प्रस, गरुडा, ११ फागुन/
भगवान् शिवसित सम्बन्धित लोपोन्मुख मौलिक लोक अनुष्ठानको रूपमा रहेको मधानी महायज्ञको प्रवर्धनमा रौतहटको मौलापुर नगरपालिका जुटेको छ । शिव–पार्वतीको विवाहको मौलिक अनुष्ठानको रूपमा रहेको मधानी महायज्ञलाई मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि विश्वव्यापी पहिचान दिन खोजेको छ । यसै क्रममा फागुन २५ गते महाशिवरात्रिका दिन हिन्दी चलचित्रका चर्चित कलाकार गोविन्दासहित दुई दर्जनभन्दा बढी कलाकार मौलापुर आउन लागेका छन् ।

मौलापुर नगरपालिकाले शुक्रवार वडा नं ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख रीनाकुमारी साहले मधानी महोत्सवबारे जानकारी गराएकी छन् । २०७६ सालको महाशिवरात्रिको दिन पहिलो मधानी महायज्ञको आयोजना गरी सुरुआत गरिएको महोत्सवको पाँचौं संस्करण फागुन २५ गते हुने भएको हो ।

मधानी महोत्सवले मौलिक संस्कृतिको संवद्र्धन हुने, पर्यटकीय विकास हुने तथा व्यापार प्रवद्र्धन हुने विश्वास रहेको नगरप्रमुख साहको भनाइ छ । फागुन २२ देखि २६ गतेसम्म चल्ने महोत्सवमा करीब १० लाख दर्शक आउने नगर उपप्रमुख नागेन्द्र यादवको दाबी रहेको छ ।

स्थानीय सांस्कृतिक नाच, मधानी यज्ञमा शिवको जन्ती, भारतबाट बोलाइएको शिवलीला प्रदर्शन जस्ता कार्यक्रमहरूका साथै मधानी सांस्कृतिक महोत्सवको आयोजना गरिने र सांस्कृतिक महोत्सवमा बलिउड कलाकार गोविन्दा अहुजा, नीलम गिरी, विनय विहारीका साथै नेपाली कलाकार पल शाह, दिनेश डिसी, कमल राई, प्रेम परियार, रचना सिवाकोटी, अर्जुन बिसी, प्रीति आर्या, विजय यादव निर्बीज, रविराज साह, सदाम हुसेन, दीपेश शर्मा, आश्विनी शाही, डा आभास लाभ, प्रदीप पाठक, निर्देशक नन्दु श्रीवास्तव, रोशनी राज, कनक सिंह, रेविका अधिकारी, दीपलाल यादव, नवीन सिंह, राजु राग्नी, शीशाखा तिमल्सिना, चन्दन पटेल, कपिल भाइ र रेविका नेपालीलगायतका कलाकारहरूको प्रस्तुति निश्चित भइसकेको तथा अन्य कलाकारहरूसित पनि सम्पर्क गर्ने प्रयास भइरहेको नगरप्रमुख साहको भनाइ छ ।

मौलापुर–५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सङ्कल्पसहित मधानी महोत्सवको सुरुआत गरिएको स्मरण गर्दै नगर प्रमुख साहले आज पनि आफ्नो सङ्कल्पप्रति प्रतिबद्ध रहेको बताएकी छन् ।

उपप्रमुख यादवले मौलापुर नगरपालिकाले मधानी महोत्सवलाई पनि नगरको विकासको एउटा अङ्गको रूपमा स्वीकार गरिएको बताउँदै स्थानीयरूपमा व्यापार प्रवद्र्धन पनि हुने तथा विगतमा पनि भएको दृष्टान्त रहेको बताएका छन् । कम्तीमा १० करोड रुपैयाँको व्यापार मधानी महोत्सवमा हुने पूर्वानुमान गरिएको नगर प्रवक्ता चन्देश्वर बैठाको दाबी छ ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले गत असार १० गते भएको नगरसभाले मधानी महोत्सवको लागि ६० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी गराउँदै प्राचीन मन्दिर, प्राचीन महायज्ञ र प्राचीन खेलको लागि यस वर्षको महोत्सव प्रसिद्ध हुने बताएका छन् । अधिकृत साहले प्रसिद्ध भारतीय कुश्तीबाज स्वर्णपदक विजेता बबिता फोगाट फागुन २६ को मुख्य आकर्षण रहेको जानकारी गराएका छन् ।

मौलापुर मधानी महोत्सव कुश्तीको कारणले पनि चर्चामा रहेको उनले बताएका छन् । विसं २०६५ मा जमीन खन्ने क्रममा मौलापुर–५ पतौरामा भेटिएको संरचनाको देशविदेशका पुरातत्वविद्बाट पुरातात्विक अध्ययन भएको छ ।

स्थानीय सरकार गठन भएपछि मौलापुर नगरपालिकाले पुरातात्विक महादेव स्थानको प्रवद्र्धन गर्दै आएको छ । पुरातात्विक महादेव मन्दिर परिसरमा विवाहमण्डप, फराकिलो स्थान, पुरातात्विक सङ्ग्रहालय तथा भव्य मन्दिरको निर्माण नगरपालिकाको अग्रसरता भइसकेको छ । मन्दिर परिसरभन्दा करीब एक मिटर उत्तरमा भेटिएको नयाँ पुरातात्विक अवशेषको पनि नगरपालिकाको अग्रसरमा उत्खनन गर्ने काम भइरहेको छ ।

गत वर्ष महाशिवरात्रिको दिन मधानी महोत्सवमा आएकी भारतको बिहार सरकारका सेवानिवृत्त पुरातत्वविद् डा विद्या चौधरीले पुरातात्विक महादेव परिसरका इँटा र संरचना गुप्तकालको भएको बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here