दिनेशकुमार मिश्र, वीरगंज, १३ फागुन/
पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्ति वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रममा पोखरिया नपाभरिका उत्कृष्ट १८ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । कक्षा १० र कक्षा १२ मा इन्जिनीयर समूहका चारजना, मेडिकल समूहमा दुईजना, विज्ञान समूहका दुईजना, खुला समूहका पाँचजना गरी १८ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति रकम अधिकतम २५ हजार र न्यूनतम १० हजारको दरले छात्रछात्राहरूलाई चेकमार्फत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रद्युम्न चौहानले शिक्षामा लगानी सबैभन्दा उत्तम लगानी भएको बताए । उनले छात्रवृत्तिबाट विद्यार्थीहरूको मनोबल उच्च हुने र लगनशीलता बढने बताए ।
उपप्रमुख रुबी ठाकुरले नपाले विद्यार्थीहरूका लागि छात्रवृत्ति रकम छुट्याएर सराहनीय कार्य गरेको बताइन् । उनले छात्रवृत्ति नपाउने विद्यार्थीहरूलाई अझ मिहिनेत गरेर अध्ययन गरी छात्रवृत्तिको मापदण्डमा पर्न आग्रह गरिन् ।
कार्यक्रममा पारस ठाकुर, पर्वत ठाकुर, बृजेश द्विवेदी, इन्द्रदेव कुर्मी, हिमानी साहले मन्तव्य राखेका थिए ।
उपप्रमुख ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्र मिश्र, शिक्षा शाखा प्रमुख विजय झा, शिक्षा शाखा सहायक विनोद चौहान, २५ वटा विद्यालयका प्रधानाध्यापक, अभिभावकलगायतको सहभागिता थियो ।