प्रस, वीरगंज, १२ फागुन/
प्रथम अल्पाइन अन्तरकलेज टी–२० कप अन्तर्गत शनिवार दुई खेल सम्पन्न भएको छ । नारायणी रङ्गशालामा आयोजित पहिलो खेलमा नेशनल इन्फोटेकले बाल एकतालाई १३९ रन अन्तरले पराजित ग-यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर २०३ रन बनाएको थियो । नेशनलका राहुल हकले ४६, सफवन अलीले ४२, शरीफ अन्सारीले २६ रन बनाएका थिए ।
बाल एकताका विशाल यादवले तीन विकेट र आयुष रोक्का तथा सुनील साहले एक/एक विकेट लिए ।
२०४ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको बाल एकता १२ ओभरमा सबै विकेट गुमाएर ६४ रनमा सीमित भयो । बाल एकताका सुनील साह, आदित्य दासले ११–११ रन लिए भने विशाल यादवले ६ रन लिए । नेशनलका शरीफ अन्सारीले ५ विकेट, वशिम अली मन्सुरीले ३ र रञ्जीत कुमारले २ विकेट लिएका थिए । यो खेलको म्यान अफ द म्याच शरीफ अन्सारी भए ।
दोस्रो खेलमा आयोजक अल्पाइन माविलाई १४ रन अन्तरले पराजित गर्दै श्रीदुर्गा मोडेल ब्वायज प्लस टु विजयी भयो । पहिले ब्याटिङ गरेको श्रीदुर्गा मोडेल ब्वायजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । प्रतिउत्तरमा अल्पाइन १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा सीमित भयो ।
शनिवार लिग चरणको खेल सम्पन्न भएको छ र फागुन १४ गतेदेखि क्वाटरफाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।