न्पोमपेन्ह, १३ फागुन/एएफपी
कम्बोडियाली अधिकारीहरूले आइतवार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।

करीब चार दशकको कट्टरपन्थी शासनपछि हुन सेनले गत अगस्तमा भएको राष्ट्रिय निर्वाचनमा कुनै ठूलो अवरोधविना आफ्ना जेठा छोरा हुन मानेटलाई सत्ता सुम्पेका थिए । सो बेला हुन सेनले आफूले राजीनामा दिए पनि अझै पनि प्रभाव कायम राख्ने मनसाय स्पष्ट पारेका थिए ।

एकहत्तर वर्षीय विधायक तथा सत्तारूढ दलका प्रमुखले मुलुकको माथिल्लो सदन, सिनेटको एक सिटका लागि आइतवार बिहान तखमाओ शहरमा आफ्नो घर नजीकै मतदान गरे । उनले सिनेटको अध्यक्ष बन्ने मनसाय रहेको बताएका छन् । यसबाट राजा विदेशमा हुँदा उनलाई राज्यका प्रमुखका रूपमा काम गर्ने अनुमति प्राप्त हुनेछ ।

सोही मतदान केन्द्रमा मतदान गरेका पार्षद् छिम वानारिथले उक्त कदमको स्वागत गरे । “यदि उनले सिनेटको नेतृत्व गरे भने हाम्रो मुलुक अझ विकसित र शान्तिपूर्ण हुनेछ”–उनले भने ।

निर्वाचनमा हुन सेनको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी), रोयलिस्ट फनसिनपेक पार्टी र अन्य दुर्ई साना विपक्षी दलसहित चार राजनीतिक दलले भाग लिइरहेका छन् । बैसठ्ठी सिटको सिनेटमध्ये ५८ सिटमा १२५ सांसद र ११ हजारभन्दा धेरै स्थानीय प्रशासकले मतदान गर्नेछन् । राजा नोरोदोम सिहामोनीले दुर्ई सिनेटर र राष्ट्रियसभाले अन्य दुर्ई सिनेटर नियुक्ति गर्नेछन् ।

धेरैजसो योग्य मतदाता सिपिपीका सदस्य छन् । उनीहरूले गत निर्वाचनमा सिनेटमा क्लिन स्वीप गरेका थिए । यसबाट हुन सेनको जीत करीब निश्चित भएको छ ।

“यो हुन परिवारको शक्ति अझ बलियो भएको सङ्केत हो”–‘हुन सेन्स कम्बोडिया’ का लेखक सेबस्टियन स्ट्रङ्गियोले भने–“पद सम्भावित प्रतिद्वन्द्वीको हातमा नजाओस् भन्ने सुनिश्चित गर्नु राम्रो हुन्छ ।” सिनेटका अध्यक्ष बनेपछि उनका छोराको रक्षा हुने र परिवारको नियन्त्रण कमजोर हुनबाट रोक्न सकिने स्ट्रङ्गियोले बताए ।

राष्ट्रिय निर्वाचन समितिलाई आधिकारिक नतीजा प्रकाशित गर्न केही साता लाग्ने अनुमान गरिएको छ । यद्यपि राजधानी न्होमपेन्हका मतदाता हुन सेनलाई पुनः सत्तामा हेर्न चाहन्थे । कम्युन प्रमुख ओउ साइफनले भने–“उहाँसँग ठूलो अनुभव छ त्यसैले यदि उहाँले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक समृद्ध हुनेछ ।”

सांसदहरूले हुन सेनका कान्छा छोरा हुन मैनीलाई उपप्रधानमन्त्रीका रूपमा मन्जुरी दिएपछि सिनेटको निर्वाचन भएको हो । सरकारमा अहिले हुन सेनका धेरै नातेदार सामेल छन् । उनका सहयोगीहरूका धेरै छोराछोरी पनि शीर्ष पदमा छन् ।

सन् १९८५ सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट ध्वस्त मुलुकको आधुनिकीकरणमा सहयोग गरे । हुनत आलोचकहरूले उनको शासनकालमा पर्यावरण विनाश, भ्रष्टाचार र करीब सबै राजनीतिक प्रतिद्वन्द्वी समाप्त भएको पनि बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here