नयाँ दिल्ली, ४ फागुन/एएफपी
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको शुक्रवार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ ।”
माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर)को भुक्तानी माग गरेको थियो ।
पार्टीले त्यस्तो जरिवाना रकम तिर्न कुनै कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दाबी गरे ।
उनले भने, “राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ, के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ ?”
आलोचक र अधिकारवादी समूहहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन् ।
भारतीय राजनीतिमा दशकौंदेखि प्रभुत्व जमाएका काङ्ग्रेस नेता राहुल गाँधीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजूरीपछि आपराधिक मानहानिको अभियोगमा दोषी ठहर गरिएको थियो ।
उनको दुई वर्षको जेलसजायले उनलाई उच्च अदालतले फैसला निलम्बन नगरेसम्म केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो । निलम्बनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रजातान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्नचिह्न खडा गरेको थियो । यद्यपि अदालतको विपक्षी नेताको पक्षमा देखिएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो । रासस