प्रस,परवानीपुर,१३ फागुन/
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको नया व्यवस्थापन समूहले तत्कालीन प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीका निकटतम सातजना कर्मचारीलाई कारबाई गरेको छ ।

नेशनल मेडिकल कलेजले आज एक सूचना प्रकाशित गर्दै सातजना कर्मचारीहरूलाई कर्मचारी आचरण विपरीत काम गरेको भन्दै सात दिन भित्र स्पष्टीकरण सोधिएको छ भने तीन महीनाको लागि उनीहरूलाई निलम्बन गरिएको जानकारी गराइएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू हृदयनारायण सिंह, प्रयाग राउत अहिर, फिरोज हवारी, सैनुल्लाह अन्सारी, विजयप्रसाद यादव, रामजीप्रसाद कुशवाहा र अनवर हवारीलाई कारबाई गरिएको हो ।

कलेजका नया प्रमुख प्रशासकीय अधिकृत शेख गौशल आजमद्वारा हस्ताक्षरित सूचनामा उनीहरूलाई कारबाई गरिएको जनाइएको छ । फागुन ११ गते अस्पतालकी नर्सिंङ निर्देशक पदमा कार्यरत गङ्गादेवी गुरुङ, नर्सिङ मेट्रोन पदमा कार्यरत विकासकुमार तथा नर्सिङ सुपरभाइजर गोमा केसीलाई निजहरूकै कार्यकक्षमा युनियनसम्बन्धी विवाद हुँदा डर, त्रास, धम्की दिई ज्यान मार्नेसम्मको डर देखाई कार्याालयमा हुलहुज्जत गरेकोले श्रम ऐन२०७४ को दफा १३१(क) बमोजिम खराब आचरण देखाएकोले सो दफा अनुसार किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको छ ।

कारबाईमा परेका कार्मचारीहरूले युनियन दर्ता भएर प्रक्रियामा रहेकोले कर्मचारीहरूको एकता तोड्न आफूहरूलाई कारबाई गरिएको आरोप लगाएका छन् । यस विषयमा श्रम ऐन अनुसार कानूनी लडाइँ लड्ने उनीहरूले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here