• बैद्यनाथ श्रमजीवी
यतिबेला हाम्रो समाजमा सबै व्यक्तिको दिमागमा एउटै प्रश्न उठिरहेको छ–“हाम्रो समाज किन दिन प्रतिदिन बिग्रँदै गइरहेको छ ? समाजको प्रत्येक क्षेत्र भताभुङ्ग, अस्तव्यस्त, अव्यवस्थित किन हुँदै गइरहेको छ ? प्रत्येक क्षेत्रमा नकारात्मक प्रभाव किन बढिरहेको छ ?” यो सबैको लागि विचारणीय प्रश्न भएको छ । एउटा घरभित्र अभिभावकले सोच्छ मेरा छोराछोरी दिन प्रतिदिन बिग्रँदै गइरहेका छन् । छोराछोरीहरू सोच्छन्, हाम्रा अभिभावक कति रूढिवादी छन्, हामीलाई नियन्त्रणमा राख्न खोज्छन् । कुनै स्वतन्त्रता दिन चाहँदैनन् । त्यसैगरी, समाजको अगुवालाई लाग्छ, हाम्रो समाजमा अनुशासन नामको चीज छैन । सबै अनुशासनहीन भएका छन् । कोही कसैको कुरा मान्न तयार छैनन् । सबै आआप्mनै तालमा आआफ्नै डम्फु बजाइरहेका छन् ।
ठीक त्यसैगरी एउटा पार्टीलाई देश चलाउन सा¥है सकस भएको छ । एक्लै चलाओस् वा मिलेर, अचम्मको गा-हो अनुभूत हुँदैछ । अगुवालाई लाग्छ, सबै कार्यकर्ता कामचोर, भ्रष्ट र फटाहा भए । त्यसैगरी, कार्यकर्ताहरूलाई लाग्छ, हाम्रा नेताहरू भ्रष्टाचारी र अनैतिकहरूका सरदार हुन् । देशको सत्ता चलाउने शासकहरूलाई लाग्छ, जनता बिग्रेको छ । कर तिर्न चाहँदैन । अरूको उक्साहटमा सरकारलाई अप्ठ्यारो पार्न लागिरहन्छन् । त्यसैगरी, जनतालाई लाग्छ, राज्य जनविरोधी छ । जनताको हकहित राज्यको प्राथमिकतामा छैन । राज्य केवल तस्कर, भूमाफिया र भ्रष्टाचारीहरूको चार घेराभित्र रजगज गरेर बसेको छ । यही हो हाम्रो वर्तमान अवस्था । यस्तो किन ? यस्तो हुनुको मुख्य कारण के हो ? आउनुस्, यसबारे थोरै छलफल गरौं–
हाम्रो समाजमा कुनै पनि कुराको छलफलको लागि मूलतः दुईवटा विचार देखिन्छन् । एउटा विचारले भन्छ, यहाँ सबै कुरा पहिलेदेखि नै निर्धारित छ । जे लेखिएको छ, त्यही हुन्छ । हाम्रो समाजमा भएका सबै अस्तव्यस्तताको पछाडि कलियुगको विकास हो । यतिखेर कलियुग चर्मोत्कर्षमा छ । अर्थात् घोर कलियुग । त्यसैले कतै पनि नैतिकता भेटिंदैन । न जोगी–संन्यासीमा, न मन्दिर–पुजारीमा, न राज्यसत्तामा न गृहस्थ जीवनमा । कहीं पनि नैतिकता नहुनुमा ईश्वरले लेखेको हो । यस्तो हुनु थियो र भइरहेको छ ।
यस सोचको ठीकविपरीत भौतिकवादी विचार छ । अर्थात् वैज्ञानिक विचार जसले भन्छ कुनै पनि कुरा पूर्वनिर्धारित हुँदैन । सबै घटना एउटा विशेष घटनाबाट उत्पन्न हुन्छ । त्यसैले गर्दा त्यसको विकास हुन्छ र त्यस अनुसारकै प्रतिफल देख्न पाइन्छ । यदि त्यो खालको घटना नहुँदो हो भने त्यस्तो निष्कर्ष देख्न पाइँदैन ।
