• राजेन्द्रप्रसाद कोइराला
२१ औं शताब्दीको द्रुत गतिको विज्ञान र प्रविधिको भौतिक विकासको निरन्तरतासँगै मानिसहरू निरन्तर आधुनिक जीवनका चुनौतीहरूसँग जुधिरहेका छन् । समाजमा अशान्ति र अराजकताको अवस्थाले संसारलाई गाँजिरहेको छ । लडाइँ, घृणा, तिरस्कार, आपसी द्वन्द्वले आज संसार पिरोलिइरहेको छ । यी र यस्तै विषयले गर्दा आज अध्यात्मको अपरिहार्यता बढेको छ ।
केही सामाजिक विकृतिका दृष्टान्त म यहाँ प्रस्तुत गर्न चाहन्छु–
सम्बन्ध विच्छेदको सन्दर्भमा भएको विवादमा गत असार ३१ गते प्रहरी कार्यालयमा सहमति भए पनि घर पुगेपछि लोग्नेले पत्नीको हत्या गरेको थियो । गत आइतवार अनलाइनमार्फत केकमा गाँजा मिसाई लागू पदार्थ कारोबार गरेको आरोपमा काठमाडौं–२९ का बिसन मानन्धरलाई पक्राउ गरियो । सम्पत्ति हडप्न र लोग्नेको पेन्सनबाट वञ्चित गर्न गरिएको जीवित मान्छेलाई मृत घोषणा गर्ने षड्यन्त्रमा बर्दिया अदालत र मधुवन नगरपालिकासमेत प्रयोगमा आएको कुरा छापामा पढ्न पाइयो । गत पौष १६ गते काठमाडौंको बालकुमारीमा कोरियाका लागि फाराम स्वीकृत गर्न गरिएको दबाबमा गोली चल्यो । त्यसमा दुईजना युवकको ज्यान गयो । सर्लाहीको बथनाहामा स्वास्थ्यचौकीको गुणस्तर वृद्धि गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्कंदा भएको भिडन्तमा प्रहरीले चलाएको गोली लागेर एकजना युवकको ज्यान गयो । पौष २३ गते राति इलामको माई नगरपालिका–६ का ३७ वर्षीय बाबु दिलबहादुर राईले १७ वर्षीय छोरा जीवनलाई सामान्य विवादमा खुकुरी प्रहार गरी हत्या गरे । यी र यस्ता घटना समाचारहरू आउँदा कसको मन अमिलो नहुदो हो !
बिहे गरी रोजगारका लागि विदेश गएका केटाहरू स्वदेश फर्के । फर्कंदा घरमा पत्नी हुन्न । उसले पठाएको धनसम्पत्ति पनि हुँदैन । समाजका भद्र महिला तथा पुरुषहरूका खाता ह्याक गरिदिने, तेजोवध गर्ने, मनोबल गिराउने अनि बन्धुबान्धवहरूका अघि मुखै देखाउन नसकिने परिस्थिति सृजना गर्ने काम भयो र हुँदैछ । सामाजिक सञ्जालको दुरुपायोगले मानिसको व्यक्तिगत जीवन धाराशायी भएको अवस्था ब्रगेल्ती छ । शान्त र सुखी जीवनमा भुइँचालो जाने परिस्थिति परिदृश्यमा आइरहेका छन् ।
काठमाडौंमा बर्दीधारी प्रहरीमाथि नै हातपात भएको छ । धर्म र धर्मान्तरणका विषयमा ठूला जुलूस भइरहेछन् । शासकले नै अमुक धर्म नमान्नेहरू संविधानविरोधी र देशद्रोही भनिरहेछ । शासनसत्ता सम्हालेको १ वर्ष पुग्न नपाउँदै जातीय तथा धार्मिक युद्धको परिवेश सृजना गर्न खोजिंदै छ । पौष २३ गते काठमाडौं, विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितका समूहले पिताको टाउकामा खुकुरी प्रहार गरी हत्या गर्ने प्रयत्न गरे । पौष २४ गते सिराहा जिल्ला कल्याणपुर–३ का मिटरब्याज पीडित सञ्जय कामतीमाथि दुव्र्यवहारसहित खुकुरी प्रहार गर्ने प्रयत्न भयो । यस्ता घटनाक्रमले समाज कता गइरहेको छ उजागर गरिरहेको छ । पैसा र शक्तिको बलमा जसले जे गर्दा पनि हुने र साम, दाम, दण्ड, भेदलाई प्रयोग गरी जसरी पनि भौतिक सुखको खोजीमा मानिसहरू लिप्त भइरहेका छन् । दण्डहीनताले पराकाष्ठा नाघेको छ ।
