अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणका लागि गठन भएको हो । आयोग गठन भएको लामो समय भइसकेको छ तर पनि भ्रष्टाचार घट्नुको साटो बढ्दो छ । आयोग गठन भएको बखत यसको नामबाट भ्रष्टाचार गर्नेहरू डराउँथे । अहिले अख्तियारको डर कम भएको छ । आखिर किन यस्तो भएको हो भन्नेतर्फ पनि अनुसन्धान जरुरी छ । अपराध गरेपछि सजाय भुक्तानका लागि कारागार चलान गरिन्छ ।
कारागारमा सजाय भुक्तान गर्नेले आफूले गरेको कसूरबापत पछुतो गर्छ र बाहिर आएपछि असल नागरिक बन्ने प्रयास गर्छ भन्ने आम सोच हो । तर यस्तो हुन सकेको छैन । केन्द्रीय कारागारदेखि वीरगंज कारागारसम्मको कुरा गर्दा कुनै पनि अपराधमा सजाय भएर सजाय भुक्तान गरेका आधाभन्दा बढी झन् खुंखार भएर बाहिरिएको देखिएको छ । किनभने कारागारमा विभिन्न शीर्षकमा सजाय पाएका मानिसहरू लिङ्गको आधारमा दुईतर्फ सजाय भुक्तान गर्छन् महिला र पुरुषको रूपमा । यी दुई बाहेक सबै खाले कसूर गरेर कारागार पुगेकाहरूको बसाइ एकै प्रकारबाट हुँदै आएको छ । भौतिक संरचनाको अभावमा हाम्रा कारागारहरू पुरानो राणाकालीन अवस्थामा सञ्चालनमा आएदेखि खासै परिवर्तन भएको छैन ।
सबैखाले कैदीबन्दी एकैथलोमा बस्ने हुँदा जघन्य अपराध गरेका, आपराधिक गतिविधि सञ्चालन गर्दै आएका र सामान्य कसूर गरेका तथा परिबन्दका शिकार भएर कारागार चलान भएका सबैजना एकैथलोमा बस्दा पेशेवर अपराधीहरूको सङ्गतबाट बिग्रिएको घटना बेलाबखत सुन्नमा आएका छन् । हालको समयमा कारागारलाई बन्दी सुधार गृह नामाङ्कन गरिएको छ । तर बन्दी सुधार हुनुको साटो बाहिरिएपछि उनीहरूको गतिविधि सामान्यबाट पेशेवर अपराधीमा परिणत भएको पाइएको छ । १८ वर्ष मुनिका बालबालिकाहरूका लागि बालसुधार गृह स्थापना भएको छ । तर बालसुधार गृहमा पनि अहिले बाल अपराधका घटनाहरू एकपछि अर्काेगरी बाहिरिंदै छ । यसको कारण पनि बन्दी सुधार गृहझैं छ । सबै खाले बालबालिका एकै ब्लकमा राखिनु ।
व्यवस्क बालकबालिकाबाट हुने गतिविधि चाहेर नचाहेर नाबालिकहरूले अनुसरण गर्नुपर्ने हुन्छ, हैन भने उनीहरू त्यहाँ टिकी–बस्न सक्ने वातावरण हुँदैन । ठीक यही कुरा अख्तियारमा भएको छ । भ्रष्टाचार गरी टन्न कमाएका कर्मचारीहरू आफूले कमाएको जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुदृढीकरण आयोग जस्ता भ्रष्टाचार विरोधी कार्यालयहरूमा भरिभराउ छन् । उनीहरू पछिल्ला समयमा आफ्ना गतिविधिहरूबाट गन्हाइसकेका छन् ।
सानातिना भ्रष्टाचारीलाई समाएर हल्ला पिटाएर सञ्चारमाध्यममा आउनेभन्दा बढी काम गर्न सकेका छैनन् । मालपोत, नापी, भूमिसुधार, शिक्षक, दश हजारदेखि चार पाँच लाखसम्मको भ्रष्टाचारमा अल्झिएर अख्तियारले आफ्नो गरिमा घटाउँदै आएको छ । अहिले सबैभन्दा बढी देखिने गरी भ्रष्टाचार हुने क्षेत्र भनेको राजनीति हो । राजनीतिमा प्रवेश गरेकाको अकूत सम्पत्ति आम मानिसले झर्लङ्ग देखेपनि अख्तियारले देख्नै सकेको छैन, कारण त्यही राजनीतिक ओतमा बसेर आफ्नो दुनो सोझ्याउनुपरेको छ । तसर्थ अरूलाई अर्ती र उपदेश दिनुभन्दा अख्तियारले सर्वप्रथम आफूभीत्रबाट सुधार गर्नु आवश्यक छ । ठूलालाई कार्यवाही भएको खण्डमा सानाहरूको के मजाल कि भ्रष्टाचार गरून् !