दिनेशकुमार मिश्र, वीरगंज, १३ फागुन/
सखुवापरसौनी गाउँपालिकाद्वारा आयोजित दोस्रो सखुवापरसौनी कप क्रिकेट प्रतियोगिता २०८० को आइतवार सम्पन्न सेमिफाइनलमा बहुदरमाई नगरपालिकालाई पराजित गर्दै छिपहरमाई गापा फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा टस जितेर छिपहरमाईले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर छिपहरमाईले १३३ रन बनाएको थियो ।
प्रतिउत्तरमा १३४ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको बहुदरमाई १७ ओभरमा सबै विकेट गुमाएर ९६ रनमा सीमित भयो । प्रतियोगितामा तीन ओभरमा दुई रन दिएर तीन विकेट लिएका छिपहरमाईका हरेराम यादव म्यान अफ द म्याच घोषित भए । आजको खेलमा छिपहरमाईका सन्दीप पटेलले ३२ बलमा अर्धशतक बनाए ।
छिपहरमाई फागुन १६ गते हुने फाइनलमा, भोलि परवानीपुर र कालिकामाईबीचको दोस्रो सेमिफाइनल जित्ने, टीमसँग उपाधिको लागि भिड्ने छ ।