प्रमोद यादव, पंचगावाँ, १८, फागुन/
बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका–२ लक्ष्मीपुर बस्ने एकजना घाइते भएका छन् ।

राष्ट्रिय वनजङ्गलबाट मानवबस्तीमा पसेको बाघको आक्रमणबाट २३ वर्षीय सरोजप्रसाद अधिकारी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताएका छन् ।

अधिकारीलाई घरनजीक बिहीवार अपराह्न ४ बजे बाघले आक्रमण गर्दा उनको टाउको, हात र शरीरका विभिन्न भागमा घाउ लागेको छ । उनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रनि केशरीले बताए ।

यसैगरी, बाघको आक्रमणमा परी पटेर्वासुगौली गापा–२ लक्ष्मीपुरमा तीनवटा बाख्राको मृत्यु भएको छ ।

जनता सडकको पटेर्वासुगौली–पर्सागढी खण्ड आसपासमा विगत एक महीनादेखि बाघले आतङ्क मचाएको शिक्षक महेन्द्र चौधरी थारूले बताए । एक महीनाअघि वडा नं २ चाफीका एकजना पुरुषको बाघले ज्यान लिएको पनि उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज र स्थानीय वन डिभिजनले जङ्गली जनावर धपाउन कुनै पहल नगरेको उनले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here