• राजेश मिश्र

हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व २५ गते शुक्रवारको दिन उल्लासपूूर्ण वातावरणमा मनाए । भगवान् शिव हिन्दूहरूका आराध्यदेव हुन् । काठमाडौं शहरको बागमती किनारमा अवस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेखनीय उपस्थिति रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । महाशिवरात्रि पर्वको एकदिन अगावैदेखि टाढाटाढाबाट आएका भक्तजनको काठमाडौंमा भीड लाग्छ ।

यस अवसरमा वीरगंजको चिनीमिलस्थित पशुपतिनाथ मन्दिर र अलखिया मन्दिरलगायत विभिन्न शिवालयहरूमा पनि भक्तजनको घुइँचो वर्णन गरेर साध्य छैन । यसैगरी, पर्सा जिल्लाको पोखरिया, महुवन, जीराभवानी र भाथाधाम आदि क्षेत्रका अनेकौं शिवालयहरूमा मेला लागेको थियो । यसले संस्कृतिप्रति आम जनताको सरोकार प्रस्टिन्छ । यद्यपि मानवजातिमा संस्कृतिको सकारात्मक प्रभाव प्रत्याभूत हुनुपर्छ ।

अब कुरा गरौं, फागु पर्वको । महाशिवरात्रिको समापनपछि मानिसहरूमा फागू पर्वको कौतूहल जागृत हुन्छ । दिन जतिजति नजीकिंदै जान्छ, मानिसको उत्कण्ठा त्यति नै धेरै बढ्दै जान्छ । रोजगारको सिलसिलमा बाहिर रहेका मानिसहरूको घर आगमन दुई हप्ता अगावैदेखि शुरू हुन्छ । रङ्गोत्सवको यो पर्व हिन्दू क्यालेन्डर अनुसार वर्षको अन्तिम पर्व हो । मधेस प्रदेशमा यस वर्ष फागु पर्व चैत १२ गते सोमवारको दिन मनाइँदै छ ।

फागु पर्व सनातन संस्कृतिको अद्भुत पर्व हो । यो पर्व रङ्गोत्सवको प्रतीक पनि हो । फागु पर्वको शुरूआत कसरी भयो ? फागु पर्वले समाजमा कस्तो सन्देश प्रवाहित गर्न खोजेको हो ? भक्त प्रह्लाद र हिरण्यकश्यप के का प्रतीक हुन् ? आज समाजमा प्रह्लाद प्रवृत्ति र हिरण्यकश्य प्रवृत्तिमध्ये कुन प्रवृत्ति बढी हावी छ ? प्रथमतः हिरण्यकश्यप र फागु पर्वको उत्पत्तिबारे जानौं ।

हिरण्यकश्यप सनातन संस्कृतिका पौराणिक खलपात्र हुन् । हिरण्यकश्यपको अर्थ सुवर्ण वस्त्रधारी हुन्छ । हिरण्यकश्यप र हिरण्याक्ष दुई दाजुभाइ थिए । हिरण्याक्षलाई भगवान् विष्णुको बराह अवतारले वध भएको थियो । त्यस कारण भगवान् विष्णुसँग बदला लिने उद्देश्यले हिरण्यकश्यपले भगवान् ब्रह्माको कठोर तपस्या गरे । उनको ब्रह्माजीलाई प्रसन्न गरी वरदान लिने उद्देश्य थियो । हिरण्यकश्यपको कठोर तपस्याबाट भगवान् ब्रह्मा प्रभावित भए र दर्शन दिए । ब्रह्माले वरदान माग्न आज्ञा दिए ।

श्रीमद्भागवत् पुराण अनुसार, हिरण्यकश्यप र हिरण्याक्ष विष्णुका द्वारपाल जय र विजयको पुनर्जन्म थियो । उनीहरू चार कुमारको श्रापको कारण भूलोकमा जन्मेका थिए । सत्ययुगमा, दितिको गर्भबाट (दक्ष प्रजापतिकी छोरी) र कश्यप ऋषिबाट हिरण्याक्ष र हिरण्यकश्यपको जन्म भएको थियो । अशुभ समयमा गर्भाधान भएका कारण उनीहरू असुर भएर जन्मे ।

हिरण्याक्ष राजा थिए । उनको पाप र क्रूरताको शृङ्खलाले सीमा नाघेपछि भगवान् विष्णुले बराह अवतार धारण गरी उनको वध गरे । जसको बदला लिन हिरण्याक्षका भाई हिरण्यकश्यपले ब्रह्मालाई प्रसन्न पारी वरदान लिनका लागि कठोर तपस्या गरे । कठोर तपस्याबाट प्रभावित भएर ब्रह्मा दर्शन दिए र वरदान माग्न अनुरोध गरे । त्यसैगरी, हिरण्यकश्यपले भगवान् महादेवसँग अमर हुने वरदान मागे, जुन आग्रहलाई महादेवले अस्वीकार गरे । अन्ततः हिरण्यकश्यपले एउटा जुक्ति लगाए र अर्को वरदान माग्दै भने–

न म भित्र मरूँ, न बाहिर ।
न भूमि, न आकाश, न जलमा मरूँ ।।
न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हातले मरूँ, न पशुद्वारा मरूँ ।।

हिरण्यकश्यपको यो आग्रहलाई भगवानले तथास्तुः भनेर अन्तध्र्यान भए । यस्तो वरदान पाएर हिरण्यकश्यप आफूलाई अजरअमर ठान्न थाल्यो । उसले आफूलाई भगवान् घोषणा गरिदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका शृङ्खला यतिबिघ्न बढ्न थाल्यो कि चारैतिर त्राहिमाम मच्चिन थाल्यो ।

हिरण्यकश्यपको अत्याचारबाट आजित देवताहरूले हिरण्यकश्यपमाथि आक्रमण गरे । उक्त आक्रमणमा नारदमुनिले हिरण्यकश्यपकी पत्नी कयाधुलाई बचाए । किनभने कयाधु गर्भवती थिइन् । नारदमुनिले दिएका ज्ञानले गर्भमा रहेका शिशुमा देवत्व प्रभाव प-यो । केही समयपश्चात् हिरण्यकश्यपको दरबारमा एउटा बालकको जन्म भयो । बालकको नाम प्रह्लाद राखियो । समयक्रमसँगै प्रह्लादको उमेर र चेतना बढ्दै गयो । बिस्तारै उनी आफ्ना पिताले आफूलाई भगवान् ठानेको भ्रम अस्वीकार गर्न थाले । उनी विष्णुका अनन्य भक्त बने । प्रह्लाद हुर्कदै र ठूलो हुँदै जाँदा विष्णुभक्तको रूपमा उनको पहिचान बन्दै गयो । यो कुरा उनका पिता हिरण्यकश्पलाई मन परिरहेको थिएन ।

भगवान् विष्णुले हिरण्यकश्यपलाई दिएको वरदान उल्लङ्घन नहुनेगरी उनकोे वध गर्न नरसिंहको रूपमा अवतार लिए । हिरण्यकश्यपलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो । तर, नरसिंह न मानव थिए, न जनावर । शिर सिंहको र शरीर मानवको थियो । उनी सन्ध्याकालमा प्रकट भए । न दिन थियो न रात । दैलोमा अर्थात् न घर भित्र, न बाहिर । आफ्नो काखमा च्यापे, अर्थात् न पृथ्वीमा न आकाशमा । सिंहावतारले नङले हिरण्यकश्यपको वध गरे, अर्थात् न हातले न हतियारले ।

हिरण्यकश्यपको वध भएपछि पनि नरसिंह अवतारको रिस शान्त भएको थिएन । त्यसैले सबै देवीदेवताले लक्ष्मीलाई अनुरोध गरे । तर, देवी लक्ष्मीले आफू अक्षम रहेको कुरा बताइन् । त्यसपछि ब्रह्माले प्रह्लादलाई नरसिंहको सामु प्रस्तुत गरे । भक्तको प्रार्थना सुनेर नरसिंह अन्ततः शान्त भए ।

होलिकालाई आगोले केही नहुने वरदान प्राप्त थियो । त्यस कारण भ्राता हिरण्यकश्यको आदेशानुसार होलिकाले प्रह्लादलाई लिएर आगोमा बसिन् । विष्णु भक्त प्रह्लादलाई जलाउने प्रयास गरिन् । तर, भगवान् विष्णुको प्रभावले प्रह्लादलाई केही भएन । अपितु होलिका स्वयं जलेर खरानी भइन् । सत्य बाँचेको र असत्य खरानी भएको खुशीयालीमा फागु पर्व अस्तित्वमा आएको हो ।

माथिको प्रकरणमा असुर हिरण्यकश्यपको अत्याचारको कथा छ । उसले वर्षौंसम्म राज ग-यो । देवताहरूबाट वरदान पाएको हिरण्यकश्यपले आफूलाई जगत्को स्वामी ठान्न थाल्यो । उसको अत्याचार असह्य भएपछि देउताहरू कुपित भए । अर्को कुरा के छ भने देउताहरूले राक्षसमाथि आक्रमण गर्दा राम्रो नराम्रो पक्षमाथि ध्यान दिन्थे । जस्तै हिरण्कश्यपकी गर्भवती पत्नीलाई नारदमुनिले बचाए ।

प्रह्लाद सत्यको र हिरण्यकश्यप असत्यका प्रतीक हुन् । समाजमा असङ्ख्य मानिस छन्, जसको करतूत हिरण्यकश्यपभन्दा बढी घातक छ । यद्यपि उनीहरू समाजमा आफूलाई प्रह्लाद प्रस्तुत गर्न रुचाउँछन् । कसैले स्वीकार नगरे पनि बलजफ्ती आफूलाई प्रह्लाद स्वीकार गराउन उद्यत हुन्छन् । असङ्ख्य हिरण्यकश्यपहरू विभिन्न आवरणमा विद्यमान छन् । बाहिरी आवरणमा आफूलाई प्रह्लादतुल्य प्रस्तुत गरी समाजलाई दिग्भ्रमित पार्ने खल पात्रहरूको कमी छैन । आज प्रह्लाद स्वरूपमाथि आक्रमण त भइरहेकै छ, सँगै एक हिरण्यकश्यप अर्को हिरण्यकश्यपमाथि हमला गरी आफ्नो प्रभुत्व जमाउन खोजिरहेको छ । उदाहरणको रूपमा सत्ताको खेललाई लिन सकिन्छ ।

जिउँदा हिरण्यकश्यपहरूको समाजमा आज पनि जगजगी छ । दायाँ–बायाँ र तल–माथि जता हेरे पनि हिरण्यकश्यपको छायासँग साक्षात्कार नहुने कुरै छैन । प्रह्लादहरू ओझेलमा पारिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here