पर्सा, बारा र रौतहटमा बाघको आक्रमण बढ्दो छ । पर्साको जङ्गल क्षेत्रसँग जोडिएका ठोरी, पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर र पर्सागढी नगरपालिकामा बाघलगायतका जङ्गली जनावरहरूको आक्रमण नौलो होइन । ठोरी र पटेर्वासुगौली गापामा बाघको आक्रमणबाट मानिसको मृत्यु पनि भएको छ । बारा र रौतहटमा पनि बाघद्वारा पशु चौपाया र मानिसमाथि आक्रमण बढ्दो छ । फागुन ९ गते बुधवारको घटना हो, रौतहटका दुईजना युवा पूर्व–पश्चिम लोकमार्ग भएर पथलैयाबाट रौतहट घर फर्कने क्रममा बाघको आक्रमणमा परे । मोटरसाइकलको पछाडि बसेका एकजनालाई बाघले झम्टेपछि मोटरसाइकलको सन्तुलन बिग्रिएर चालकसमेत दुवैजना घाइते भए । उनीहरूको उपचार निजगढमा भएको थियो । केही दिनअघि निजगढ नगरपालिका–११ रतनपुुर चौकीसँगै जोडिएको गोठमा बाँधिएर राखिएको जर्सी गाई र पाडीलाई आक्रमण गरी बाघले मारेको थियो । निजगढ नपा–१० देखि १३ सम्म लाल, रतनपुर, चीसापानी, घैयाखोरिया, बुङजोर, रामथली, बारथली, कुलिया, डम्बरपुर र नयाँ बानेश्वरमा बाघको आतङ्क छ । त्यहाँ पशु चौपायामाथि बाघको आक्रमण निरन्तर हुँदै आएको छ ।
अहिले बाघको आतङ्क बढेको पर्सा र बाराको क्षेत्र पर्सा राष्ट्रिय निकुुञ्जको विस्तारित क्षेत्र हुन् । निकुञ्ज विस्तार हुुनुुअघि १८ वटा बाघ थिए भने अहिले ४१ वटा पुुगेको सन् २०१८ को बाघ गणनाको तथ्याङ्कले देखाएको छ । बाघको आक्रमण बढेसँगै सुुरक्षित भई बस्न निकुञ्ज कार्यालयका कर्मचारीहरूले स्थानीयलाई सजग बनाउँदै केही स्थानमा क्यामेरा जडान गरेर बाघको गतिविधि निगरानी शुरू पनि गरेका छन् । पहिले निकुञ्जको कुल क्षेत्रफल ४९९ वर्ग किलोमिटर थियो भने अहिले वन क्षेत्र थप गरिएपछि ६२७ वर्ग किलोमिटरमा निकुुञ्ज विस्तार भएको छ । निकुुञ्जको वन क्षेत्र बस्ती आसपास फैलिएसँगै बाघ, हात्ती, चितुुवा, भालुु जस्ता वन्यजन्तुुको आतङ्क पनि बढेको छ । वन क्षेत्र विस्तार भएको र पुरानो क्षेत्रमा निकुञ्जले तारबार लगाएर जङ्गली जनावर मानवबस्ती र राजमार्गमा प्रवेश नगरून् भन्नेतर्फ चुस्त पहल गरेको छैन । बाराको अमलेखगंजदेखि पथलैयासम्म र पथलैयादेखि निजगढसम्मको वन क्षेत्र प्रायः खुला छ र यो क्षेत्रमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावरहरू मर्ने र घाइते हुँदै आएका छन् भने जङ्गली जनावरबाट पनि बेलाबखत आक्रमण हुँदै आएको छ ।
जङ्गली जनावरहरूको संरक्षणको जिम्मेवारी निकुञ्जको हो । यसैगरी, जङ्गली जनावरहरूबाट मानवबस्तीमा क्षति नहोस् भन्नेतर्फको जिम्मेवारी पनि निकुञ्जकै हो । पर्सा जिल्लामा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र पर्छ । बारामा भने पर्सा राष्ट्रिय निकुञ्ज मात्र पर्छ । चितवन राष्ट्रिय निकुञ्जले पर्सा जिल्लाका मानवबस्ती जङ्गली जनावरहरूको उपद्रोको शिकार नहोस् भनेर वन क्षेत्रसँग जोडिएका मानवबस्तीमा विद्युतीय तारबारको व्यवस्था गरेको छ भने केहीमा तारबार लगाएको छ । पर्सा राष्ट्रिय निकुञ्जले पनि यो क्षेत्रमा केही विद्युतीय तारबार लगाएको छ तर अधिकांश वन क्षेत्र तारबारविहीन भएकाले जङ्गली जनावरको उपद्रो कम भएको छैन । बाराको एकाध स्थानमा मात्र तारबार लगाइएको छ । निकुञ्ज क्षेत्रले ओगटेको वन क्षेत्रको मानवबस्ती र राजमार्ग क्षेत्रमा तारबारको व्यवस्था गरेमा मानवबस्ती, सवारीसाधन र जङ्गली जनावरहरू पनि सुरक्षित हुने थिए ।