नितेश कर्ण, वीरगंज, ३ फागुन/
सर्लाहीको हरिपूर्वा नगरपालिकाले चालू आव २०८०/८१ को नगरसभा फागुन ७ गते गर्ने भएको छ । लामो समयदेखि रोकिएको नगरसभा फागुन ७ गते गर्ने तयारी भएको नगरप्रमुख विनोदकुमार साहले बताए ।
नगरसभा हुन नसक्दा पालिकाले अहिलेसम्म कुनै बजेट खर्च गर्न सकेको छैन । त्यस्तै, पालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको छैन भने कर्मचारीले तलबसमेत पाएका छैनन् । नगरसभा नहुँदा कर्मचारी भर्ना, प्रहरी चौकी भवन निर्माण हुन सकेको छैन ।
नगरसभाका सदस्य र कार्यपालिका सदस्यबीच सहमति हुन नसक्दा धेरै योजना अहिलेसम्म अलपत्र छन् । गत आवमा विनियोजन भएका धेरै योजना थन्किएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असार महीनाभित्र नगरसभा गराउनुपर्ने व्यवस्था भएपनि राजनीतिक खिंचातानीका कारण पटकपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले नगरसभा हुन नसकेको हो । समयमा नगरसभा नहुँदा कर्मचारीले सात महीनादेखि तलब पाएका छैनन् । त्यसैगरी, सामाजिक सुरक्षा भत्तासमेत प्रभावित भएको छ । सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग समस्यामा परेका छन् ।
नगरसभा सञ्चालनका लागि माघ २८ गते बैठक बसेको थियो । बैठकमा सहभागी बहुमत नगरसभाका सदस्यले फागुन ७ गते नगरसभा गर्ने सहमति गरेको नगरप्रमुख साहले बताए । उनले भने, “बहुमत सदस्यको आधारमा नगरसभा हुन्छ । नगरसभा नहुँदा अहिलेसम्म नगर नै बन्धक बनेको छ ।”
वडा नं ६ का अध्यक्ष रामसोगारथ रायले माघ २८ मा बसेको कार्यपालिकाको बैठकको उपस्थितिमा झुक्याएर सही गर्न लगाएको आरोप लगाए । उनले माघ २८ गतेको कार्यपालिकामा नगरसभा गर्ने कुनै निर्णय नभएको दाबी गरे । नगरप्रमुख साहले कार्यपालिकाको निर्णयविना नै नगरसभाको हल्ला बजारमा फैलाइएको आरोप लगाए । उनले फागुन ७ गते नगरसभा हुने कुरामा आशङ्का व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको र उनको अनुपस्थितिमा नगरसभा गर्न नमिल्ने एकजना कार्यपालिका सदस्यले बताए । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको सरुवा माघ ३ गते गरिएको थियो र उनी सरुवा भएको स्थान सर्लाही नगरपालिका नगएर हरिपूर्वामा नै बस्दा मन्त्रालयले पुनः माघ २८ गते ताकेता गरेर उनको रमाना गराएको थियो ।