वीरगंज (पर्सा), २५ माघ/रासस
जथाभावी फोहर फ्याँक्नेहरूमाथि कारबाई शुरू गरेको वीरगंज महानगरपालिकाले गएको छ महीनामा साढे २४ लाख रुपियाँँ जरिवाना उठाएको छ ।

वीरगंज महानगरपालिकाले विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न शुरू गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सयजनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँँले जानकारी दिए ।

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरूको प्रवृत्ति छ,” सरसफाइ शाखा प्रमुख मियाँँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरू गरेका छौं ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै हुँदै आएको छ ।

सफा, सुन्दर वीरगंजको योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनले बताऐ ।

विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि, यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँँको कथन छ ।

“सरसफाइका कर्मचारीले दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको”, प्रमुख मियाँँले भने, “तर केही दिनयता सरसफाइका कर्मचारी घट्दै गएका छन्, जसका कारण अपेक्षाकृतरूपमा सरसफाइको काम हुन सकेको छैन ।”

स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रूपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here