यसपटक पुसको अन्तिम सातादेखि पर्सा जिल्लामा शीतलहर शुरू भएको छ । अहिले वीरगंजको बिहानको न्यूनतम तापमान ६ र अधिकतम २२ डिग्री सेल्सियस पुगेको छ । यसभन्दा कम तापमान यदाकदा हुन्छ । त्यसैले धेरै जाडो सहन अभ्यस्त नभएका तराईवासीका लागि यो असह्य अवस्था हो । न्यानो लत्ताकपडा नभएका दलित तथा गरीबहरूका लागि यो तापमान झनै उनीहरूको जीवनमाथि जोखिम हो । गरीब र दीनदुःखीहरूको धेरै पीडा भएपनि, अहिलेको अवस्थामा हुनेखानेहरू पनि जतिसुकै बाक्लो लुगा लगाएर बाहिर निस्कन सक्ने अवस्था छैन । यो प्रकृतिको देन हो । घाम नलागेको तीन दिन भयो, त्यसअघि पाँचौं दिनमा घाम झुल्किएको थियो । पुस २३ गतेदेखि विद्यालयहरू पटकपटक अहिलेसम्म तीनपटक बन्द गरिएका छन् । साधन हुनेहरू हिटर र एसीको तापले आफ्नो घरको तापमान बढाउने प्रयत्न गरिरहेका छन् भने बाहिरको तापमान उकास्ने एकमात्र साधन घाम लागेको छैन । अनुभवीहरूको दृष्टिमा तापमान न्यूनतम हुँदै जानु खासै चिन्ता विषय होइन, यो स्थिर रहनु चिन्ताको विषय हो । र झन्डै तीन दिनदेखि बिहानको तापमान ८ डिग्रीभन्दा कम छ । यसैले चीसो बढिरहेको छ । यस्तोमा हिमालतिर हिउँ पर्दा र बेला कुबेला हावा चल्दा बिचल्ली हुने गर्छ ।
अहिले खेतीमा गहुँबाली सिंचाइ गर्ने र खाद छर्ने बेला हो । सिंचाइ उपलब्ध भएपनि खाद सरकारले कहिले समयमा र यथेष्ट मात्रामा दिन सकेको छैन । खेतीका लागि आयात गरिएका युरिया मल यदाकदा रक्सीभट्टी र फ्याक्ट्रीतिर पुगिरहेको छ । चाहेर पनि गर्न नसक्ने इलम अहिले खेतीपाती भएको छ । यी सबै विरोधाभास चिरेर कसैले खेती गर्न सकेको छ भने पनि उत्पादनको लागि बजार छैन, बजारसम्म पहुँच छैन । अनि किसानहरूले कसरी झेल्ने यो चीसोको कहर । किसानको उत्पादन कसरी बढ्छ भन्नेतर्फ विचार गर्न नसकेको सरकार चाहिं यी सबै अव्यवस्थाका बावजूद खाद्यान्न आयात गरेर सुखी महसूस गरेको देखिन्छ । यसको मतलब हो, सरकारलाई देश र जनताप्रति सरोकार छैन । सरोकार नदेखिनुमा नेता, राजनीतिक दलभन्दा सरकार बन्ने र बनाउने प्रक्रिया दोषी देखिन्छ । बलियोले निर्धाेलाई छेउ लगाएर आहालमा बस्ने जन्तुजस्तै, मूतको न्यानोमा रमाए जस्तै सबैले यसै प्रक्रियालाई टेवा दिइरहेका छन् । सरकारले जिल्ला प्रशासनमार्पmत विपद्मा गरीबका लागि न्यानो लुगा वितरण गर्ने कार्यक्रम चलाउँथ्यो, यसपालि अहिलेसम्म स्थानीय प्रशासनले विपद् भनेर न्यानो कपडा वितरण गरेको छैन । बरु उदार मनकारीहरूले चीसोबाट राहत दिन केही न्यानो कपडा वितरण गरेका छन् ।
जङ्गल पनि नाम मात्रको भएकोले दाउरा वितरण गर्ने र धुनी तापेर जाडो मार्ने दिन पनि रहेन । विपत्ति आइलागे हुलमा आउँछ । दाउराले जाडो भगाउने हो भने जङ्गल अवशेष बन्ला भन्ने पीर र वातावरण प्रदूषण पनि बढ्ने । दाहिने हे¥यो पाखा, बायाँ हे¥यो भीर । चीसो बढ्नु भनेको सरकारको अकर्मण्यता भने पक्कै होइन । यो त प्रकृतिको चक्र हो । कहिले चीसोले अँठ्याउने, कहिले गर्मी लू बनेर तालु सुकाउने र कहिले बाढी–पहिरोले ज्यानका ज्यान जाने । सरकारले यस्तो बेलामा जनतालाई राहत महसूस गराउन बेलैमा राहत सामग्री वितरण गर्न सक्छ । साथै सामूहिक प्रयोजनको लागि भवन निर्माण गरेर चीसो, गर्मी र वर्षायाममा राहत दिन सक्छ भने अन्य बेलामा त्यस भवनमा सामाजिक, धार्मिक कामहरू निपटारा गर्न सकिन्छ ।