प्रस, सेढवा, ३ फागुन/
पर्साका ग्रामीण किसानहरूले फागुन लागेपछि चैते धानबाली (१४४२)को बीउ ब्याडमा राख्न शुरू गरेका छन् । विशेषगरी जिल्लाको थरुहट क्षेत्रमा पर्ने ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी तथा वीरगंज महानगरपालिकाका केही वडाका किसानले चैते धान अन्तर्गत पर्ने हर्दिनाथ–१ (१४४२) जातको धानको बीउ राख्न थालेका हुन् ।

तोरीखेती गरिएको जग्गाबाट किसानहरूले बाली भित्र्याएर खेत खाली भएपछि चैते धानको बीउ राख्न शुरू गरेको जीराभवानी गाउँपालिका–१ शान्तिनगरका किसान जितन चौधरी थारूले बताए ।

अहिले बीउ ब्याडमा राखेपछि चैत महीनाको पहिलो सातामा रोपाइँ गर्न सकिने किसान थारूले बताए । चैते धानबाली लगाउँदा एउटै जग्गामा दुर्ई बाली धान तथा एक बाली तोरी, राजमा, मकै वा सुर्तीबाली गरी तीन बाली उत्पादन गर्न सकिने किसान थारूले बताए । यो बाली गहुँ रोपिएको खेत खाली हुँदा पनि रोप्न सकिने तथा धान काटेर सोही जग्गामा पुनः यो बाली अगहनी धानको रूपमा पनि रोप्न सकिने किसानहरूले जनाएका छन् ।

चैते धानबालीमा किसानको आक्रषण

हर्दिनाथ–१ अर्थात् १४४२ जातका धानबाली लगाउन अहिले किसानहरूको आकर्षण बढेको छ । खेत खाली भएको बेला यो बाली लगाउँदा राम्रो उत्पादन हुने तथा यस धानको भात पनि निकै मीठो हुने भएकोले यसमा किसानहरूको आकर्षण बढेको हो । गत वर्ष यो बाली लगाएका किसानहरूले प्रतिकट्ठा पाँचदेखि आठ मन (२०० देखि ३२० किलो) उत्पादन भएको देखेर पनि यो धान किसानहरूको रोजाइ बनेको छ ।

जीराभवानी गापाका कृषि शाखा प्रमुख क्षत्रबहादुर गुप्ताले गत वर्ष सय हेक्टर जमीनमा यो बाली लगाइएको बताए । यस वर्ष एक हजार हेक्टर जमीनमा यस धानको खेती हुने अनुमान उनले गरेका छन् । त्यस्तै, पटेर्वासुगौली गापा–१ का अध्यक्ष फरमान मियाँले आफ्नो वडाको ८० प्रतिशत खेतीयोग्य जमीनमा यो बाली लगाइने गरेको बताए ।

चैते धानबालीको बीउ अभाव

हर्दिनाथ–१ धान लगाउने किसानहरूको आकर्षणसँगै नेपाली बजारमा यसको बीउको हाहाकार नै भएको छ । किसानहरूको मागका आधारमा केही स्थानीय तहले ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिरहेका छन् तर बजारमा बीउ उपलब्ध नहुँदा पालिकाहरूले माग अनुसार बीउ वितरण गर्न सकेका छैनन् ।

जीराभवानी र पटेर्वासुगौलीका कृषि शाखाले ५० प्रतिशत अनुदानमा हर्दिनाथ–१ को बीउ वितरण गरेका छन् । तर माग बमोजिम बीउ उपलब्ध नहुँदा ठाउँठाउँमा विवाद हुने गरेको छ । यसका अलावा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यक्रम अन्तर्गत पनि यो धानको बीउ आधा अनुदानमा विभिन्न कृषि सहकारी संस्थामार्फत वितरण भएको छ ।

जीराभवानी गापा–२ निवासी धर्मराज यादवले वीरगंज र परवानीपुरमा बीउ नपाएको गुनासो गरे । बीउको लागि सो जातको धान किसानको घरघरमा भएपनि खोजिरहेको बताए ।

यो जातको धानको बीउ उत्पादन गर्ने संस्था उन्नत बीज वृद्धि कृषक समूह भरतपुर, चितवनका अध्यक्ष उमानाथ पौडेलले बीउ अभाव रहेको बताए । उनले भने– हाम्रो संस्थाले उत्पादन गरेको ७० मेट्रिक टन बीउ झापा पठाएको र अहिले हामीसँग पनि बीउ छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here