यसरी विज्ञानले सबै कुरालाई विकासको एउटा सिलसिलामा हेर्छ । एउटा निश्चित क्रमबद्धता छ । त्यो क्रमबद्धताले सबै कुरा अगाडि बढिरहेको छ । प्रत्येक साङ्लोको कडी एक अर्कासँग जोडिएको जस्तै ब्रह्माण्डका सबै कुरा एक अर्कोसँग अन्योन्याश्रित छ । यसमा कतै पनि भाग्यको कुनै दखल हुँदैन । भाग्यवाद मानिसले नितान्त आफ्नै स्वार्थका लागि बनाएको काल्पनिक कुराबाहेक केही होइन । यस खालको निष्कर्ष भौतिकवादले सारेको छ । त्यसैले हामी प्रकृतिका सबै घटनाको अध्ययन गरेर प्रकृतिको नियम जानेर आफ्नो अनुकूलतामा त्यसलाई प्रयोग गर्न सक्छौं । त्यसमा कुनै पनि नियतिवादको गुन्जाइस रहन्न ।
२१औं शताब्दीसम्म मानव समाज आइपुग्दा थुप्रै यस्ता कुरा छन्, जो परम्पराको रूपमा समाजभित्र स्थापित छन् । ज्ञानको अभावमा यस्ता अनेकौं कल्पना र भावनात्मक सोच आएको थियो, जसको अब कुनै प्रासाङ्गिकता छैन । यतिबेला ज्ञानविज्ञानको युगमा विज्ञान प्रविधिले गर्दा हिजोका सबै रहस्य बिस्तारै खुल्दै गइरहेका छन्, अझै खुल्न बाँकी रहेको, भोलिको दिनमा वा भविष्यमा खुल्ने नै छ । वीरगंजमा परम्परादेखि सरस्वतीपूजा हुँदै आएको छ ।
यसो भन्दै गर्दा माटोको मूर्ति वा कागजको फोटोमा दियो बालेर पूजा गर्दा विद्या आर्जन हुने मनोवैज्ञानिक भाव देखिन्छ । त्यसैको क्रमबद्धता प्रियजन गुमाउँदा तिनको फोटोमा अगरबत्ती बाल्ने, टीका लगाउने, पूmल छर्ने र ढोग्नेसम्मको काम गरेको देखिन्छ । प्राचीनकालदेखि नेपालमा शिक्षा लिने–दिने प्रक्रिया सञ्चालनमा थियो । तर सङ्गठित र योजनाबद्ध थिएन ।
शिक्षाको मुख्य ध्येय संस्कारयुक्त नागरिक तयार गर्नु थियो । असल आचरण र बानी–व्यवहारको विकास गर्नु त्यतिखेरको शिक्षाको उद्देश्य हुन्थ्यो । यहाँ के स्मरणीय छ भने संस्कारयुक्त भनेको पूजापाठ गर्ने, अन्धविश्वास मान्ने, रूढिवादी परम्परामा हिंड्ने मानिसलाई संस्कारी भनी परिभाषित गर्ने चलन आज पनि देखिन्छ । पुरानो समयमा बुबाआमाले छोराछोरीलाई आवश्यक ज्ञान, सीप हस्तान्तरण गर्थे । त्यो संस्कार, संस्कृति, मूल्य–मान्यता पारिवारिक तथा सामाजिक सद्भावसँग पनि अन्तर्सम्बन्धित हुन्थ्यो । समाजको परम्परा, मूल्य–मान्यता, चाल–चलन एवं धर्म–संस्कृति अग्रजबाट तल्लो पुस्तामा विभिन्न शैक्षिक प्रक्रियाबाट हस्तान्तरण गर्ने गरिन्थ्यो ।
त्यतिखेरको शिक्षा व्यवस्था नितान्त अनौपचारिक एवं अनियमित हुन्थ्यो । सामाजिक परिवेश सरल र सामान्य थियो । पूजाआजा सबैभन्दा ठूलो काम देखिन्थ्यो । योभन्दा नैतिकवान् र संस्कारयुक्त अरू काम थिएन । तर पुरानो आर्थिक सम्बन्ध बदलिएपछि खासगरी सामन्तवादको ठाउँमा पूँजीवाद आएपछि समाजभित्र विज्ञानले ठाउँ पाउँदै गयो र समयको परिवर्तन र मानवीय चेतनाको अभिवृद्धिसँगै व्यक्तिको सोच, विचार एवं आदर्शमा पनि परिवर्तन हुँदै आयो र व्यक्तिको जीवनपद्धतिमा पनि परिवर्तन देखा पर्न थाल्यो ।
