काठमाडौं, २३ फागुन/रासस
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए । “नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकूद परिषद्ले युवा तथा खेलकूद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिश गरेको थियो । खेलकूदको महŒवलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,” उनले भने ।

नेपाली पुरुष क्रिकेट टोली विश्वकपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । सदस्य–सचिव घिसिङले खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको बताए । उनले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्नसमेत आग्रह गरे ।

नेपालले घरेलु मैदानमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एशिया रिजनल क्वालिफायरको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जून १ तारिखदेखि सञ्चालन हुँदैछ । नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here