टोकियो, २९ फागुन/एएफपी
जापानी कम्पनीले बनाएको रकेटले सेटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमैं विस्फोट भएको छ ।

टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करीब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्केर विस्फोट भएको हो । विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धूवाँ निस्केको र केही सेकेन्डभित्रैै विस्फोट भई जमीनमा भीषण ज्वालासहित खसेको थियो ।

“पहिलो काइरोस रकेट प्रक्षेपण गरिएको थियो तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ”–स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ–“विस्तृत अनुसन्धान भइरहेको छ ।”

नजीकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलमा भेला भएका सयौं युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर)ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमीनमा खसेको थियो ।

एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने–“मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ, सफलता मिल्न सकेन, त्यसैले म निराश छु । के भयो अनुसन्धान भइरहेको बताइएको छ, पछि थाहा हुने नै छ ।”

यो असफलताले सम्भावित आकर्षक सेटेलाइट–प्रक्षेपण बजारमा प्रवेश गर्ने जापानको प्रयासलाई धक्का दिएको छ ।

स्पेस वनले सेटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो ।

प्राचीन ग्रीक भाषामा काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए ।

पार्टपुर्जाको अभाव र अन्य समस्याले गर्दा स्पेस वानले बुधवारको प्रयास अघि काइरोसको प्रक्षेपण पाँचपटक स्थगित गरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here