प्रस, पोखरिया, २ फागुन/
पोखरिया जिल्ला अस्पतालमा एक वर्षमा शल्यक्रिया गरेर सय बालबालिकाले जन्म लिएका छन् । पोखरिया अस्पतालका मेसु डा सञ्जय गुप्ताले २०७९ वैशाखदेखि अस्पतालमा प्रसूतिगृह सञ्चालनमा आएको, सो अवधिमा छ महीना प्रसूतिगृह बन्द भए पनि अहिले सञ्चालनमा रहेको अवधिमा १२०० बालबालिका साधारण प्रक्रियाबाट जन्मिएका र सय बालबालिका शल्यक्रियाबाट जन्मिएको बताए ।
उनले फागुन १ गते सयजना बालबालिकाको सङ्ख्या पुगेको बताउँदै शल्यक्रियाको लागि अहिले पनि आम मानिसमा विश्वासको वातावरण नबनेको बताए ।
पैसावाल व्यक्तिहरू अहिले पनि वीरगंज जाने र पैसा नभएका व्यक्तिहरू पनि डराएर पोखरिया अस्पतालमा शल्यक्रिया गराउने गरेको मेसु डा गुप्ताले बताए । उनले अहिलेसम्म प्रसूति गराउँदा कुनै समस्या आइ नपरेकोले शल्यक्रियाबाट बालबालिका जन्माउन सहज वातावरणको निर्माण हुन लागेको दाबी गरे ।
उनले जन्मेपछिका कमजोर बच्चाहरूलाई एसएमसियुमा राख्ने व्यवस्था भए पनि सोबाहेकका एनआइसियु र आइसियुमा राख्नुपर्ने बालबालिकाहरूलाई भने रेफर गर्ने गरिएको बताएका छन् ।