प्रस, वीरगंज, ११ फागुन/
वीरगंज महानरपालिका–१६ स्थित कृषि तरकारी बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको जग्गा अतिक्रमण गरी बनाएका घर, गोठ र घुम्ती पसल तोडफोड गरी हटाइएको छ ।
कृषि बजारको करीब १६ कट्ठा जग्गा अतिक्रमण गरी छवटा संरचना बनाइएको र सोको उत्तरतर्फ रहेको खानेपानी संस्थानको जग्गा अतिक्रमण गरेर तीनवटा संरचना बनेकोमा सबै संरचना अतिक्रमणमुक्त गरिएको थियो । खानेपानी संस्थानको जग्गामा टङ्की र कार्यालय स्थापना हुने बताइएको छ ।
नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा सो क्षेत्र अतिक्रमणमुक्त गरिएको हो । भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, वडा नं १६ का अध्यक्ष परशुराम चौरसिया, नगरप्रमुखका सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरिप्रसाद भुसाललगायतले सो क्षेत्र अतिक्रमणमुक्त गरेका हुन् ।