• राजेश मिश्र
“वीरगंमा म १० वर्षपछि पाइला टेक्दै छु । जब म पथलैयाबाट वीरगंजतर्फ बढें, प्रगतिको गति उकालोउन्मुख अनुभूत गरें । विगत र वर्तमानबीचको फरक छुट्याउँदै यात्रा जारी थियो । वीरगंजमा पाइला टेकेपछि शहरको परिवर्तित दृश्य वितगभन्दा प्रशंसनीय दृष्टिगत भयो ।” बद्रीविनोद प्रतीकले पुरस्कार ग्रहणपछि मन्तव्य व्यक्त गर्ने क्रममा मनोभाव जाहेर गरेका थिए ।
पोखरा निवासी ७२ वर्षीय प्रतीक क्रियाशील पत्रकार तथा सेवानिवृत्त प्राध्यापक हुन् । गएको फागुन २ गते ‘गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार २०८०’ वितरण कार्यक्रम थियो । प्रतिष्ठानले यस वर्षको पुरस्कार बद्रीविनोद प्रतीकलाई स्वर्णपदकसहित सम्मान गर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई आमन्त्रित गरिएको थियो । उनी पोखरादेखि वीरगंज आएका थिए ।
अग्रज पत्रकार प्रतीक नेपाल पत्रकार महासङ्घ, कास्कीका पूर्वअध्यक्ष तथा केन्द्रीय उपसभापति हुन् । उनी नेपाल सरकारबाट वरिष्ठ पत्रकार सम्मान, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, कीर्ति स्मृति पत्रकारिता सम्मान, पोखरा पत्रकारिता पुरस्कार सम्मान, गोविन्द वियोगी पत्रकारिता पुरस्कार, दयाशङ्कर पत्रकारिता पुरस्कार सम्मान, प्रेस स्वतन्त्रता सेनानी सम्मानलगायत अनेकौं सम्मानबाट पुरस्कृत व्यक्तित्व हुन् ।
काठमाडौंपछि पोखरामा पत्रकारिता विषयको अध्ययनको सुरुआत गराउने पुरानो पुस्ताका कर्मठ योद्धा पनि हुन् उनी । उनले पोखरा बहुमुखी क्याम्पसमा लामो समयसम्म पत्रकारिता विषयको अध्यापन गराएका छन् । सेवानिवृत्त भएपश्चात् पनि प्राध्यापकको अभावमा विसं २०७६ सालसम्म सेवारत रहे ।
उनको जन्मथलो कास्की जिल्लाको सुदूरपूर्व अवस्थित रूपा गाउँपालिका–१ हो । हाल उनी पोखरा मनपा–१२, रानीपौवामा परिवारसहित बस्छन् । विसं २००९ सालमा बुबा भद्रकृष्ण खनाल र आमा विष्णुमाया खनालको जेठा सन्तानको रूपमा उनको जन्म भएको हो ।
पुरानो पुस्ताका अग्रज पत्रकार तथा पत्रकारिताजगत्को अभिभावकसँग केही सिक्नुपर्छ र समाजमा साझा गर्नुपर्छ भन्दै कार्यक्रमपश्चात् मैले उनीसँग साक्षात्कार गरें । विभिन्न विषयमा लगभग डेढ/दुई घण्टा कुराकानी भयो । उनीसँग भएको संवादको सङ्क्षिप्त अंश प्रस्तुत छ–
मेरो जन्मथलो पोखरादेखि सुदूरपूर्व रूपा गाउँपालिका वडा नं १ हो । प्राथमिक तहको पढाइ ढिलो अर्थात् करीब आठ/नौ वर्षको उमेरपछि शुरू भयो । एकैचोटि कक्षा तीनमा नामाङ्कन भएको थियो । गाउँको विद्यालयबाट कक्षा पाँच उत्तीर्ण गरेपछि निमावि तहको लागि छिमेकी जिल्ला लमजुङ हानियो । विद्यालय जिल्लान्तर भए तापनि मेरो गाउँबाट हिंडेर एक घण्टा लाग्थ्यो । अरू कुनै विकल्प थिएन ।
विसं २०२८ सालमा एसएलसी उत्तीर्ण गरें । परीक्षा केन्द्र पोखरामा परेको थियो । विसं २०२९ मा परीक्षाफल प्रकाशित भएको थियो । एसएलसीको परीक्षाफल प्रकाशित नहुन्जेलसम्म प्राथमिक तह पढेको गाउँको विद्यालयमा पढाएँ ।
एसएलसीपछि पायक गन्तव्य थियो– पोखरा । पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह शिक्षा सङ्कायमा भर्ना भएँ ।
