पर्सा जिल्ला डिजेको केही वर्षदेखि प्रभाव बढेको छ । यसले गर्दा वैवाहिक कार्यक्रम एवं उत्सवहरूमा डिजेको सहभागिता अनिवार्य जस्तै भएको छ । डिजेको कारण अहिले वैवाहिक कार्यक्रम, उत्सवहरूमा बैन्डबाजा र गायक–गायिकाहरूको सहभागितामा हुने कार्यक्रमहरू कमै देखा परिरहेका हुन । बैन्ड बाजा अनि गायकगायिकाहरूको भन्दा साउन्ड सिस्टमको प्रयोगमा नृत्य प्रस्तोता (सात सहेलिया) राख्ने प्रचलन केही वर्षदेखि बढेको छ । केही दशकअघि भने वैवाहिक कार्यक्रम, उत्सव, समारोहमा छिमेकी भारतबाट नर्तकीहरू बोलाएर नचाउने प्रचलन थियो । भारत, बिहारको बेतियाबाट नर्तकीहरू ल्याउने गरिन्थ्यो । पर्सा, बारा र रौतहट जिल्लामा भारतीय नर्तकीहरू ल्याएर नाच कार्यक्रम आयोजना गरिन्थ्यो ।

नाच कार्यक्रम प्रायःजसो मध्यरातमा आयोजना गरिन्थ्यो, जन्तीहरूको मनोरञ्जनका लागि । महिला नर्तकी सहभागी हुने भएकाले परिवारका महिला सदस्यहरूलाई नाच हेर्न वञ्चित पारिन्थ्यो । परिवारका महिला सदस्यहरूको सहभागिता नहुँदा त्यस्ता नाचहरूमा मारपिटका घटना बढी हुन्थ्यो । त्यसैले नाच कार्यक्रममा जानेहरू मारपिटको सम्भावनालाई दृष्टिगत गरेर तयारीका साथ पनि जाने गर्थे । अहिले नाच कार्यक्रम आयोजना गर्ने प्रचलन हराएको छ । त्यसको विकल्पमा डिजेको प्रचलन बढेको छ । साउन्ड सिस्टमको प्रयोग गरेर विभिन्न भाषामा गीत बजाउने र त्यसमा सात सहेलियाले नृत्य गर्ने अनि रमाइलो गर्ने प्रचलन अहिले गाउँँ, शहर दुवैमा छ । माघ भर्खर बित्यो र फागुन महीनामा विवाहको चटारो छ । आगामी चैत महीनामा हिन्दूहरूको वैवाहिक कार्यक्रम नहुने भएकाले माघ र फागुनमा वैवाहिक कार्यक्रमहरू बढी हुने गरेका छन् ।

हिन्दू समुदायमा वैवाहिक कार्यक्रमको लागि साइत जुर्नैपर्छ । साउनदेखि कात्तिक, पुस र चैत महीनासम्म प्रायः लगन हुँदैन मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असार महीनामा भने लगन जुर्ने गर्छ र वैवाहिक कार्यक्रमको चाप बढी हुन्छ । मुस्लिमहरूमा भने शोभरातको एक दिन र ईदको एक महीना वैवाहिक कार्यक्रम गरिन्न । अहिले हिन्दू र मुस्लिम दुवै समुदायका वैवाहिक कार्यक्रम भइरहेका छन् र दुवैमा डिजेको प्रस्तुति हुँदै आएको छ ।

अहिले वैवाहिक कार्यक्रममा नृत्य प्रस्तोताका रूपमा तेस्रो लिङ्गी, जसलाई स्थानीय भाषामा सात सहेलिया भनिन्छ, को प्रयोग बढेको छ । सात सहेलियाको रूपमा उनीहरूको नृत्यमा रमाउने युवा पीढी त छँदैछ, अधबैंसे र वृद्धहरूको सङ्ख्या पनि निरन्तर वृद्धि भइरहेको छ । यदि यसो हुँदैन थियो भने डिजेको प्रयोग विवाहमा सम्भव थिएन । वैवाहिक खर्च घरका अभिभावकहरूले गर्छन् र उनीहरूको चाहनाविपरीतका यस्ता कार्यक्रम आयोजना गर्नु घरका कनिष्ट भनाउँदाहरूको बसको कुरा पक्कै होइन ।

पहिलेको नाच सरह अहिलेको डिजेको आलोचना हुने गरेको छ । अघिल्ला वर्षहरूमा पर्सा, बारा र रौतहटका केही पालिकाले डिजेको प्रयोगमा बन्देज लगाउने जस्ता निर्णय गरेका थिए भने स्थानीय प्रशासनले पनि अश्लीलता प्रयोग हुने गीतको प्रयोगमा बन्देज लगाउने र सो कार्यका लागि समयसीमा तोक्ने जस्ता काम गरेका थिए । तर यस कुराको कार्यान्वयन भने अहिले हुन छाडेको छ र डिजेहरूमा अश्लीलतापूर्ण नाच जारी छ । तसर्थ यस प्रकारका गतिविधि हुन नदिनका लागि समाजका अगुवाहरूको साथ र सहयोग जरुरी छ । यसका साथै यस प्रकारका गतिविधि नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here