• राजेश मिश्र
“का करतारी रे छौडा, रेडियावा के ? केतना बढीया बाजत रल त बिगाड देलख इ त ! ना मनबे का रे ? काहे लबर लबर कइले बाडी ?” भन्दै बारीमा काम गरिरहेका वयस्कले बच्चामाथि कराए । उनी रेडियोमा गीत सुन्दै बारीमा काम गरिरहेका थिए । उनको छोरा रेडियोनजीक आएर छेडछाड गरिरहेको थियो । यसले रेडियोका दुर्ई/तीन वटा च्यानलका मिश्रित शब्द ध्वनिले गीत सफा सुनिरहेको थिएन । उताबाट जति कराए पनि बच्चा मानिरहेको थिएन । अन्ततः ती वयस्क बच्चातर्फ बाघले झम्टेझैं दौडे । बच्चा पनि कम थिएन, चराझैं फुर्रर भयो ।
विज्ञानका अनेकौं आविष्कारहरूमध्ये रेडियो पनि एक हो । कुनै बेला भारी र ठूलो आकारको रेडियो थियो । हाल परिवर्तित स्वरूप बजारमा उपलब्ध छ । यद्यपि मोबाइलले रेडियो र घडीको बजार सुस्त पारिदिएको छ । मलहरूमा एक छतमुनि अनेकथरीका सामग्री पाएझैं अहिले मोबाइल भइसकेको छ । फोन गर्ने सुविधासहित रेडियो, घडी र सामाजिक सञ्जाल मोबाइलमा उपलब्ध छन् ।
रेडियोको आविष्कार भएपछि विकासोन्मुख देशहरूमा प्रवेश हुन दशकौं लाग्यो । नेपालमा रेडियोको आगमनको इतिहास पल्टाउँदा छ/सात दशकअघि भित्रिएको देखिन्छ । त्यसमा पनि शहरका धनाढ्य वर्गका घरमा रेडियोको प्रवेश भयो । यद्यपि ग्रामीण क्षेत्र र सामान्यजनको पहुँचमा रेडियोे चार/पाँच दशकअघि मात्र आएको पुरनियाहरू बताउँछन् ।
अहिले हामी केवल महसूस गर्न सक्छौं कि आफ्नै परिवारको जुन पुस्ताले पहिलोपटक रेडियोको दर्शन र स्पर्श गरेको थियो, उनीहरूका लागि त्यो क्षण कति अभूतपूर्व र आश्चर्यजनक थियो होला ? ग्रामीण क्षेत्रका नगन्य तथा सुसम्पन्न मानिसको घरमा जब रेडियो भित्रिएको थियो, त्यसताका रेडियोको दर्शन र स्पन्दन गर्न आउने सामान्यजनको घुइँचो लाग्थ्यो रे । उहिले रेडियोको साक्षात् दर्शन गर्न पाउनु भाग्यको कुरो मानिन्थ्यो । आज मोबाइलमा रेडियो बजाउने पुस्तालाई पुरनियाहरूले महसूस गरेको त्यो क्षण अपत्यारिलो लाग्न सक्छ ।
त्यसताका लोकजीवनमा रेडियो कति महत्वपूर्ण संसाधन थियो भन्ने कुरा उहिलेका पुस्तालाई मात्र थाहा होला । कुनै गाउँँमा कसैले रेडियो सेट खरीद गरेर ल्याएमा त्यस क्षेत्रमा चर्चाको विषय बन्थ्यो । हेर्न/सुन्न मानिसहरूको भीड लाग्थ्यो । अनि रेडियोबाट प्रसारण हुने कार्यक्रमभन्दा बढी मानवीय स्वर कसरी र कहाँबाट आइरहेको छ भन्ने सोचेर मानिसहरू चकित हुन्थे । प्रत्यक्षरूपमा रेडियो देखेको, सुनेको र स्पर्श गरेको व्यक्तिले आफूलाई भाग्यमानी ठान्ने अवस्था थियो ।