मेरो गाउँको विद्यालयसँग सम्बन्धित एउटा समस्या थियो । पोखराबाट हिमदूत साप्ताहिक प्रकाशन हुन्थ्यो । एकदिन म त्यस पत्रिकाको कार्यालयमा गएँ । विषयवस्तु अवगत गराएँ । तर मैले एकतर्फी समस्या अवगत गराएकै भरमा समाचार छाप्ने अवस्था नरहेको जानकारी पाएँ । अन्ततोगत्वा सुझाव अनुसार ‘सम्पादकलाई चिठी’ सम्प्रेषण गरें । त्यो चाहिं प्रकाशन भयो । त्यसको गम्भीर असर प-यो । मनमा पत्रकारिताप्रति श्रद्धाभाव जागृत भयो । किनभने बेथितिविरुद्ध मैले जति बोले पनि मेरो शब्द सम्बन्धित निकायसमक्ष पुगिरहेको थिएन । सुनेर पनि उनीहरू बहिरोझैं थिए । तर हिमदूत साप्ताहिकमा प्रकाशित मेरो शब्दले हलचल मचाइदियो ।
पढाइसँगै दुई/चार पैसाको आयस्रोत होस् भन्ने चाहन्थें । यद्यपि म यस्तो काम चाहन्थें, जसले मेरो पढाइमा बाधा नपुगोस् । एकदिन आह्वान साप्ताहिकको सम्पादकलाई भेट्न कार्यालयमा पुगें । यसपटक समाचार प्रयोजनको लागि नभई कामको खोजीमा गएको थिएँ । कुरा भयो र काम पाएँ । विसं २०३१ सालमा पहिलोपटक आह्वान साप्ताहिकमा सहसम्पादकको जिम्मेवारी पाएँ । रु १२५ तलब थियो । यो रकम मेरोलागि सञ्जीवनीतुल्य थियो । त्यो पल मेरो हकमा सुखप्रद थियो नै, पत्रकारिता सिक्ने अवसर पनि । यद्यपि दुई/तीन महीना मात्र काम गरें ।
मातृभूमि साप्ताहिक पत्रिका काठमाडौंबाट प्रकाशित हुन्थ्यो । त्यस पत्रिकामा एकजना परिचित पोखराबाट संवाददाताको काम गर्थे । तर उनी सरकारी कर्मचारी नियुक्त भएपछि त्यहींबाट त्यसै पत्रिकामा काम गर्नको लागि कुराकानी भयो । त्यही समयमा पत्रिकाका सम्पादक गोविन्द वियोगी भर्खर पत्रिकाबाट बिदा भएका प्रतिनिधिसित पोखरा आउनुभयो । म उहाँहरूलाई भेट्न गएँ । उहाँहरूले मलाई मातृभूमि पत्रिकाको संवाददाता नियुक्त गर्नुभयो । पत्रकारिताको मेरो पहिलो पाठशाला आह्वान सँगसँगै मातृभूमिबाट पनि शुरू भयो ।
शुरूमा पत्रकारिता नै मेरो मुख्य पेशा होला भन्ने लागेको थिएन, न भविष्यमा के बन्ने भन्ने ध्याउन्न । केवल सोच यो थियो कि शैक्षिक योग्यता आर्थिक हैसियतले भ्याएसम्म जारी राख्नुपर्छ । दुर्गम गाउँँबाट शिक्षा हासिल गर्नकै लागि शहर छिरेको थिएँ । तर ‘सम्पादकलाई चिठी’ भन्ने सामान्य त्यो घटनालाई केवल संयोग मान्न सकिंदैन । भलै त्यस बेला मलाई यो कुराको बोध भएन होला, तर पत्रकारितातर्फ डो-याउने पहिलो खुड्किलो त्यो नै भयो । त्यसपछि बिस्तारै पत्रकारिताप्रति चासो बढेको हो ।
पत्रिकामार्फत कुनै घटना सार्वजनिक भएपछि गम्भीरताका साथ नियामकले कारबाई गर्थे । पत्रकारिता समाजलाई सुसूचित गर्ने पेशा हो । यो पारदर्र्शी हुनुपर्छ । पत्रकारिता कसैको पक्ष वा विपक्षमा वकालत गर्ने माध्यम हुँदै होइन । पत्रकारलाई पनि मतदानको अधिकार छ । त्यस कारण व्यक्तिगत जीवनमा कुनै विचारसँग नजीक/सहमत हुन सक्छ । तर त्यो व्यक्तिगत जीवनमा आधारित विचार पत्रकारिताको उत्तरदायित्वमा हिस्सा बन्नुहुँदैन । त्यस कारण सूचना तथ्यमा आधारित सम्प्रेषण हुनैपर्छ । यसै सेरोफेरोमा एक प्रकरण साझा गर्न चाहन्छु ।
