प्रस, वीरगंज, ५ फागुन/
ज्ञानदा एकेडेमीले १०औं वार्षिकोत्सवको अवसरमा शनिवार आफ्नै खेलमैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ।
सो प्रतियोगिता ज्ञानदा एकेडमी र नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाबीच भएको थियो। ज्ञानदा एकेडमीका शिक्षक र सञ्चारकर्मीहरूबीच भएको प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्सा शाखा ४० रनअन्तरले विजयी भएको छ।
निर्धारित १२ ओभरको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पर्सा शाखाले पूरै ओभर खेल्दै छ विकेटको नोक्सानीमा १०६ रनको योगफल बनाएको थियो। १०७ रनको विजयी लक्ष्य पाएको ज्ञानदा पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा ६८ रन मात्र बनाउन सक्यो।
पर्सा शाखाबाट सर्वाधिक सद्दाम हुसेनले ११ बलमा ३० रन बनाएका थिए। त्यस्तै, ज्ञानदाका विनीत लोहियाले १८ बलमा १७ रन बनाएका थिए।
पत्रकार महासङ्घका अरविन्द पटेलले दुई, श्याम गुप्ता र तिवारी यादवले एक/एक विकेट लिएका थिए। ज्ञानदाका मनोज यादवले दुई, अफरोज अन्सारीले तीन र जाहुर अन्सारीले एक विकेट लिएका थिए।
कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले ज्ञानदामा स्थापित नेशनल क्रिकेट एकेडेमीले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याइ खेलजगत्मा योगदान दिंदै समाजमा जागरूकता ल्याएको बताए।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले सबैजना एकअर्कासँग कुनै न कुनै माध्यमले जोडिनुपर्ने आजको आवश्यकता रहेकोले ज्ञानदाले यसको पहल गरेकोमा धन्यवाद दिए। कार्यक्रमको सहजीकरण ज्ञानदाका वसिम हुसैनले गरेका थिए ।