बलिराम शुक्ला, बिरूवागुठी २ फागुन/
पर्साको ग्रामीण भेगमा सरस्वती पूजा धूमधामले मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन वसन्त पञ्चमीका दिन सरस्वती माताको पूजापाठ गरी सांस्कृतिक कार्यक्रम गरी मनाइएको हो । पर्सागढी, सखुवापरसौनी, पटेर्वासुगौलीमा रहेका सामुदायिक तथा निजी विद्यालय र गाउँघरमा सरस्वती माताको मूर्ति स्थापना गरी धूमधामसाथ सरस्वतीपूजा मनाइएको थियो ।
पर्सागढी नपा अन्तर्गत आमोदेवी जनता क्याम्पस, जनता माध्यमिक विद्यालय पकडिया बडनिहार, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैली, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बगवाना, पर्सा रेन्बो बोर्डिङ स्कूल, भूपू सैनिक इङ्गलिश स्कूल बडनिहारमा विद्यार्थीहरूले सरस्वती माताको पूजापाठ गर्नुको साथै प्रसाद वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको आमोदेवी जनता क्याम्पसका प्रमुख महन्तलालप्रसाद चौधरीले बताएका छन् ।
प्रस, वीरगंज/
सरस्वती पूजा र भ्यालेन्टाइन डे एकै दिन परेकोले आज वीरगंज महानगरमा युवा, बालबालिकाहरूको भीड बढेको थियो । बिहानैदेखि विद्यालयहरूमा सरस्वती पूजाको लागि युवा, बालबालिकाहरूको भीड थियो र यो क्रम आज दिनभरि नै वीरगंजमा देखियो । सरस्वती पूजा गरेर युवाहरू भने भ्यालेन्टाइन मनाउन व्यस्त भएका थिए । वीरगंजका होटलहरूले भ्यालेन्टाइनको अवसरमा विभिन्न प्याकेजको व्यवस्था गरेका थिए ।
प्रस, रौतहट/
रौतहटका सामुदायिक तथा निजी विद्यालयहरूमा सरस्वतीपूजा पूजा–अर्चना तथा सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । गौर नगरपालिका–३ सगरमाथा इङ्गलिश स्कूलमा पूजापाठ तथा सांस्कृतिक कार्यक्रम गरी मनाइएको प्रिन्सिपल मोहम्मद जावेद अख्तरले बताए । आधारभूत विद्यालय पचरूखीमा पनि सरस्वतीपूजा धूमधामका साथ मनाइएको छ ।