लिमा, २३ फागुन/एएफपी
पेरुका शक्तिशाली प्रधानमन्त्री अल्बर्टाे ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलवार राजीनामा दिएका छन् ।
ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।”
ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकील हुन् । उनले राष्ट्रपति डिना बोलुआर्टेको चिफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए ।
ओटारोलाले एक २५ वर्षीया युवतीलाई क्यानडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँचजना सन्तान छन् ।
गत हप्ताको अन्त्यमा टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कुल १४ हजार अमेरिकी डलरका दुईवटा सम्झौता प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादाविपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।
सम्झौता गर्दा अनियमितता भएको हुन सक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका थिए, “प्रिय, तिमीलार्ई थाहा छ ‘यी प्रसङ्ग’ले दुःख दिएका छन् । तिनीहरू हाम्रालागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।”
पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेकी छन् ।
यसैबीच, ओटारोलाले पेरुको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गरेका छन् ।
“मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहो-याउँछु कि मैले कुनै पनि गैरकानूनी काम गरेको छैन,” उनले सोमवार यसअघि ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा लेखेका थिए ।
राष्ट्रपतिको कार्यालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै के गर्ने भन्ने निर्णय गर्नुअघि ओटारोलाको कुरा सुन्ने बताएको थियो ।
अभियोजकहरूले ओटारोलालाई सम्भावित स्वार्थको द्वन्द्व र ‘अवैध प्रायोजन’को लागि अनुसन्धान गर्ने बताएका छन् ।
सन् २०२२ मा तत्कालीन वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोले काङ्ग्रेसलाई भङ्ग गर्ने र अवैधरूपमा शासन गर्ने प्रयास गरेपछि ६१ वर्षीय बोलुआर्टे राष्ट्रपति भएका हुन् ।
प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन् । सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरुमा छजना राष्ट्रपति भइसकेका छन् ।
ह्युमन राइट्स वाचको एक अनुमान अनुसार सुरक्षा बलको कारबाईमा अहिलेसम्म करीब ५० जनाको मृत्यु भइसकेको छ । रासस