रेडियो प्रायःजसो घरका भित्ता वा ‘ओसारा’ (बरन्डा) मा झुन्डिरहन्थ्यो । त्यसताका रेडियोेबाट मनोरञ्जन प्राप्त गर्नु सस्तो थिएन । हरेक १५–२० दिनपछि ब्याट्री परिवर्तन गर्नुपथ्र्यो । कतिपयले ब्याट्री नगलेसम्म प्रयोग गर्ने गर्थे ।
रेडियोको आकार भलै सानो थियो, तर त्यसबाट निस्कने आवाज श्रोताहरूका लागि अनौठो विषय थियो, जुन आश्चर्यकोे आकार आज कल्पना गरेर साध्य छैन । मानिसहरूले टाढाका शहर काठमाडौं र श्रीलङ्काबाट आवाज यहाँसम्म कसरी पुगिरहेको छ भन्ने कुरा त्यस बेला कौतुहलताको विषय थियो । पाँच–सात फिट पर बजिरहेको रेडियोनजीकै खुर्रर्र कुदेर मानिसहरू यसरी जान्थे, मानौं आवाज कानले होइन, सिङ्गो शरीरले सुन्ने हो । लाग्थ्यो, रेडियो सुन्नु, त्यहाँबाट प्रसारित हुने ध्वनिको आनन्द लिनु मात्रै होइन, त्यो यन्त्रलाई प्रेमपूर्वक सुमसुम्याउनु पनि हो ।
अभिभावकले भन्दा रेडियोबाट प्रसारित सन्देश बढी टेर्ने बालपन थियो । मानौं रेडियोभित्रबाट व्यक्तिको हैन, अर्कै लोकबाट र मान्नैपर्ने सन्देश देवताले प्रवाहित गरिरहेका हुन् । मानिसहरूले बडो उत्कण्ठित मुद्रामा रेडियोेबाट प्रसारित कार्यक्रमको आनन्द लिन्थे ।
आज रेडियोहरूले प्रत्यक्ष प्रसारण गर्छन् । फोनमातर्फ श्रोताहरू पनि सहभागी हुन्छन् । गीतको फर्माइश गर्न सकिरहेका छन् । तर विगतमा यस्तो सुविधा थिएन । गीतको फर्माइश पोस्ट कार्डमार्पmत सम्प्रेषण गर्नुपथ्र्यो । ती पोस्ट कार्डहरू हुलाकमा पाइन्थ्यो । कतिजनाले प्रत्येक दिन पोस्ट कार्ड सम्प्रेषण गर्थे । १०–२० वटा पोस्ट कार्ड पठाउँदा एक/दुई पटक नाम बोल्थ्यो । त्यो नै अति खुशी र गर्वको विषय थियो । रेडियो स्टेशन कस्तो हुन्छ, त्यहाँभित्र मानिसले कसरी बोल्छन्, बोल्ने मानिस कस्ता हुन्छन्, बोलेको कुरा रेडियोमा कसरी बज्छ, यावत जिज्ञासा मानिसहरूको मनमा उत्पन्न हुन्थ्यो ।
रेडियो सिलोन
रेडियो सिलोन श्रीलङ्का (पहिले सिलोन)मा स्थापित भएको थियो । इतिहास अनुसार यो एशिया महादेशको पहिलो रेडियो स्टेशन थियो । बिनाका गीतमाला हिन्दी सिनेमाका फिल्मी गीतहरूको साप्ताहिक काउन्टडाउन कार्यक्रम थियो । यो कार्यक्रम अमिन सयानीले चलाउँथे । उनको स्वर र कार्यक्रम श्रोताहरूमाझ असाध्यै लोकप्रिय थियो । त्यस कार्यक्रमका लाखौं श्रोता थिए ।
बिनाका गीतमाला सन् १९५२ देखि १९८८ सम्म रेडियो सिलोनबाट प्रसारण भएको थियो । पछि सन् १९८९ मा अल इन्डिया रेडियो नेटवर्कको विविध भारती सेवामा सारियो, जहाँ यो १९९४ सम्म चलेको थियो । यो हिन्दी फिल्मी गीतहरूको पहिलो रेडियो काउन्टडाउन शो भारतमा सबैभन्दा बढी लोकप्रिय रेडियो कार्यक्रमको रूपमा उद्धृत गरिएको थियो । बिनाका गीतमालापछि सिबाका सङ्गीतमाला १९५४ देखि १९९४ सम्म रेडियो सिलोन र त्यसपछि विविध भारतीमा प्रसारण भएका थिए ।
