा मान्छे आफ्नो सन्तुष्टिसम्म पुग्नमा असमर्थ हुन्छ, तब मान्छेका यिनै अपूरा र असमर्थ इच्छाको पूर्ति अवचेतनले स्वप्न बनेर गरिदिन्छ ।

अवचेतनको दमित संवेग उल्लेखनीय चिन्ताको कारण बन्छ । अतः त्यस संवेगलाई उचित तरीकाले बदलेर निद्राको बेलासम्म सुरक्षित राखेर स्वप्नमा विभिन्न तरीकाले व्यक्त गर्छ, जो मानिसको समझमा आउँदैन । स्वप्नमा जब स्वप्नदोष हुन्छ, त्यो कसैलाई बुझ्न गा-हो हुँदैन । स्वप्नका अनेक अभिव्यक्ति बुझ्न गा-हो हुन्छ । स्वप्नको अभिव्यक्तिका अनेक तरीका हुन्छन् यथाः सिम्बल,रिप्लेसमेन्ट, कन्डन्सेसन, प्रायोफेक्सन र सेकेन्डरी इलोब्रेसन आदि । अवचेतन विचार प्राइमरी प्रोसेस थिंकिङ हो । सन्तुष्टिको लागि त्यसलाई सेकेन्डरी प्रोसेस थिंकिङमा बदलिनुपर्छ । सेकेन्डरी प्रोसेस थिंकिङ चेतनको काम हो र चेतनले नै सन्तुष्टि प्राप्त गर्छ । अतः अवचेतनको कुरा चेतनमा नबदली सन्तुष्टिको कुनै उपाय नै छैन ।

अवचेतनबाट चेतनमा आएको बदलिएको रूपलाई पढ्नुपर्छ यथाः हावामा उड्ने महत्वाकाङ्क्षाको सिम्बल हो, साँपले जस्तै जिब्रो लपलपाउनु सेक्स सल्बलाइरहेको सिम्बल हो । डिसप्लेसमेन्टको मतलब यो हो कि सन्तुष्ट त गराउने तर एउटाको ठाउँमा अर्कोको प्रयोग गरेर । उदाहरणको लागि तपाईं कुनै निश्चित नाम भएकी केटीसँग सन्तुष्टि चाहनुहुन्छ । तर स्वप्नमा उसको सट्टामा अर्कै केटी हुन सक्छिन् । मुख्य कुरा सन्तुष्टि दिनु हो । यहाँ केटी डिसप्लेस भइन् । स्वप्नको कुरामा प्यास, भोक र पिसाब लागेको छ भने सबैको असर हुन्छ । आजको मात्र होइन, सप्ताह, महीनौं र वर्षौंको अवचेतनका कुरा पनि स्वप्नको कारण बन्छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here