काठमाडौं, ४ फागुन/रासस
एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेशियासँग चार विकेटले पराजित भएको छ । जीतका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेशियाले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा ग-यो ।
मलेशियाको जीतमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा छ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । त्यस्तै मास एलिसाले १३ रन जोड्दा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भए ।
नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई/दुई विकेट लिए भने रूविना क्षेत्री र कविता कुँवरले समान एक/एक विकेट लिए ।
त्यसअघि मलेशियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो ।
नेपालकी कप्तान इन्दु बर्माले ३७ बलमा दुई चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले १४ बलमा एक चौका र दुई छक्कासहित २५ रन बनाइन् । सीता रानामगर छ रनमा आउट भएकी थिइन् । कविता कँुवरले ३१ बलमा दुई चौकासहित २३ रन बनाइन् भने रूविना क्षेत्रीले १८ बलमा दुई चौकासहित २० रन जोडिन् ।
मलेशियाकी महिराह इजाती इस्मालिल दुई विकेट लिइन् भने विनिफ्रेड दुराइसिंघमले एक विकेट लिइन् ।
आजै भएको अर्काे सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई चार रनले हराउँदै फाइनलमा पुगेको छ । यो जीतसँगै मलेशिया र युएई एशिया कपमा छनोट भएका छन् । नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ ।