पर्सा, बारा र रौतहट जिल्लामा डिजेमाथि अङ्कुश लगाउन थालिएको छ । विगत एक दशक बढी समयदेखि यस क्षेत्रमा डिजेको प्रभाव बढ्दै गएको छ । चर्काे ध्वनिमा डिजे साउन्ड बजाएर वैवाहिकलगायतका कार्यक्रमहरू गर्ने अहिले फैशन भएपछि यसबाट आममानिसहरू प्रभावित भएको भन्दै तीन जिल्लामा यसविरुद्धको अभियान सञ्चालन गरिएको हो । भर्खरै यही महीनाको सुरुआतमा सरस्वती पूजाको मूर्ति सेलाउने बखत रौतहटको घिउरामा डिजेको विषयमा विवाद बढेर दुई समुदायबीच भिडन्त भएको थियो । सो विवादले महोत्तरी र पर्सामा झनै उग्ररूप धारण ग¥यो र कफ्र्यूसम्म लगाउनुप¥यो । सोही बखत जिल्ला प्रशासन कार्यालय, पर्साले चर्काे स्वरमा डिजे बजाउन, अश्लीलता प्रयोग हुनेगरी नृत्य र गीतमा रोक लगाएको थियो । त्यसपछि पर्साको अनुसरण गर्दै रौतहट र बाराका प्रहरी प्रशासनले पनि चर्काे ध्वनिमा डिजे बजाउन रोक लगायो । फागुन महीनाको अन्त्य चलिरहेको छ । आजदेखि मुस्लिम समुदायको रमजान पनि शुरू भएको छ भने हिन्दूहरूको वैवाहिक लगन आजैबाट सकिंदै छ । अब चैत महीनामा हिन्दूहरूको वैवाहिक कार्यक्रम हुँदैनन् भने मुस्लिम समुदायमा पनि रमजान अवधिभर वैवाहिक कार्यक्रम गरिन्न । दुवै समुदायका वैवाहिक कार्यक्रम सकिने बेलामा तीनै जिल्लाका प्रहरी प्रशासन डिजेविरुद्धको अभियानमा सक्रिय भएका छन् । यो सक्रियताले निरन्तरता पाओस् ।

तराईका जिल्लामा डिजे अहिले सामान्य भएको छ । वैवाहिक कार्यक्रम, उत्सवहरूमा चर्काे ध्वनिमा डिजे बजाएर नाचगान गर्ने कार्यलाई रोक्नै सकिएको छैन । सरकारले वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ र ध्वनि मापदण्ड २०६९ मा ध्वनिको मापदण्ड तोकेको छ । यससम्बन्धी नियम कानून बनेको साढे दुई दशक बितिसक्दा पनि लागू हुन सकेको छैन । नियम लागू हुन नसक्नुमा स्थानीय प्रशासन बढी दोषी छ । किनभने अहिलेसम्म ध्वनि मापन यन्त्रको जुगाड भएको छैन र यसविपरीत कार्य रोक्न सकेका छैनन् । स्थानीय तह गठन भएको पनि छ वर्ष बढी हुन लाग्यो तर पालिकाहरूले पनि डिजे रोक्ने, प्रतिबन्ध लगाउने निर्णयबाहेक यसको उचित प्रबन्ध, व्यवस्था भने गरिसकेका छैनन् । वातावरणीय संरक्षण नियमावलीले ध्वनि मापनको व्यवस्था गरेको छ । दिवा र रात्रिमा कतिसम्मको मापनमा कहाँ–कहाँ कति ध्वनि उत्पन्न हुनेगरी काम गर्न सकिन्छ । उद्योग, व्यापार, गाउँ, शहरका साथै पानी तान्ने पम्प, डिजेल जेनरेटर र मनोरञ्जनका साधनहरूले कतिसम्मको अधिकतम ध्वनि उत्पन्न गर्न सक्छन् भन्ने मापदण्ड तोकेको छ । तर यो मापन गर्ने अहिलेसम्म पर्सा, बारा र रौतहटमा मेशीन छैन ।

कसले कति चर्काे ध्वनिमा काम गरेको छ भन्ने कुराको मापन गर्न यन्त्र आवश्यक हुन्छ । कानूनीरूपमा कारबाईको दायरामा ल्याउनका लागि पनि मेशीन आवश्यक हुन्छ । यसको व्यवस्था नहुन्जेलसम्मका लागि चर्काे स्वर, अश्लीलता प्रदर्शन हुने गतिविधिमा नियन्त्रण गर्दा उचित हुन्छ । वीरगंज महानगरमा स्थानीय प्रशासनले केही महीना अघि समयसीमा तोकेर डिजे सञ्चालन गर्ने नियम बनाएको थियो । तर त्यसको इमानदारीपूर्वक अनुगमन भने भएन । अहिले पनि यसविरुद्धको अभियान सञ्चालन गरिएको छ तर यसले कतिन्जेलसम्म गतिशीलता पाउने हो भन्ने विषयमा भने आशङ्का छ । यस कारण निर्णय गर्ने, केही दिनका लागि काम गर्ने र त्यसपछि शिथिल हुने काम आगामी दिनमा हुनुभएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here