रेडियो नेपाल
रेडियो नेपाल विसं २००३ मङ्सिरमा पाँच वाटको शक्तिबाट आरम्भ भयो । यो प्रसारण सात/आठ महीनासम्म मात्र सीमित रही बन्द भयो । दिउँसोे १ः३० देखि ३ बजेसम्म प्रसारण हुन्थ्यो । पद्म शम्शेरलाई देश निकाला गरेसँगै मोहन शम्शेर गद्दीमा आएपछि रेडियो बन्द हुन पुग्यो ।
जहानियाँ राणाशासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो । २००७ मङ्सिर २८ गते बिहान ८ः३० बजे एकाएक एउटा प्रसारण सुनियो– “यो नेपाल प्रजातन्त्र रेडियो हो । हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौं ।”
रघुपति जुटमिलको एउटा कोठामा आकाशवाणी सेट राखेर ४१ मिटर ब्यान्ड सर्टवेबमा कार्यक्रम प्रसारण गरिएको थियो । यसको प्रसारण काठमाडौं, दार्जिलिङ, कोलकाता, गोरखपुर र बनारससम्म सुन्न सकिन्थ्यो । यी स्थानहरू २००७ सालको राणाविरोधी सङ्घर्ष सञ्चालनका प्रमुख केन्द्र थिए । सशस्त्र सङ्घर्षका समाचार प्रसारण गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो ।
२००७ सालको क्रान्ति समाप्त भएपछि उक्त रेडियो केन्द्रलाई विराटनगरबाट काठमाडौंको सिंहदरबारमा सारेर रेडियो नेपालको नामबाट २००७ चैत २० गतेबाट प्रसारण शुरू गरियो । प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक चार घण्टा प्रसारण हुँदै आएको रेडियो विसं २०१७ सालमा प्रसारण अवधि बढेर दैनिक पाँच घण्टा पुगेको थियो । विसं २०२५ सालमा दिनमा १२ घण्टा प्रसारण समय बढाइयो भने विसं २०४१ सालबाट दैनिक साढे १३ घण्टा प्रसारण हुन थालेको थियो । रेडियो नेपालको २४सैं घण्टा प्रसारण विसं २०७३ भदौ १ देखि हुन थालेको हो ।
प्रचलित रेडियो सेटहरू
सन्तोष, पानासोनिक र फिलिप्स कप्पनीका रेडियो प्रचलित थिए । जसमध्ये सबैभन्दा सस्तो सन्तोष रेडियो पथ्र्याे । यस कारण गाउँँघरमा प्रायःजसो सन्तोष रेडियोको जगजगी थियो । तुलनात्मकरूपमा पानासोनिक र फिलिप्स रेडियो महँगो पथ्र्यो ।
रेडियोको वर्तमान अवस्था
अहिले कुन शहरमा कति रेडियो स्टेशनहरू छन् भन्ने कुरा शहरवासीलाई नै थाहा नहोला । एफएम (फ्रिक्वेन्सी मोडुलेशन) रेडियो स्टेशन यत्रतत्र सर्वत्र छन् । झन्डै अढाई दशकअघि एफएम रेडियोको स्थापना गर्ने होड थियो । श्रोताहरूमा खुशीको लहर चल्यो । सञ्चारगृहको मेरुदण्ड विज्ञापन हो । रेडियो स्टेशन सीमित भएको बेला राम्रो विज्ञापन पाइन्थ्यो । देखासिकी र जताततै च्याउ उम्रेझैं रडियो स्टेशनहरू उम्रिए । त्यसपछि विज्ञापन विभाजित हुन थाल्यो । विज्ञापनको भरमा चल्ने रेडियोेहरू जुन गतिमा उदय भए, त्यसभन्दा तीव्र गतिमा अस्त हुने क्रममा छन् ।