अब सामाजिक जटिलता र मानवीय आवश्यकता बढेपछि परिवारको अनुकरणात्मक शिक्षाले सामाजिक भार एवं मानवीय आवश्यकता थेग्न नसक्ने भयो । यसो हुँदा शिक्षालाई सङ्गठित र योजनाबद्ध किसिमले अगाडि बढाउने प्रयास हुन थाल्यो । सुरुआती दिनहरूमा शिक्षा सर्वसुलभ भए तापनि सबैको पहुँच, समावेशिता, गुणस्तर र उपलब्धिजस्ता कुराहरूको सन्दर्भमा स्पष्ट मापदण्ड थिएन, तथापि शिक्षा (विद्या) प्राप्त गरेको व्यक्तिलाई सबैले सम्मान गर्ने परिपाटी थियो ।
जहाँसम्म नेपालको शैक्षिक इतिहासको सन्दर्भको कुरा छ, १०४ वर्षीय राणाकालमा केही शैक्षिक सुधारहरू भएको पाइए पनि योजनाबद्ध र गुणात्मक शिक्षाको विकास हुन सकेन । त्यतिखेरको शिक्षाले सामाजिक–सांस्कृतिक परिवर्तनलाई अपेक्षितरूपमा आत्मसात् गर्न नसके तापनि केही हदसम्म स्थापित मूल्य–मान्यताको रक्षा गर्ने थोरबहुत प्रयास भएको देखिन्छ । अन्ततः जनता जागरूक भई राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना भएपछि जनचाहनाको सम्मान गर्दै विद्यालय शिक्षाको विस्तार र विकासमा योजनाबद्ध प्रयासहरू हुन थालेको पाइन्छ ।
यस्तोमा नेपालको विद्यालय शिक्षालाई समायानुकूल बनाउँदै लैजाने सन्दर्भमा विभिन्न प्रयासहरू हुँदै आएका पनि छन् । हाम्रो संस्कार, संस्कृतिको जगमा आफ्नै मौलिक शिक्षाको विकास गर्नेभन्दा विश्वव्यापी प्रभावबाट निर्देशित भएर बाहिरी संस्कृतिलाई प्रोत्साहन गर्ने शिक्षा भिœयाउने उपक्रमले निरन्तरता पायो । राजनीतिक परिवर्तनसँगै नयाँ–नयाँ योजना, अभियान, कार्यक्रमको माध्यमले विद्यालय शिक्षालाई समसामयिक बनाउने प्रयास भयो । विद्यालयीय शिक्षाको विकासका लागि थुप्रै प्रयास गरिए पनि अपेक्षाकृत यसलाई व्यवस्थित गर्न नसकिएको जनगुनासो विद्यमान छ ।
यसको मूल कारण पूँजीवादी व्यवस्था नै हो । पूँजीवादले अन्धविश्वास र रूढिवाद समाप्त पार्ने अग्रसरता लिनुभन्दा त्यसलाई नै सहवरण गरेर आप्mनो पेट भर्ने सजिलो बाटो निकालेको देखिन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेपछि भने नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा निहित पारेको छ । तर समग्र शिक्षा योजना, पाठ्यक्रम निर्माण, गुणस्तर निर्धारणलगायत कुरामा सङ्घीय सरकार र प्रादेशिक सरकारको भूमिका रहने कानूनी व्यवस्था छ । जसले गर्दा जनवादी, प्रगतिशील र वैज्ञानिक शिक्षा बनाउने कुरामा कसैको सरोकार देखिएको छैन ।
हुनत नेपालको विद्यालय शिक्षालाई थप व्यवस्थित बनाउने सन्दर्भमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले विभिन्न प्रयास पनि गर्दै आएका छन् । माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय तहमा आएसँगै स्थानीय सरकारहरूले स्थानीय पाठ्यक्रममार्फत हाम्रा मौलिक कला, संस्कृतिको जगेर्ना, विकास र प्रचारप्रसारको थालनी पनि गर्न थालेका छन् । तर यति मात्रै प्रयासले आजको युगको आवश्यकतालाई सम्बोधन गर्न सकिंदैन । नेपाली समाजलाई युग सापेक्ष चेतनाको प्रवाहमा अगाडि बढाउन सकिंदैन ।
