प्रस, वीरगंज, ७ माघ/
नेशनल इनफोटेक (एनआई) कप–२०८० अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएका दुई खेलमा ज्ञानदा एकेडेमी र नेशनल एकेडेमी विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा ज्ञानदा एकेडेमीले सेन्ट जेभियर्स माविलाई ७९ रनअन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ज्ञानदाले १९.२ ओभरमा पूरै विकेट गुमाइ १३८ रन बनाएको थियो । ज्ञानदाका धीरज पटेलले ४७, परवेज आलमले २२ र कन्हैयाकुमार साहले २० रन बनाएका थिए । त्यस्तै, सेन्ट जेभियर्सका हिमांशु गुप्ता, सन्देशकुमार पटेल र राजु महतोले दुई/दुई विकेट लिएका थिए ।
१३९ रनको विजयी लक्ष्य लिएको सेन्ट जेभियर्सले १७.३ ओभरमा पूरै विकेट गुमाउँदै ५९ रनमैं अलआउट भयो । सेन्ट जेभियर्सका हिमांशु गुप्ताले १४ र सन्देशकुमार पटेलले १२ रन बनाएका थिए । ज्ञानदाका इमरोज आलम र परवेश आलमले क्रमशः तीन/तीन विकेट लिएका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ ज्ञानदाका परवेज आलम घोषित भए ।
यसैगरी, आज भएको दोस्रो खेलमा अल्पाइन माविलाई नेशनल एकेडेमीले १० रनअन्तरले पराजित गरी विजयी भयो । टस जितेर ब्याटिङ गरेको नेशनल एकेडेमीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११६ रन बनाएको थियो । नेशनलका अर्जुन यादवले ४४ र रोहित श्रीवास्तवले ४३ रन बनाएका थिए भने अल्पाइनका नवराज अधिकारीले चार, रञ्जीत चौहान र रामप्रीत चौधरीले एक/एक विकेट लिएका थिए ।
प्रतिउत्तरमा अल्पाइन मावि १०६ रनमा अलआउट भयो । अल्पाइनका मनीष पटेलले ४९ र इसार अहमदले १६ रन बनाएका थिए । नेशनलका वीरेन्द्रसाह कानूले तीन र शनिकुमार कलवारले दुई विकेट लिएका थिए । यो खेलको ‘म्यान अफ दी म्याच’ नेशनल एकेडेमीका अर्जुन यादव घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।