बेइजिङ, २४ फागुन/एएफपी
चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाई (युद्ध)लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिड्ढो आह्वान दोहो-याएका छन् ।

“आजको २१औं शताब्दीमा यो मानवीय विपत्तिलाई रोक्न सकिंदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,” वाङले पत्रकारसँगको नियमित भेटमा भने ।

गत वर्षको अक्टोबरमा इजरायल र हमासबीच जारी युद्ध शुरू भएदेखि नै बेइजिङले तत्काल युद्धविरामको माग गर्दै आएको छ ।

चीनले ऐतिहासिकरूपमा प्यालेस्टिनी मुद्दाप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई–राज्य समाधानको समर्थन गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले द्वन्द्व समाधानका लागि ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’ आह्वान गरेका छन् ।

वाङले भने, “द्वन्द्व जारी राख्नुलाई कुनै पनि कारणले न्यायोचित ठहराउन सकिंदैन र मानिसहरूलाई निर्मम तरीकाले मार्नुलाई कुनै पनि बहानामा सही मान्न सकिंदैन ।”

उनले भने, “अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र शत्रुता अन्त्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ र मानवीय राहतलाई तत्काल नैतिक जिम्मेवारीको रूपमा सुनिश्चित गर्नुपर्छ ।”

बेइजिड्ढा उच्च कूटनीतिज्ञले प्यालेस्टिनी राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई चीनले समर्थन गर्ने बताएका छन् ।

“हामी प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घको औपचारिक सदस्य बन्न समर्थन गर्छौं,” वाङले भने, “गाजामा भएको विपत्तिले प्यालेस्टाइनी भूमि लामो समयदेखि कब्जा गरिएको तथ्यलाई अब नजरअन्दाज गर्न सकिंदैन भन्ने कुरा एकपटक फेरि विश्वलाई स्मरण भएको छ । प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र स्थापना गर्ने लामो समयदेखिको चाहनालाई अब पन्छाउन सकिंदैन र प्यालेस्टिनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई नसच्याइ पुस्तौंसम्म जारी राख्न सकिंदैन ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here