बैंकक, ३ फागुन/एएफपी
थाइल्यान्डको राजधानी बैंककमा बिहीवार धूवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैंकक शहरका कर्मचारीहरूलाई घरैबाट काम गर्न भनिएको छ ।
करीब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रवारसम्म सकेसम्म घरबाटै सेवा प्रवाह गराई सहयोग गर्न सरकारी अर्धसरकारी, निजी कार्यालय, सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन् ।
वायु निगरानी गर्ने वेबसाइट आइक्युएयरले बिहीवार बिहान बैंककलाई विश्वका १० सबैभन्दा प्रदूषित शहरको सूचीमा राखेको छ ।
आइक्युएयरका अनुसार सबैभन्दा खतरनाक पिएम २.५ कणको स्तर विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशा निर्देशभन्दा १५ गुणा बढी थियो ।
बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले बुधवार अबेर राति शहरका आप्mना सबै कर्मचारीले बिहीवार र शुक्रवार घरैबाट काम गर्ने बताएका छन् भने शहरका अन्य सेवा प्रदायी सङ्घसंस्थाहरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।
“वायु प्रदूषणका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यसैले सरकारी कार्यालय र निजी क्षेत्र गरी करीब १५१ कम्पनी र संस्थाहरूको बिएमए नेटवर्कसँग सहयोगको लागि अनुरोध गर्दछु”–उनले एक विज्ञप्तिमा भनेका छन् ।”
चाडचार्टका अनुसार बैंककका ५० जिल्लामध्ये कम्तीमा २० जिल्लामा पिएम २.५ कणको अस्वस्थकर स्तर हुने अनुमान गरिएको छ र शान्त मौसमका कारण यो समस्या लम्बिने छ ।
थाइल्यान्डमा शहर वरपरका किसानहरूले वर्षको प्रारम्भिक महीनामा मल र न्यानोका लागि खेतबारीमा नल पराल जलाउँदा निस्कने धूवाँले औद्योगिक उत्सर्जन र वाहनबाट निस्कने धूवाँमा हावाको गुणस्तर नियमित घट्ने गर्छ ।”
राजधानी बैंकक र उत्तरी शहर च्याङमाई गत वर्ष कैयौं दिनसम्म विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेका थिए ।
प्रदूषणका कारण थाइल्यान्डमा सन् २०२३ मा कम्तीमा २० लाख मानिसलाई उपचारको आवश्यकता परेको थियो ।
गत अगस्तमा पदभार ग्रहण गरेको प्रधानमन्त्री श्रेता थाभिसिनको सरकारले वायु प्रदूषणको सामना गर्न ‘राष्ट्रिय एजेन्डा’ बनाउने वाचा गरेको थियो र उनको क्याबिनेटले गत महीना स्वच्छ वायु ऐनको मस्यौदा अनुमोदन गरेको थियो । तर यो समस्या कायमै छ र गत महीना च्याङमाईको अदालतले सरकारलाई ९० दिनभित्र वायु प्रदूषण नियन्त्रणका लागि तत्काल योजना ल्याउन आदेश दिएको थियो । रासस