बैंकक, ६ फागुन/एएफपी
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महीनापछि आइतवार पेरोलमा रिहा भएका छन् ।
पेरोल कैदीहरू व्यावहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ ।
स्थानीय समय अनुसार आइतवार बिहान ६ः०६ बजे बैंककमा उनको उपचार गरेको र एक वर्षको जेलसजायको छ महीना बिताएको एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्किएका हुन् ।
थाइल्यान्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानूनसम्मत हुने बताएकी थिइन् ।
देशको कानून तथा न्याय मन्त्रालयका अनुसार यसै महीना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुन् ।
थाइल्यान्डको कानून अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य छन् ।
थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्तमा थाइल्यान्ड फर्किएका थिए तर उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेलसजाय सुनाइएको थियो ।
स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैंककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजीरालोड्ढोर्नले थाक्सिनको आठ वर्षको जेलसजाय घटाएर एक वर्ष कायम गरेका थिए । थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एशियाली मुलुक थाइल्यान्डका प्रधानमन्त्री थिए तर सन् २००८ देखि उनी स्वनिर्वासनमा थिए । रासस