वैदेशिक रोजगारले मानिसको आर्थिक पक्ष जति सुधा¥यो त्योभन्दा ज्यादा सामाजिक विकृति भिœयायो । एउटा बिराउने, शाखा पिराउने उक्ति अहिले चरितार्थ भइरहेको छ । हुन पनि बिहेपछि पत्नीलाई राम्ररी नचिन्दै र उनको आनीबानी, स्वभाव, प्रवृत्ति आदि केही नबुझ्दै विदेशिने अनि उनका नाउँमा लाखौं रकम पठाइरहँदा अधिकांश पातिव्रत्य चरित्र भएका पत्नीहरूले त्यसको सदुपयोग गरे र पारिवारिक जीवन अब्बल तुल्याउन लोग्नेलाई सहयोग गरे । त्यहीं केहीले आपूmलाई जोगाउन सकेनन् । पतिव्रता धर्मलाई वा भनौं सतित्व बजारमा राखेको आलुजत्ति पनि ठानेनन् । उन्मादमा स्वाहा तुल्याइदिए । त्यस्ता पात्रले लोग्नेले चर्को गर्मीमा कमाएर पठाएको पैसा परपुरुषलाई मात्रै पोसेनन्, भएभरको सम्पत्ति लिएर फरार भए । यस्तै महिलाका कारण विदेश गएका अल्लारे युवाहरूले कलकलाउँदो उमेरकी तर पवित्र मन भएकी स्वास्नीमाथि शङ्का गरिरहेका छन् । एउटा राम्रो र सुखी परिवारलाई मानव अधिकारको नाममा क्षतविक्षत पारेको अवस्था छ । विदेश जाने नाममा आप्mनो घरवार लथालिङ पारेका छन् ।
सामाजिक सञ्जालका कतिपय अतिरञ्जित समाचारलाई विश्वास गरी परिवारको राम्रो संरचना बजारमा लिलाम गरेको अवस्था छ । पैसाका छिमेकी, दाजुभाइ, यदाकदा लोग्नेस्वास्नी र साथीभाइबीच द्वन्द्व, कुटपिट, काटाकाट पहिले पनि हुन्थे, अहिले बढ्दो क्रममा देखिन्छ । अहिले त छोराले बाबु र बाबुले छोरा अनि छोराले आमा मार्ने घटना छिटपुट बाक्लै देखिन थालेको छ । यो सामाजिक विकृतिको चरमोत्कर्ष हो । धनसम्पत्तिका लागि जिउँदो मान्छेलाई मृतक बनाउने तहमा पुगिसकेका छन् मान्छेहरू । यस्ता घटना भित्रभित्रै भइरहेका छन् अनगिन्ती । खासगरी, छोराछोरी शहर गएपछि उतै भेट्न गएका बाआमाका घरजग्गा, विदेश गएका बाआमाका जग्गाजमीन, शहरमैं बसोवास गरी गाउँ नफर्कने मानिसका जमीनको किर्ते कागजात बनाउनेदेखि मृत्यु भएको घोषणा गरेर हडप्नेसम्मका कामहरू भइरहेका छन् ।
पत्नी र छोरीसम्मलाई भारतको कोठी पु¥याएर बेच्न पछि नपर्ने बाबुले अहिले बढी पैसा आउने लोभमा विदेशका कोठीहरूसम्म पु¥याउने तहसम्म पुगेको छ । यी सब हुनुको कारण आध्यात्मिक ज्ञानको कमी हो । यस्तो समाजलाई पुरानै अवस्थामा ब्युँताउन अध्यात्म ज्ञान अति आवश्यक छ ।
जहाँसम्म बच्चाहरूमा लागू पदार्थजन्य समस्या देखिने गर्छ, त्यसमा पारिवारिक समस्या जोडिने गर्छ । त्यहाँ कि मातापिताबीच सुमधुर सम्बन्ध छैन, धनसम्पत्ति अथाह छ तर बाबुको कुशल अभिभावकत्व छैन । आमाको हप्काइदप्काई र उसका गतिविधिमा आवश्यक लगामसहितको मातृ–वात्सल्यको अभाव छ ।
समाजमा छुवाछूत, बोक्सीसम्बन्धी घटना यदाकदा मात्र सुनिन्छ, त्योभन्दा अहिले बिहेका अनावश्यक ढर्रा र ढाँचाहरू देखिन थालेका छन् । हिजो बिहे, व्रतबन्ध आदि कर्म निकै सस्तो र सरल थियो । कोही बिरामी परे रातभर जाग्राम बस्थ्यो । कसैको निधन हुँदा सिङ्गो समाज रुन्थ्यो । उसका घरका समस्या समाजका समस्या बन्थे । सारा समाज जुट्थ्यो र समाधान गथ्र्यो । जुनसुकै जाति र संस्कृति बोकेको मानिस किन नहोस्, सबै सरिक हुन्थे । चाहे दुःख होस् चाहे सुख । मानिसमा सामाजिक भावना धेरै मजबूत थियो । मानवता र मानवीय संवेदना पनि उत्तिकै थियो । एकले अर्कालाई पर्दा ज्यान दिएर गर्थे सहयोग । समाजलाई विभाजित गर्न खोज्ने शक्तिहरू स्वतः हुन्थे पराजित । अहिले त दल दलबीचको तिक्तताले बलियो सामाजिक संरचना धुजाधुजा बनाउने काम भइरहेको छ ।
