संयुक्त राष्ट्रसङ्घ, ६ फागुन/एएफपी
गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिवार बताएका छन् । यद्यपि वाशिङ्टन फेरि उक्त प्रस्ताव अवरुद्ध गर्न तयार रहेको देखिन्छ ।

जनवरी अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजरायलले गाजामा आप्mनो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफल शुरू गरेको छ । फैसलामा इजरायलले हमास लडाकूहरूलाई निशाना बनाइरहेको बताएको छ ।

एएफपीले शनिवार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ । “प्यालेस्टिनी नागरिकको जनसङ्ख्याको जबरजस्ती विस्थापनलाई पनि अस्वीकार गर्छ र सबै बन्धकलाई विनाशर्त तत्काल रिहाइको माग गर्छ,” प्रस्तावमा भनिएको छ ।

अक्टोबर ७ मा हमाससँग शुरू भएको गाजा युद्धमा इजरायलमा अधिकांश सर्वसाधारणसहित करीब एक हजार १६० नागरिक मारिएका थिए । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार ८५८ जनाको ज्यान गएको छ ।

अल्जेरियाले मङ्गलवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा मतदानका लागि आग्रह गरेको छ तर वाशिङ्टनले उक्त मतदानमा विशेषाधिकार प्रयोग गर्न सक्ने सङ्केत दिएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भनिन्–“अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ, यसले करीब छ साताको युद्धविराम ल्याउनेछ ।”

“यसविपरीत सुरक्षा परिषद्मा राखिएको प्रस्तावले यो परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामविपरीत हुन सक्छ”–उनले भनिन्–“अमेरिका यो मस्यौदा प्रस्तावमा कारबाईको समर्थन गर्दैन, यदि मस्यौदा अनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई स्वीकार्न सकिंदैन ।”

इजरायल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन । यसै महीनाको प्रारम्भमा राजदूत थोमस–ग्रीनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताएकी थिइन् ।

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले भनेका छन्–“अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावका बुँदाहरूका लागि ‘ठूलो समर्थन’ छ ।”

अक्टोबर र डिसेम्बरमा गाजामा बढ्दो मानवीय सङ्कटमाथि अन्तर्राष्ट्रिय दबाबका बावजूद वाशिङ्टनले युद्धविरामको माग गर्ने सन्देशमा विशेषाधिकार लगाएको थियो । सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजासम्बन्धी दुईवटा मात्र प्रस्ताव स्वीकार गरेको छ । यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पु-याउन गरिएको आग्रह समावेश छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here