प्रस, वीरगंज, २ फागुन/
भारतीय एसएसबीले पौने चार सय किलो गाँजासहित एकजना नेपालीलाई पक्राउ गरेको छ ।
एसएसबी ४७औं वाहिनी रक्सौलका कमान्डर उपनिरीक्षक मनोरञ्जन दास र मुख्य आरक्षी रामचन्द्र रामले ना.४ च ८९७८ नम्बरको पिकअप गाडीबाट सो परिमाणको गाँजा बरामद गरेको एसएसबीले जनाएको छ । पिकअपमा फल्स बटम बनाएर २५ प्याकेट गाँजा (पौने चार सय किलो ) भारत छिराएको र एसएसबीको टोलीले आइसिपीको गेट नं ४ बाट सो गाँजासहित गाडीचालक मकवानपुरका अम्बरबहादुरलाई पक्राउ गरेको जनाएको छ । एक साता अगाडि एसएसबीले सोही ठाउँबाट २०६ किलो गाँजा बरामद गरेको थियो ।