टोकियो, ३ फागुन/एएफपी
जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातार सङ्कुचन देखिएकोले बिहीवार सार्वजनिक सरकारी तथ्याङ्कले आर्थिक मन्दीको सङ्केत गरेको छ । कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ किनभने सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम भएको छ । सन् २०२३ मा जर्मनीको कुल गार्हस्थ्य उत्पादन ४.४६ ट्रिलियन डलर कायम भएको छ ।जापानमा उत्पादित वस्तु तथा सेवाको कुल मूल्य वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको हो । जापानको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ, जुन लगातार नौ महीनादेखि जारी गिरावट हो ।
व्यावसायिक लगानी पनि ०.१ प्रतिशतले खुम्चिएको छ । कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्ने आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.६ प्रतिशतले बढेको छ ।
बिहीवारको तथ्याङ्कले सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १.९ प्रतिशतले वृद्धि भई नाम मात्रको हिसाबले ५.७ प्रतिशतले वृद्धि भएको देखाएको छ । रासस