झन्डै चार दशकअघिको कुरा हो । नेपाल राष्ट्र बैंक, पोखरा शाखाले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको समापनपछि निम्तालुहरू भोज खाए र गए । भोलिपल्ट एउटा अखबारले भोजमा गिद्धको मासु खुवाएको समाचार छाप्यो । यो समाचारले पन्त थरका तत्कालीन प्रबन्धक स्तब्ध भए । किनभने समाचार कपोलकल्पित थियो । प्रबन्धकले जनाए अनुसार त्यस पत्रिकालाई भूलवश आमन्त्रण गरिएको रहेन छ । त्यस कारण निराधार समाचार छापिएको थियो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले उनको नाममा स्पष्टीकरण पत्र पठायो । प्रबन्धकले जवाफमा– “कुखुराको मासु पर्याप्त पाइरहेको अवस्थामा ठूलो भोजको लागि गिद्धको मासु खोज्नु कसरी सम्भव हुन सक्छ ?” प्रतिप्रश्नसहित जवाफ पठाए । यो उदाहरण दिनुको कारण के हो भने यस प्रकारको सञ्चारकर्मले पत्रकारिताजगत्को गरिमा घट्छ ।
कर्मपथमा कसरी अडिग रहनुपर्छ भन्ने कुराको एक प्रसङ्ग यस्तो छ । विसं २०३७–३८ ताका पोखरामा एउटा घटना घट्यो । नमिता भण्डारी, सुनीता भण्डारी र नीरा पराजुलीको बलात्कार र हत्या भएको थियो । यस प्रकरणमा समाचार लेखेकै कारण हप्तौंसम्म अञ्चलाधीशले सोधपुछको लागि भन्दै कार्यालयमा बोलाउने र केही नसोधी दिनहुँ दुःख दिने गरेका थिए । उनीहरूले घोषितरूपमा नथुने पनि अघोषितरूपमा आफू थुनिएको अनुभूति गरेको थिएँ । अनाहकमा मानसिक यातना झेल्नुपरेको अवस्था थियो । धेरै प्रकारका प्रशासनिक दुःख झेल्न बाध्य पारे पनि म कर्तव्यपथबाट विचलित भइनँ, अडिग थिएँ ।
विसं २०४२ सालमा मानविकी (भूगोल विषयमा)मा स्नातकोत्तर गरें । विसं २०५६ मा नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको सदस्य भएपछि पोखरामा पत्रकारिता विषय पढाउनुपर्छ भन्ने मनसायले त्यतातिर मन लगाएँ । सुरेश आचार्य सभापति थिए । हामीले त्यो सोच बनाएर अगाडि बढ्यौं । पोखरामा विसं २०६०/६१ मा पत्रकारिता विषयको उच्च शिक्षाको कक्षा शुरू भएपछि पढाउन थालें । मैले हाईस्कूलमा भने २०३२/३३ सालदेखि नै पढाउन थालेको थिएँ ।
मेरो रुचि पत्रकारिता र शिक्षामा मात्र सीमित थिएन, अपितु साहित्यमा पनि उत्तिकै थियो । मेरो पहिलो पुस्तक ‘स्वीकार’, दोस्रो ‘झरेको पात’, तेस्रो ‘उडान’ प्रकाशित भइसकेका छन् । चौथो र पाँचौं उपन्यास प्रकाशनको तयारीमा छ । पोखरा हटलाइन दैनिकमा अहिले प्रधानसम्पादकको जिम्मेवारीमा कार्यरत छु ।
विसं २०३७ सालमा विवाह भयो, म स्नातक तहमा अध्ययनरत छँदा । उनी चाहिं प्रमाणपत्र तहमा पढ्दै थिइन् । यद्यपि हामी एकअर्कासँग अपरिचित थियौं । अभिभावक र आफन्तजनबीच विवाहको प्रसङ्ग चलेको रहेछ । त्यसपछि थाहा भयो, परिचय भयो । सावित्री पराजुलीसँग विवाह भयो । जीवनको गोरेटोमा हामी एकअर्काप्रति समपर्ण भावनाका साथ हाँसीखुशी बाँचिरहेका छौं । एक छोरा र दुई छोरी छन् ।
गोपालचन्द्र गौतमजीसँग वीरगंजमा दुईपटक र काठमाडौंमा एकपटक भेट भएको थियो । प्रत्यक्ष भेटघाटको क्रममा उनीसँग भएको संवाद स्मरणीय छ । उनी पत्रकारिता क्षेत्रको कर्मठ, प्रभावशाली र उदाहरणीय व्यक्तित्व थिए । पत्रकार गौतामेको समयमा पत्रकारिता जोखिमपूर्ण थियो । त्यस बेला पनि स्व. गोतामेले जनमुखी पत्रकारिता गरेर देशभरिमा नाम कमाउन सफल भएका थिए । आज उनकै स्मरणमा सम्मान र पुरस्कार पाउँदा उनको अनुहार र त्यो पल झल्किरहेको छ, जुन शब्दमार्फत व्यक्त गर्नु सम्भव छैन । मलाई सम्मान गरेकोमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानप्रति आभार प्रकट गर्दछु ।