माधव तिमिल्सिना, ठोरी, २५ माघ/
ठोरी गाउँपालिकामा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवार समापन भएको छ ।
प्रतियोगितामा १३ स्वर्ण पदकसहित सरस्वती मावि, गौतमनगर प्रथम भएको छ । गत वर्ष पनि सरस्वती मावि प्रथम भएको थियो । प्रथम भएको सरस्वती माविले नगद रु ३० हजार र शिल्ड प्राप्त गरेको छ ।
यसैगरी, पाँचवटा स्वर्ण पदकसहित नेरामावि, ओडार द्वितीय भयो भने मावि विजयबस्ती चारवटा स्वर्ण पदकसहित तेस्रो भएको छ । द्वितीय र तृतीय विद्यालयले क्रमशः नगद रु २५ र २० हजार तथा शिल्ड प्राप्त गरेका छन् । प्रतियोगितामा ठोरी गापाका छवटा सामुदायिक माध्यमिक विद्यालय सहभागी थिए ।
ज्ञानज्योति माध्यमिक विद्यालयको मैदानमा सम्पन्न प्रतियोगितामा एथलेटिक्सतर्फ एक सय, दुई सय, आठ सय, १५ सय तथा तीन हजार मिटर दौड प्रतियोगिता भएको थियो । यसैगरी, हाइजम्प, लङजम्प, शर्टफुट, ट्रिपलजम्पलगायतका खेल समावेश थिए । प्रतियोगिताका विजेताहरूलाई नगद, शिल्ड र प्रमाण प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि गापाध्यक्ष लालबहादुर श्रेष्ठले प्रत्येक विद्यालयमा खेलकूदको विकासका निमित्त पालिका जिम्मेवार भएर लाग्ने बताए । कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, पूर्व जनप्रतिनिधिहरू, सामुदायिक विद्यालयका शिक्षक एवं विद्यार्थीहरूको सहभागिता थियो ।
माघ २३ गतेबाट सञ्चालित रनिङ शिल्डका सम्पूर्ण खेल पूरा भएसँगै प्रतियोगिताको समापन गरिएको हो । उक्त प्रतियोगितामा १३ स्वर्ण, १२ रजत र सात कांस्य पदकसहित सरस्वती मावि प्रथम भएको छ । त्यस्तै, पाँच स्वर्ण, चार रजत र पाँच कांस्य पदकसहित नेपाल राष्ट्रिय माविले दोस्रो स्थान प्राप्त गरेको छ । साथै चार स्वर्ण, चार रजत र दुई कांस्यसहित मावि विजयबस्तीले तेस्रो स्थान प्राप्त ग¥यो ।