नाबालकहरूको खाजा काटेर अर्थात् केही दिनसम्म उनीहरूलाई खाजा नदिएर, जम्मा भएको पैसाले सरस्वतीपूजा गर्नु अधम कर्म हो । किनभने पूजा भनेको श्रद्धा, आस्था र समर्पणले भरिएको हुनुपर्छ । जुन सरस्वतीको आराधना गर्न नित्य, पारिवारिक दुःखजिलोका बावजूद कुनै बालक वा बालिका विद्यालय जान्छन् भने उनीहरूमा अध्ययनका साथै खाजा पाउने आकर्षण हुन्छ । बालबालिकाहरूलाई खाजा ख्वाएर पढाउने कार्य सामुदायिक विद्यालयहरूमा मात्र हुन्छ । सामुदायिक विद्यालय सरकार संरक्षित हुन्छ । त्यहाँको सम्पूर्ण व्यवस्थापनको खर्च सरकारले जुटाएको हुन्छ । भवन, फर्निचर, पुस्तक, शिक्षक–कर्मचारीको तलब–भत्तालगायत विद्यालय सञ्चालन तथा अध्ययन–अध्यापनसम्बन्धी सबै बन्दोबस्त गर्ने जिम्मा सरकारको हुन्छ । हुनेखानेहरूका बालबच्चा त सामुदायिक विद्यालयमा जाँदै जाँदैनन् । उनीहरू राम्रो पैसा तिरेर निजी/बोर्डिङ विद्यालयहरूमा जान्छन् । जहाँ सामुदायिक विद्यालयका बच्चाहरू जति टाढा भए पनि हिंडेर विद्यालय पुग्छन्, निजी विद्यालय जाने बालबालिका निजी सवारी साधन वा विद्यालयले पैसा लिएर व्यवस्था गरेको सवारी साधनमा विद्यालय जान्छन् । उनीहरूको खाजाका लागि विद्यालयमैं क्यान्टिन हुन्छ वा घरबाटै लिएर गएका हुन्छन् ।
जो होचो उसकै मुखमा घोचो भनेजस्तै गरीब घरका विद्यार्थी, जो अध्ययन तथा कतिपयको अवस्था एक छान टार्न सक्ने विपन्नताले विवश भएर खाजाको लोभमा पनि विद्यालय जान्छन्, तिनको भाग खोसेर शिक्षकहरूले प्रसादी भन्दै आफ्नो पेट भर्ने कर्मलाई कसरी शिक्षाको परिधिमा समेट्न सकिन्छ । के त्यति नगर्दा माता सरस्वती रिसाउलिन् त ? सरस्वतीले आफैं खाने त होइन । जसले खाँदैन, उसलाई खुवाउने नाममा आफू खानुलाई पूजा मान्न सकिन्छ र ? कुनै विद्यालयको आफ्नो हैसियत छैन भने पूजा मात्र गरे भइहाल्यो, प्रसादी किन बाँड्नुप-यो ? सरस्वतीको यति नै भक्ति हुन्थ्यो भने सरस्वती पूजाका लागि यतिसम्मको निर्दयी बन्ने शिक्षकहरूले पढाएका विद्यार्थीहरू देशका अब्बल विद्यार्थी हुनुपर्ने थियो । तर तथ्य र सत्य के हो भने, आजको सन्दर्भमा, सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूको स्तर निम्न नै हुने गरेको छ । ती मुलुकहरू जहाँ सरस्वती पूजा गरिंदैन, तिनका विद्यार्थी जुन पनि विषयमा अब्बल देखिन्छन्, आविष्कार अनुसन्धान गरेका भेटिन्छन्, त्यस्तै आकर्षण लिएर थुप्रै नेपाली विद्यार्थीहरू विदेश पलायन हुन्छन् । किन ?
यो लेखिरहँदा सरस्वती पूजाको विरोध गरेजस्तो लाग्ला । कुरा त्यो होइन, भगवान्को नाममा अर्काको बारी वा सार्वजनिक स्थलबाट फूल चोर्नु, नाबालकहरूको खाजा कट्टा गरेर प्रसाद चढाउनु गलत प्रवृत्ति हो । पूजा भनेको श्रद्धा हो । श्रद्धाभावले सरस्वतीको स्मरण गर्नु मात्रले मानिसको ध्येय पूरा हुन्छ, जुन प्रसाद चढाएर प्राप्त हुन सक्दैन । प्रसादकै त्यति मर्यादा छ भने शिक्षक, व्यवस्थापन समितिका सदस्यहरूले आफ्नो खल्तीबाट केही सहयोग गरेको भए भइहाल्थ्यो । तिनै शिक्षकहरूलाई सोधियोस् कि सरस्वतीलाई चढाएको प्रसाद सरस्वती आफैं खान्छिन् वा सरस्वतीको मूर्ति विसर्जन गर्दा प्रसाद पनि नदीमा विसर्जन गरिन्छ ? त्यस्तो हुँदो हो त उनीहरूले साना कलिला बालबालिकाको खाजामा -याल चुहाउने नै थिएनन् । सरस्वती पूजाको अर्थ हो, अध्ययनशील बन्ने चाहना राख्नु । के हाम्रा शिक्ष्Fकहरू विद्यार्थीहरूलाई अध्ययनशील बनाउने कुनै उपक्रम गर्दछन् वा अध्यापनभन्दा बढी कुनै दलको झोला बोक्ने कार्यलाई प्राथमिकता दिन्छन् ?