प्रस, वीरगंज, ४ फागुन/
डा अनुपम उपाध्यायले ज्येष्ठ नागरिकहरूले औषधिमा मात्र आधारित जीवनशैली निर्वाह गर्दा समस्या उत्पन्न हुने बताएका छन् ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साले मासिकरूपमा आयोजना गर्दै आएको चिकित्सक परामर्श कार्यक्रममा शुक्रवार ज्येष्ठ नागरिक पार्क, वीरगंज–१५ मा आयोजित कार्यक्रममा उनले चिकित्सकीय सल्लाहमा औषधि नियमितरूपमा लिनुपर्ने र त्यसका साथै आप्mनो दिनचर्यामा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले कतिपय ज्येष्ठ नागरिकहरू औषधि मात्रको भरमा बस्दा त्यसको ‘साइड इफेक्ट’ हुने भएकोले खानपान, आराम, विश्राममा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकहरूलाई उमेर हदको कारण विभिन्न खाले रोग लाग्ने गरेकामा त्यसबाट जोगिनका लागि नियमितरूपमा योग, फिजियोथेरापी गर्नुपर्ने सुझाए । डा उपाध्यायले ज्येष्ठ नागरिकहरूले पोषणयुक्त खानपिनमा ध्यान दिनुपर्ने, दैनिक ६–८ घण्टा सुत्नुपर्ने बताए ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेश संयोजक जगदीशप्रसाद शर्मालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शाखा सचिव विनयराज गौतमले गरेका थिए ।