प्रस, वीरगंज, २९ माघ/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति पर्साको आयोजनामा पर्सागढी नगरपालिका–५ पचरूखी–जिङ्गनामा सङ्कल्प पर्व मनाइएको छ ।
जिल्ला कमिटी सदस्य तथा वडा नं ५ का संयोजक सुरेन्द्र ओझाको अध्यक्षतामा मनाइएको सङ्कल्प पर्वको आज पहिलो दिन सोमवार बिहान ८ बजेदेखि पचरुखीस्थित स्वास्थ्य चौकी परिसर, रामजानकी मन्दिर परिसर, नेरामावि बहुअर्वासिराको परिसरमा सरसफाइ गरिएको थियो ।
बिहान जिङ्गनाटोलबाट सङ्कल्प पर्व मनाऔं, मितव्ययिता अपनाऔं, इतिहासका सबै बलिदानको स्मरण गरौं, आगामी क्रान्तिको निमित्त सङ्कल्प गरौं नारासहित पार्टीको झन्डा र ब्यानरसहितको जुलूसले पचरूखी र जिङ्गना टोल परिक्रमा गरेको थियो । सङ्कल्प पर्व अन्तर्गत एक दर्जन बिरुवा स्वास्थ्य चौकी परिसर पचरूखीमा रोपिएको थियो ।
पर्सा जिल्ला संयोजक धनबहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य भागीरथी प्रकृति, दिवाकर चौधरीले सङ्कल्प पर्वबारे मन्तव्य राखेका थिए । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य बैधनाथ श्रमजीवीले पार्टीको भौतिकवादी संस्कृति निर्माण अन्तर्गत आधारपत्र पढेर सुनाएका थिए ।
कार्यक्रममा वडा कमिटी सदस्य विक्रम राय, शिवमङ्गल राम, बिसुन चौधरी, कमल राम, ठगियादेवी राम, उर्मिलादेवी राम, मानवतीदेवी राम, सुशीला राजभर, रूपमाला पासवान, अञ्जलीकुमारी राजभरलगायतले सङ्कल्प पर्वबारे समाजमा उठिरहेका विभिन्न प्रश्न, भ्रमबारे धारणा राखेका थिए ।
कार्यक्रममा वैज्ञानिक समाजवादी महिला सङ्गठनकी केन्द्रीय सदस्य भागीरथी प्रकृतिले महिलाहरूले अन्धविश्वासपूर्ण रूढिवादी परम्परामा आधारित धार्मिक सांस्कृतिक पर्वहरू क्रमशः परित्याग गर्दै जाने र यस्ता पर्वहरूमा गरिने फजुल खर्चमा मितव्ययी बन्दै जाने तथा भौतिकवादी दृष्टिकोणबाट सचेतनापूर्वक वैज्ञानिक अवधारणा अनुसारको पर्वहरू मनाउन अग्रसर हुनुपर्ने बताइन् ।
जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार भोलि फागुन १ गते पार्टीका प्रत्येक सदस्यले आआप्mनो घरमा सङ्कल्प पर्व, इष्टमित्र, नातागोता आदिलाई बोलाइ खानपिनमा सहभागी गराइ खुशियाली बाँडेर मनाउने कार्यक्रम रहेको छ ।
यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सर्लाही जिल्ला समितिले ईश्वरपुर नगरपालिका–१२ स्थित घारीबथानमा सार्वजनिकस्थल, बजारको सरसफाइ, जनसंवाद, सामूहिक भोज तथा नाचगान कार्यक्रम गरेर मनाएको छ ।
केन्द्रीय सदस्य मदन अर्यालले समाजमा धार्मिक अन्धता, रूढिवाद र अन्धविश्वासले ग्रसित सांस्कृतिक चाडपर्वहरू कायमै रहेको हुँदा त्यसको विकल्पमा वैज्ञानिकता र समानतामा आधारित नयाँ सांस्कृतिक पर्वको रूपमा सङ्कल्प पर्व मनाउन शुरू गरेको बताएका थिए । उनले गत वर्षदेखि इतिहासका सबै बलिदानको स्मरण गर्दै माघ २९ र फागुन १ गतेलाई सङ्कल्प पर्व घोषणा गरी सांस्कृतिक पर्वको रूपमा मनाउन शुरू गरिएको बताए ।
पार्टीका सर्लाही जिल्ला सचिव ठकन महतोको संयोजकत्वमा भएको कार्यक्रममा वैज्ञानिक समाजवादी विद्यार्थी, शिक्षक सङ्गठनका नेताहरू तथा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेसलगायतका जनप्रतिनिधिहरूको सहभागिता थियो ।