प्रस, वीरगंज, ५ माघ/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले शुक्रवार ज्येष्ठ नागरिक पोषण आहारसम्बन्धी परामर्श गोष्ठी सम्पन्न गरेको छ ।
ज्येष्ठ नागरिक पार्क लक्ष्मणवामा आयोजित कार्यक्रममा पोषणविद् निशा सिंहले वृद्धावस्थामा खानपिनमाथि विशेष ध्यान दिनुपर्ने बताइन् । उनले सन्तुलित खानपानको साथै व्यायाम गर्न पनि सुझाव दिइन् ।
उनले मधुमेह, रक्तचाप, थाइराइड आदिका बिरामीहरूले के खान हुने/नहुनेबारे जानकारी गराएकी थिइन् ।
सङ्घका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश संयोजक तथा केन्द्रीय सदस्य जगदीशप्रसाद शर्मा, उपाध्यक्ष बैधनाथ कोइरी, प्रकाशमान सिंह अमात्य, बिन्दु शर्मा, आशा गौतम, पुरुषोत्तमलाल झालगायत करीब सयजना ज्येष्ठ नागरिकको सहभागिता थियो ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साले प्रत्येक महीनाको पहिलो शुक्रवार स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गर्दै आएको सचिव विनयराज गौतमले जानकारी गराए । कार्यक्रमको सहजीकरण सचिव गौतमले गरेका थिए ।