महिला साफ यू–१६ : नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, २४ फागुन/रासस
नेपाल राजधानीमा जारी साफ यू–१६ महिला च्याम्पियनशिप–२०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा भने नेपाल भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा छ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल ग-यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन कौरले दुई/दुई गोल गरेका थिए । यस्तै, अनीता डुङ्गडुङ्ग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज कौरले एक/एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रवार भुटान र बङ्गलादेशबीच खेल हुनेछ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्