चिरञ्जीवी सापकोटा, ठोरी, ९ माघ/
ठोरीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । मङ्गलवार ठोरी गाउँपालिकाको सभाहलमा गापाध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले आगामी माघ २३, २४ र २५ गते दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको युवा तथा शिक्षा शाखा ठोरीका प्रमुख भुपाल जोशीले जानकारी दिए ।
बैठकमा गापाध्यक्ष श्रेष्ठको संयोजकत्वमा राष्ट्रपति रनिङ शिल्ड खेल सञ्चालन समितिसमेत गठन गरिएको जोशीले जानकारी दिए । खेललाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको जोशीले बताए । राष्ट्रपति रनिङ शिल्डमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गापाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ठोरीका छवटा माध्यमिक विद्यालयका १८ वर्ष ननाघेका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
बैठकमा गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, जिल्ला खेलकूद विकास समितिका विश्वेश्वर पटेल, माविका प्रधानाध्यापकहरू, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईलगायतको सहभागिता थियो ।