प्रस, वीरगंज, १८ फागुन/
जगरनाथपुर गाउँपालिकाको कारण करीब चार बिघा सरकारी जग्गा पुनः सरकारको स्वामित्वमा आएको छ । जगरनाथपुर गापाले साबिक गाविस बिजवनिया–२, कित्ता नं. ६२ को तीन बिघा १८ कठ्ठा जग्गा अस्पताल निर्माणको लागि मालपोत कार्यालय, पर्सामा पहल गरेको थियो । सार्वजनिक जग्गा अस्पताल निर्माणको लागि उपयोग गर्न पाउँ भनी मालपोत कार्यालय, पर्सामा निवेदन दिइएको थियो ।
सो निवेदन सम्बन्धमा मालपोत कार्यालय, पर्साले जग्गाको लगत हेर्दा साबिक गाविस बिजवानिया–२, कित्ता नं. ६२ को तीन बिघा १८ कठ्ठा जग्गा विश्रामपुर निवासी चन्द्रकली कुर्मीन र महेन्द्रप्रसाद गोढको नाममा रहेको देखिएको थियो ।
कम्प्युटर तथ्याङ्कमा मात्र यो सरकारी स्वामित्वको जग्गा व्यक्ति विशेषको नाममा देखिएको तर त्यसको लगत भने नभएको कारण मालपोतले सम्बन्धित जग्गाधनीहरूसँग जग्गाको स्वामित्वको लागि प्रमाण माग गरेको थियो ।
जग्गाधनी भनिएका बहुदरमाई नपाको विश्रामपुर निवासी चन्द्रकली कुर्मीन र महेन्द्रप्रसाद गोढले प्रमाण पेश गर्न सकेनन् । उनीहरूले जग्गा आप्mनो भएको पनि दाबी नगरेपछि मालपोत कार्यालय, पर्साले सो जग्गा पुनः सरकारको स्वामित्वमा ल्याएको हो ।
अहिले यो जग्गामा जगरनाथपुर गापाले अस्पताल निर्माण गर्ने पहल गरेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिले निर्णय गर्नुपर्ने हुन्छ ।