पर्सा र बाराको वन फडानी कार्य रोकिएको छैन । बर्सेनि ठूलो सङ्ख्यामा वन फडानी हुने र तस्करहरूले काठ बिक्री गर्दै आएको समाचारहरू सुनिन्छ । यो होइन कि तस्करी नियन्त्रणका प्रयासहरू भएका छैनन् । वन फडानी रोक्नका लागि सामुदायिक वन उपभोक्ता समितिहरू पनि गठन गरिएको छ । वन संरक्षणमा समुदायको सहभागिता गराइए पनि कतिपय सामुदायिक वन उपभोक्ता समितिहरूको संलग्नतामा पनि वन फडानी भएको र काठ तस्करी हुने गरेको कुरा लुकेछिपेको छैन । काठ तस्करीका लागि पनि कतिपय सामुदायिक वन उपभोक्ता समितिमा मानिसहरूको संलग्नता बढेको छ । वन संरक्षण गर्ने उद्देश्यले भन्दा दुरुपयोग गरेर अर्थ उपार्जन गर्ने उद्देश्यले समितिहरूमा बसेकाहरूले हरबखत वन फडानी कसरी गर्ने, आम्दानी कसरी गर्ने भन्ने ध्येय पालेका तर उनीहरूको उद्देश्य पूरा हुन नदिने खालका गतिविधिहरू हुन सकेको छैन । पर्सामा तीनवटा र बारामा करीब आठवटा वन उपभोक्ता समितिहरू छन् । यसको अलावा वन विभाग, सब–वन डिभिजनहरूमा वन सुरक्षाकर्मी र निकुञ्जहरूमा रहेको वनको संरक्षणका लागि नेपाली सेना । वन संरक्षणको पहिलो पङ्क्तिमा तीनथरीको संलग्नता छ भने त्यसबाहिर दोस्रो पङ्क्तिमा सशस्त्र र जनपद प्रहरी । तर पञ्च सुरक्षा घेरा तोडेर काठको तस्करी भइरहेको छ भने हाम्रो सुरक्षाकर्मीहरूमा कमी–कमजोरी छ ।

वन सुरक्षाको उदाहरण अन्यत्र कतै खोज्न जानुपर्दैन । पर्सा जिल्लाको ठोरी गाउँपालिकासँग जोडिएको छिमेकी भारतको भिखनाठोरीस्थित वन क्षेत्रलाई लिन सकिन्छ । पारीपट्टी भारतको बिहार सरकारले वन सम्बन्धित कडा कानून बनाएको कारण भिखनाठोरीको वन क्षेत्र सुरक्षित छ भने नेपालतर्फको ठोरी गापामा रहेको वन क्षेत्र फडानीको शिकार भएको छ । जङ्गे पिलर र त्यसपछिको ठुट्टे खोला पारीको भारतीय हराभरा वन अनि खोलाको नाम सरह ठोरी गापाको ठुट्टे वन क्षेत्र । ठोरी गापाका कतिपय वन क्षेत्र तस्करहरूको कोपभोजनको शिकार भएको छ भने कतिपय वन क्षेत्र बस्ती विकासको नाममा अतिक्रमणको शिकार भएर फडानी भएको छ । आलाकाँचा रूखहरू जथाभावी फडानी गरिएको दृश्य उहिलेदेखि अहिलेसम्म देख्न सकिन्छ । पर्सा र बारा जिल्लाका वन क्षेत्रहरू कति अतिक्रमणको शिकार भएका छन् भन्ने कुरा वन कार्यालयको प्रतिवेदनबाट पुष्टि हुन्छ तर अतिक्रमण हटाउने विषयमा वनकर्मीहरू अहिलेसम्म सफल हुन सकेका छैनन् । आप्mनो अभीष्ट पूरा गर्न अथवा राजनीतिक फाइदा उठाउने अभिप्रायबाहेक वन संरक्षणको लागि अतिक्रमण हटाउने वन क्षेत्र बढाउनेतर्फ सोच नै परिवर्तन हुन सकेको छैन ।

वन क्षेत्रमा वृक्षारोपण गरिन्छ तर त्यसको संरक्षण गरिंदैन । भएका वनको सुरक्षा गरिन्न । एकातर्फ वन विनाश रोक्न सकिएको छैन भने अर्काेतर्फ विनाश भएको क्षतिपूर्तिका लागि वन क्षेत्र बढाउन सकिएको छैन । बर्सेनि वन क्षेत्र वृद्धिका लागि वृक्षारोपण गरिन्छ । सयौं बिघामा वृक्षारोपण हुन्छ, तर संरक्षणका लागि हेरालु राखिंदैंन । भगवान भरोसे कुनै वृक्ष हुर्के बढेबाहेक संरक्षित तरीकाबाट वन क्षेत्रको विकास गर्न सकिएको छैन । तस्करी नियन्त्रण गर्ने, रूख कटान गर्नेलाई कडा कारबाई गर्ने, वृक्षारोपणलाई संरक्षण गर्ने, राजनीतिबाट वन क्षेत्रलाई टाढा राख्ने जस्ता कामकारबाई जबसम्म हुँदैन तबसम्म वन संरक्षणको कुरा फगत नारामा मात्र सीमित रहन्छ, जुन अहिलेसम्म हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here