संस्कृति भनेको ज्ञान, कला, विज्ञान, विश्वास, नैतिकता, कानून र समाजको सदस्य भएको हैसियतले आर्जन गरेको क्षमता एवं आनीबानीको जटिल समग्रता हो । शिक्षाले चेतना र क्षमता विकास गर्ने भएकोले सांस्कृतिक रूपान्तरण र परिवर्तनमा समेत शिक्षाको अहम् भूमिका रहेको हुन्छ । अबको नैतिकतालाई मानिससँग मात्रै जोडेर हेर्नु उचित हुँदैन ।
अब त प्रकृतिप्रेमी हुन जरुरी छ । समस्त प्रकृतिलाई बचाउन सके मात्रै हामी विकास गर्न सक्छौं र यो धर्तीमा रहन सक्छौं भन्ने कुराको नैतिकता हामीभित्र बोध हुन जरुरी छ । किनभने समाजलाई परिवर्तन गर्ने सशक्त माध्यम शिक्षा नै हो । शिक्षाले संस्कार, मूल्य–मान्यता र विभिन्न खालका सीप सिकाउने भएकोले समाजमा मिलेर बस्ने तथा सहकार्य गर्ने सीप विकासमा पनि शिक्षाको अहम् भूमिका हुनुपर्छ । संस्कृति हस्तान्तरण, परिमार्जन र विकास गर्ने कार्यमा पनि शिक्षाले आवश्यक सहयोग गर्छ ।
शिक्षाले व्यक्तिको व्यवहार, आनीबानी, संस्कार र समग्र गतिविधिलाई समाजसापेक्ष र समयसापेक्ष बनाउन आवश्यक मार्ग निर्देशन गर्छ । व्यक्तिमा नागरिक चेतनाको विकास गराउने
तथा चरित्रवान् एवं राष्ट्रका लागि समर्पित, उत्तरदायी तथा आफ्नो कर्तव्य र अधिकारप्रति सचेत, चरित्रवान् नागरिक निर्माण गरी सामाजिक सद्भाव विकासमा पनि शिक्षा सहयोगी हुन्छ । शिक्षाले कर्तव्यनिष्ठ, सहयोग एवं मेलमिलापको भावनाको विकास गर्ने परिपाटी बसाल्ने भएकोले शिक्षा सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण मानिन्छ ।
संस्कारयुक्त जीवन पद्धतिलाई संस्कृति भनिन्छ । अर्को शब्दमा व्यक्ति समाजमा रहँदा–बस्दा अँगाल्ने चालचलन, रहनसहन र जीवनशैलीलाई संस्कृति भनिन्छ । संस्कृतिको आधारमा व्यक्तिले गर्ने समग्र व्यवहार भने सामाजिक विकास हो । शिक्षाले देशमा विद्यमान संस्कृतिका राम्रा एवं ग्रहणयोग्य पक्षको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । तर हाम्रो शिक्षाले त्यसो गरेको देखिंदैन । अझै पनि हाम्रो विद्यालयमा कलिला बालबालिकाको मस्तिष्कमा सरस्वतीपूजा गरेपछि विद्या पाइन्छ भन्ने अवधारणा जबरजस्ती राख्ने गरेको देखिन्छ ।
परम्परागतरूपमा समाजले आर्जन गरेको मूल्य–मान्यता, विश्वास एवं विचार र आदर्शको संरक्षण गर्दै समाजमा देखिएका विकृति, विसङ्गति एवं अन्धविश्वास हटाउन शिक्षाले सहयोग पु-याउनुपर्छ । संस्कृति देशको पहिचान र गौरव गाथा पनि भएकोले यस्तो अमूल्य निधिलाई जोगाउँदै आफ्नो पहिचान चिरस्थायी बनाउन शिक्षा सहयोगी हुनुपर्छ । हिजोको दिनमा संस्कृतिको अभिन्न अङ्गको रूपमा धर्म जोडिएर आए पनि आज विज्ञानको आलोकमा संस्कृतिबाट धर्मलाई अलग गर्न सकेनौं भने हामी नैतिकवान् र सुसंस्कृत हुनै सक्दैनौं भन्ने कुरा अहिलेको पुस्तालाई बुझाउन जरुरी छ ।
