प्रस, वीरगंज, १९ माघ/
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा राष्ट्रव्यापी शैक्षिक अभियान अन्तर्गत विद्यार्थीहरूको दबाबयात्रा वीरगंजमा शुरू भएको छ ।
‘शिक्षा क्षेत्रको समग्र सुधार, देशको समृद्धिको आधार’, ‘दलीय भागबन्डा अन्त्य गरौं’, ‘शिक्षा क्षेत्रको सुधार गरौं’, ‘विश्वविद्यालय प्रशासन ध्यान देऊ’, ‘विद्यार्थीमैत्री सेवा देऊ’, ‘शिक्षामा संस्कार चाहिन्छ, रोजगारको आधार चाहिन्छ’, ‘विद्यार्थी परिषद्को एउटै सन्देश, राजनीतिमुक्त शैक्षिक परिवेश’लगायत नाराका साथ घण्टाघरबाट निस्किएको जुलूस नगरपरिक्रमापछि पुनः सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा वक्ताहरूले शिक्षामा वैदेशिक लगानी बन्द गर्नुपर्ने माग गरेका थिए । उनीहरूले दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, नेपाल सुहाउँदो पाठ्यक्रम बनाउनुपर्ने, नेपाली इतिहास, महापुरुष, संस्कार, संस्कृतिका बारेमा पाठ्यक्रम तयार पार्नुपर्ने बताएका थिए ।
वक्ताहरूले शिक्षामा २० प्रतिशत बजेट विनियोजित गर्नुपर्ने, संविधानले निर्दिष्ट गरेको माध्यमिक तहको शिक्षा निश्शुल्क हुनुपर्ने, विश्वविद्यालयमा उपकुलपति नियुक्ति राजनीतिक भागबन्डामा नगरी योग्यताको आधारमा गर्नुपर्ने, नेपालमा अनुमतिविना सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयबाट सम्बन्धप्राप्त क्याम्पसहरूको अनुगमन गरी खारेज गर्नुपर्ने, विद्यालय र विश्वविद्यालयले एकीकृत शैक्षिक पात्रो निर्माण गरी विद्यालय र विश्वविद्यालयको पात्रोमा एकरूपता कायम गर्नुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्दै प्राज्ञिक तथा बौद्धिकताका आधारमा कुलपति नियुक्ति गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीको स्तरोन्नतिमा दलीय राजनीतिक प्रभाव, भागबन्डा रोक्नुपर्ने माग गरेका थिए ।
वक्ताहरूले विद्यार्थी भर्नादर, उत्तीर्ण र सिकाइको विश्लेषण गर्दै वर्तमान समयको हाम्रो पाठ्यक्रम मूल्याङ्कन पद्धति र शिक्षण विधिलाई परिमार्जन गर्नुपर्ने, सबै तहका पाठ्यक्रममा नेपाली भाषा, संस्कृति, भूगोल, इतिहास, जीवनपद्धति, मानवीय मूल्य, महापुरुषको जीवनी, नागरिक शिक्षा, अर्थतन्त्रको आधार कृषि, पर्यटन जस्ता विषयहरू समावेश गर्नुपर्ने, राज्यले विद्यालयले दिने दरबन्दी र स्रोतको विभाजन, भूगोल, विद्यार्थी सङ्ख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्नुपर्नेलगायतका विषयमाथि धारणा राखेका थिए ।
कार्यक्रममा परिषद् मधेस प्रदेशकी अध्यक्ष सुषमा तिवारी द्विवेदी, केन्द्रीय सङ्गठन सदस्य क्षितराज न्यौपाने, केन्द्रीय सचिव घनश्याम नायकलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए ।