श्रीपञ्चमीको दिन मनाइने सरस्वतीपूजाको धूम अहिले देशभर छ । प्रत्येक वर्ष यो दिन खासगरी विद्यार्थीहरूले सरस्वतीमाताको पूजा आराधना गरेर मनाउने गर्छन् । तराईका जिल्लाहरूमा भने सरस्वतीपूजा देशका अन्य भागका तुलनामा निकै भव्यरूपमा मनाइँदै आएको छ । माटोबाट बनाइएका सरस्वतीमाताका मूर्ति सजावट गर्ने, पूजा अर्चना गर्ने अनि विभिन्न सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन गर्ने र भोलिपल्ट मूर्ति सेलाउने गरिन्छ । मूर्ति सेलाउने क्रममा पनि ठूलै तामझाम गरिन्छ । बाजागाजासहित सिन्दुरयात्रा गरेर खोलामा मूर्ति सेलाइन्छ । तराईमा सरस्वतीपूजाको नाममा विकृति पनि बढ्दो छ । शुरूदेखि सरस्वतीपूजाको नाममा चन्दा उठाउने प्रचलन अहिलेसम्म रोकिएको छैन । सडकहरूमा डोरी तानेर, बाँसको बार लगाएर सवारीसाधनहरूलाई रोकी उनीहरूबाट सरस्वतीपूजाको लागि चन्दा उठाउने गरिन्छ । विद्यार्थीहरूले आफ्नो विद्यालयमा सरस्वतीपूजाको लागि उठाउने चन्दा केही हदसम्म ठीक मान्न सकिएला तर विद्यार्थीहरूको आवरणमा गैरविद्यार्थीहरूबाट पनि सरस्वतीपूजाको नाममा चन्दा सङ्कलन गरिने कार्य बढ्दो छ ।
सरस्वतीपूजाको नाममा चन्दा उठाउने र त्यसको दुरुपयोग गर्ने कार्यले सरस्वतीपूजा विवादित बन्दै आएको पनि छ । अहिले स्थानीय तह अन्तर्गत विद्यालयहरू छन् । स्थानीय तहमा बजेट पर्याप्त छ र पूजाको लागि विद्यालयले चन्दा उठाउन रोक्दै आएको पनि छ । विद्यार्थी तहमा सरस्वतीपूजाको लागि चन्दा उठाउने कार्यमा कमी आएको छ तर सरस्वतीपूजाको नाममा चन्दा उठाएर दुरुपयोग गर्नेहरूको समूहमा यसको असर पर्न सकेको छैन । अन्धाधुन्धरूपमा चन्दा उठाउने, पूजा गर्ने अनि सोही चन्दाको रकमबाट मासु, मदिरा सेवन गर्ने जस्ता विकृति बढेर तराईका केही स्थानमा झैंझगडा हुने गरेको छ । वास्तविक सरस्वतीभक्तहरूको यो चरित्र होइन । श्रीपञ्चमीका दिन बिहान उठ्ने, पूजा अर्चना गर्ने अनि साथीभाइसँग भेटघाट रमाइलो गरी बिताउने कार्यविपरीत एकथरी समूह मूर्तिपूजन गर्ने, ठूलो स्वरमा गीत बजाउने, अनि भोजभतेर गरेर अबेर रातिसम्म मनाउने कार्यले विकृति मौलाएको हो । गत वर्ष सरस्वतीपूजाको विषयलाई लिएर सर्लाहीमा ठूलो विवाद भयो, गोली चल्यो, कफ्र्यूसम्म लगाउनुप-यो । कारण थियो मूर्ति सेलाउने क्रममा गैरहिन्दूहरूमाथि अबिर छर्कने कार्य । आफ्नो धर्मसंस्कृतिअनुरूपको कार्य नगर्ने र अन्य धर्मावलम्बीहरूलाई जोरजबरजस्ती गर्ने कार्यले गर्दा नै विवाद भएको थियो । अहिले त्यहाँ पुरानो घटना दोहोरिन नदिनका लागि स्थानीयहरूले सर्वपक्षीय बैठक गरेर विद्यार्थी र शिक्षकशिक्षिकाहरूलाई पोशाक अनिवार्य गरेको छ ।
यसो गर्नुको कारण गैरविद्यार्थीहरूको प्रवेशमा रोक लगाउनु नै हो । सर्लाही घटना आफ्नो जिल्लामा पनि नहोस् भनेर धनुषा जिल्ला प्रशासनले पनि सरस्वतीपूजा गर्दा केही मापदण्डहरू तय गरेको छ र सोविपरीतका कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुरूदेखि भएका नियम कानूनहरूको इमानदारिताका साथ पालना नगर्दाको परिणाम हुन् यी विकृति । सरस्वतीपूजा मनाउने र यसमा निरन्तर विकृतिहरू बढ्दै जाँदा पनि स्थानीय प्रशासन अहिलेसम्म मौन बस्दै आएको छ । कुनै पनि रूपमा कानून उल्लङ्घनका घटना भए गरेको खण्डमा दोषीहरूलाई कारबाही गरिएको भए अहिले सरस्वतीपूजामा विकृति बढ्ने थिएन । सरस्वतीपूजा भव्य र सभ्यरूपमा गराउने पहिलो दायित्व शिक्षण संस्थाहरूको हो भने त्यहाँ बढ्दो विकृति नियन्त्रणबाहिर भएको खण्डमा स्थानीय प्रशासन गम्भीर भइदिएमा विकृत हराउँदै जानेछ ।