के अहिलेको शिक्षा प्रणालीले यस्ता पक्ष समेट्न सकेको छ ? यस सम्बन्धमा शिक्षा सरोकारवालाहरू गम्भीर हुन जरुरी छ । प्रत्येक समुदायको आप्mनै चालचलन र परम्परा हुन्छ । शिक्षाले परम्परागत संस्कृतिको संरक्षण गर्न सकेन भने समाजको मौलिकता हराएर जान्छ र मानवीय मूल्य सङ्कटमा पर्छ । खासगरी शिक्षाको सांस्कृतिक कार्यले संस्कृतिको संरक्षण, संस्कृतिको हस्तान्तरण र नयाँ संस्कृतिको निर्माणलाई प्राथमिकता दिनुपर्छ ।
संस्कृति पुर्खाहरूले आर्जेको सम्पत्ति भए तापनि यसले समाजमा विद्रोह ल्याउनुहुँदैन । कतिपय हाम्रा मूल्य–मान्यता एवं संस्कारहरूले हामीबीच फुट र अविश्वास पैदा गर्ने मात्र होइन आपसी वैमनस्यता पनि सिर्जना गर्ने गर्छ । यस्ता कुसंस्कृति हटाउनमा पनि शिक्षाको अहम् भूमिका रहेको हुन्छ । नेपालको सन्दर्भमा भन्दा नेपाल एक बहुजाति, बहुभाषी एवं धर्मनिरपेक्ष राष्ट्र भएकोले यहाँको संस्कृतिमा विविधता पाइन्छ । यहाँ १२५ जातजाति र १३१ भन्दा बढी भाषाभाषी भएको कुरा अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ ।
यसरी विविध भाषाभाषी, संस्कृति एवं परम्परालई निर्बाधरूपमा अगाडि बढ्ने अवसर प्रदान गर्दै धार्मिक एवं सांस्कृतिक सहिष्णुता कायम राख्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । तर त्यसो नगरीकन सनातनको नाउँमा हिन्दूहरूको संस्कृति सबै जातजातिमाथि जबरजस्ती थोपर्ने काम गरेर वास्तवमा हाम्रो शिक्षालाई तहसनहस गर्न, अन्य सबै भाषाभाषीको संस्कृतिलाई मार्न दलाल पूँजीवादी व्यवस्था सुनियोजित योजना बनाएर लागिपरेको कुरालाई हामीले बुझ्न उत्तिकै जरुरी छ । तर यसको लागि हामीले लागू गर्ने शिक्षा प्रणाली पनि हाम्रै मौलिक परिवेशसापेक्ष हुन आवश्यक हुन्छ । सबैको अस्तित्व र आत्मसम्मानलाई सम्बोधन गर्न सक्ने शिक्षाबाट मात्र सामाजिक सद्भावको विकास हुन सक्छ ।
नेपाली सांस्कृतिक विविधताको समुचित पहिचान गरी यसलाई संरक्षण गरिएन भने हामी हुनुको अस्तित्वसमेत सङ्कटमा पर्ने र भावी पुस्ता अलमलमा पर्ने भएकोले पनि नेपाली मौलिक शिक्षाको विकास र संवद्र्धनमा समुचित ध्यान दिन आवश्यक देखिन्छ ।
यसको मतलब हाम्रो शिक्षाको मूल कुरा विज्ञानसम्मत हुनुपर्छ । न कि अन्धविश्वासमा आधारित हाम्रा व्यवहारहरू, चाडपर्वहरू, संस्कृतिहरू सबै कुरा विज्ञानको आलोकमा अगाडि बढाउन जरुरी छ । अनिमात्र हामी २१औं शताब्दीमा असल परम्पराहरूलाई जोगाएर त्यसबाट असल प्रेरणा लिने र खराब परम्पराहरूलाई निरुत्साहित गर्दै त्यसको नकारात्मक प्रभावबाट भावी पुस्तालाई जोगाउन सक्षम हुनेछौं, नत्रभने प्रत्येक वर्ष हामी मानिसका तस्बिरहरूमा ढोग्दै जाने, माटाका मूर्तिहरूको अगाडि पूजा गर्दै जाने र त्यो पूजा गर्ने क्रममा रातभरि “जब लगाबेली तु लिपिस्टिक लालीपप लागेलु …” भन्ने गीत कानको जाली फुट्नेगरी बजाइरहन्छौं ।