यतिमात्र होइन, युवकहरू विदेशिने क्रमले नेपालको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा सहकारीजस्ता क्षेत्रमा महिलाहरूको योगदान र नेतृत्व स्थापित हुँदै गएको छ । हिजो वैदेशिक अध्ययनका लागि बाहिरिनेमा बढी छात्र हुन्थे । अहिले छात्राहरू पनि जान थाले उत्तिकै सङ्ख्यामा र पनि महाविद्यालयहरूमा छात्राहरू नै हुने गर्छन् धेरै । केटाहरूको बाहुल्य हुँदा जुन हर्कत गर्थे अहिले त्यस्तै हर्कत गर्छन् छात्राहरू । यस्तो परिवर्तन सहज र सरल पनि देखिन थालेको छ । समाजमा क्रमिकरूपमा भइरहेको छ परिवर्तन । यसलाई अन्यथा मानिहाल्न त मिल्दैन, तर यसले हिजोको पारिवारिक संरचना परिवर्तित भइरहेको अनुभूति हुन्छ ।
एकजना बुवाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गयो । उनका छोराछोरीहरू अस्ट्रेलिया थिए । ३ दिन कुरेपछि बल्ल उनको सद्गति भयो । यस्तो स्थिति हरेक घरमा छ । गाउँ होस् या शहर, १२ उत्तीर्ण हुन् वा नहुन्, विदेश पुगिरहेछन् । घरमा बूढाबूढीको मात्र छ उपस्थिति । तिनीहरू बिरामी भए हेरचाह गर्ने कुरा त परै जाओस्, मृत्यु हुँदा सद्गति गर्न समयमा आउने स्थिति छैन । भोलि यस्तो पनि हुन सक्छ कि मातापिताको मृत्यु हुँदासमेत आउनसमेत नसकून् । त्यसमा एकजनाको मृत्यु भएको स्थितिमा त झन् अवस्था नाजुक हुन्छ र यो स्थिति झन्झन् बढ्दै जाने क्रममा छ ।
हजुरआमासहितको परिवार स्वर्गसमान हुन्छ भन्ने ठान्ने समाज अहिले बिस्तारै वृद्धवृद्धालाई भार सम्झिन थालेको छ । उनीहरूकै कारण कमाइ गर्न जान बाधा भइरहेको सम्झने, खर्चबर्च बढी लागेको सम्झेर उपचार नगराउने, टार्नेजस्ता प्रवृत्ति, उनीहरूले भनेको राम्रा अर्ती र उपदेशलाई कचकच गरेको ठान्नेहरूको ठूलै ताँती देखिन्छ ।
ट्याक्टरले जोत्ने चलन नहुँदा वर्षौं अघिदेखि महिलाले हलो जोत्न र आली लगाउन थालिसकेका थिए । लाश बोकेर घाट लैजाने र जलाउने काम गर्न थालिसकेका थिए । अहिले पेशाकै रूपमा पनि लाश जलाउन थालेका छन् । यी र यस्ता घटनाहरूले समाज परिवर्तनतिर उन्मुख देखिन्छ । त्यतिमात्र होइन, समाज सकारात्मकभन्दा नकारात्मक बन्दो छ । सहनशीलता र हार्दिकता शून्यमा विलय हुँदै गएको छ । यी र यस्ता समस्या समाधान गर्ने भनेको अध्यात्म शिक्षा हो । यसलाई प्रश्रय दिएर सिकाइको एउटा अभिन्न विषय बनाउनु अपरिहार्य बन्न पुगिसकेको छ । नत्र समाजको अवसान निश्चित छ ।
वर्तमान युगको द्रुत परिवर्तन र चुनौतीहरूबीच आध्यात्मिकताले ठूलो महŒव राख्छ । यसले माइन्डफुलनेस, सहनशक्ति, समुदाय र नैतिक आधारको दिशा प्रदान गर्छ ।
निष्कर्ष:
यो वैश्ययुगको हालीमुहाली, परिवर्तन र चुनौतीहरूबीच आध्यात्मिकताको ठूलो महŒव हुन्छ । यसले सहनशक्ति, धैर्य, आदर, सत्कार, शिष्टाचार र नैतिक आधार दरिलो बनाउने काम गर्छ । नकारात्मकतातिर बरालिरहेको समाजको पथ प्रदर्शनमा ठूलो मदत गर्ने कुरा नकार्न सकिंदैन ।
अन्त्यमा:
समाजसँग गाँसिएका प्रत्येक तह र तप्काका व्यक्तिले यस्तो सामाजिक विशृङ्खलता कसरी रोक्न सकिन्छ भनी चिन्ता र चिन्तन गर्नु आजको अपरिहार्यता हो । समाज छ अनि हामी छौं, समाज नै नरहे हामी कहाँ रहन्छौं होला १