बलिराम शुक्ला, बिरूवागुठी १८ फागुन/
पर्साको ग्रामीण भेगमा विगत दुर्ई महीनादेखि बाघको आतङ्क अझै रोकिएको छैन । पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका र सखुवापरसौनी गाउँपालिकासँग जोडिएको राष्ट्रिय वन र केही वडाका मानव बस्ती तथा निजी वन तथा फूलबारीमा वनबाट आएको बाघ बस्ने गरेको र सोही बाघको आक्रमणबाट मानवीय क्षति हुनुको साथै पशु चौपायासमेत क्षति पुग्दा अहिले सो भेगका मानिस त्रसित छन् ।

पटेर्वासुगौली गापा–२ लक्ष्मीपुरमा बिहीवार साँझ रङ्गपुर बजार जान लागेका २३ वर्षीय सरोजप्रसाद अधिकारीलाई बाघले बगैंचामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनी घाइते भएपछि गाउँले तथा प्रहरी र वनकर्मीहरूले उद्धार गरी उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाएका थिए ।

त्यसैगरी पुस ८ गते पटेर्वासुगौली गापा–२ थरकटी गाउँँ निवासी ३२ वर्षीय मनोज महतो उराँव शौच गर्न गएको बेला बाघले आक्रमण गरी मृत्यु भएको थियो । उनको शवको केही भाग जङ्गलदेखि ५० मिटर पर भेटिएको थियो ।

पर्साका जङ्गल क्षेत्रमा बाघ र हात्तीको कारण मानवीय, चौपाया, घर, खेतमा क्षति हुने गरेको छ । जङ्गली जनावरको त्रास बढेपछि अहिले सो भेगका मानिसलाई आवागमनमा पनि समस्या भएको कुमार बस्नेतले बताए ।

पटेर्वासुगौली गापा चाफी, थरकटी, रङ्गपुर, सखुवापरसौनी गापा–१ को सखुनिया, सथवल, औराहा, खजुरिया पर्सागढी नपाको एकटाङ्गा, बडनिहार, पशुपतिनगर, गुलरियालगायत ठाउँमा पालिएको चार दर्जन पशुचौपायालाई बाघले आक्रमण गरेर मारेको छ ।

बाघको आतङ्ककबारे डिभिजन वन कार्यालय पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज आधाभारलाई पटक–पटक जानकारी गराएको पटेर्वासुगौली गापा–२ का अध्यक्ष विजय गैरेले बताए ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले बाघबारे जानकारी पाउनासाथ आपूmले सम्बन्धित निकायमा पत्राचार गरी बाघको उचित व्यवस्थापन तथा उद्धार टोली माग गरिएको बताए । बाघको उद्धारको लागि स्पेशल टोली चितवन राष्ट्रिय निकुञ्जमा रहेको उनले बताए । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले वनजङ्गलमा बाघ हुनु स्वाभाविक भएको तर मानवबस्तीमा क्षति पु-याउन थालेपछि आफूहरू गम्भीर भएको बताए । उनले जङ्गली जनावरबाट जोगिन प्राविधिक टोली राख्नुपर्ने सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here